Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

क्यानडाका विद्यार्थिले गरे नेपालबारे छलफल

आइतबार, ३० जेठ २०७३

क्यानडा - अल्बर्टा प्रान्तस्तिथ युनिभर्सिटी अफ अल्बर्टा अध्ययनरत नेपाली विद्यार्थीले शनिवार नेपालबारे छलफल गरेका छन् । नेपाली विद्यार्थीको संस्था नेप्लिज स्कलर्स एसोसियशन एट युनिभर्सिटी अफ अल्बर्टा (नेसा) ले यहाँको विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी गराएर नेपालका विभिन्न क्षेत्रका बारे छलफल गरेको हो ।

नलेज सेयरिंग एण्ड ट्रान्सफर इन फेभर अफ नेपाल नाम दिइएको पहिलो नेसा सिम्पोजियममा सहभागीहरुले ग्रामिण पर्यटन विकासमा महिलाको भूमिका, बागमती सफाइ, विनाशकारी भूकम्पको क्षतिका कारण तथा महिला अधिकारका विषयक छलफल गरे ।

नेसाका खगेन्द्र बेलवासेले नेपालीविज्ञहरुको ज्ञान क्यानडा र निवासीहरुका लागि महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा ११ जना विषय विज्ञहरुले आआफ्नो अनुसन्धानात्मक प्रस्तुती दिएका थिए ।

नेसाका अध्यक्ष विद्यावारिधी अध्ययनरत ईञ्जिनियर केशव शर्माले भूकम्पका कारण, त्यसका जोखिम, नेपलाको कमजोर भवन निर्माण पद्यतीका कारण वेहोर्नु परेको विपत्तीबारे जानकारी गराए । उनले भने, 'बनोट तथा माटोको संरचनाका आधारमा उस्तै तरिकाले बनाएका विद्यालय पनि कतै ध्वस्त भएको कतै केही नभएको पाहियो, भवन निर्माण पूर्व  माटो परीक्षण गर्नु पर्ने देखियो ।'

अल्बर्टा सरकारको अल्बर्टा इनर्जीमा वरिष्ठ नीति विश्लेषकका रुपमा कार्यरत उर्जाविद् डा. अर्जुन केसीले सामुदायिक सहभागितामा निर्माण हुने हो भने माइक्रो हाइड्रोले व्यक्ति तथा परिवारको सामाजिक जीवनमा परिवर्तन ल्याउने दावी गरे ।

अल्बर्टा सरकारको अल्बर्टा इन्भारमेन्टका वैज्ञानिक डा. कुशुमाकर शर्माले वागमती  सफाइ, त्यसका जटिलता र सम्भावनाबारे बताए । सुनदरीजल देखि चोभार सम्मको पानीको अवस्था विश्लेषण गर्दै उनले वागमती सुधारका लागि प्रविधि भन्दा सुझबुझ सहित राजनीतिक चासो र सामाजिक चेतना विकास प्रमुख कुरा रहेको बताए । विद्यावारिधी अध्ययनरत वैकुण्ठप्रसाद आचार्यले नेपालको ग्रामिण पर्यटनमा देखिएको महिला सहभागिताले महिलालाइ आत्म निर्भर बनाउँदै लगेको, स्थानीय तह र नीति निर्माणमा उनीहरुले आफूलाई अगाडि ल्याएको, आन्तरिक रोजगारी बढाएको बताए ।

कार्यक्रममा युनिभर्सिटी अफ अल्बर्टाका रिसर्च एसोसियट डा. कृष्ण न्यौपाने, अल्बर्टा सरकारको प्राइमरी हेल्थ केयर ब्राञ्चका नीति विश्लेषक तथा कार्यान्वयन सल्लाहकार डा. सञ्जय ढकाल, माउण्ट रोयल विश्वविद्यालयकी एसोसिएट प्रोफेसर इशा शर्मा, अपराजिता प्याकुर्याल * र युनिभर्सिटी अफ कयालगरीका मदननाथ लगायतले प्रस्तुती दिएका थिए ।

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ जेठ ३० गते

प्रतिक्रिया