Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

साढे छ लाख बालबालिका जोखिमपूर्ण श्रममा

आइतबार, ३० जेठ २०७३

काठमाडौं, ३० जेठ । नेपालमा बालश्रम अन्त्यका लागि विभिन्न प्रयास गरिए पनि गरिबी, अशिक्षा र  बेरोजगारीका कारण बालश्रमको जोखिम घट्न सकेको छैन ।   भूकम्प र अन्य प्राकृतिक विपत्तिले चुनौती थपिदिएका छन् ।  बालश्रम अन्त्यका लागि बनेका कानुनको फितलो कार्यान्वयन  र अनुगमन गर्नुपर्ने जिम्मेवार निकाय सक्षम र सक्रिय हुन नसक्दा बालश्रम घट्न नसकेको सरोकारवाला  बताउँछन् ।   

सरकारको पछिल्लो श्रमशक्ति सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या ७७ लाख ७० हजारमध्ये ४० दशमलब ४ प्रतिशत अर्थात ३१ लाख ४० हजार बालबालिका रोजगारीमा संलग्न देखिन्छन् ।  जसमध्ये १६ लाख बालिबालिका नियमित बालश्रमिक छन् भने यी बालबालिकामध्ये साढे छ लाखको हाराहारीका बालबालिका निकृष्ट वा जोखिमपूर्ण श्रममा संलग्न रहेको अनुमान रहेका छ । 

नेपालमा बालभरिया, सडकमा आश्रित बालबालिका, बँधुवा बालश्रमिक, घरेलु श्रमिक, कोइला तथा अन्य खानीमा काम गर्ने बालबालिका, गलैँचा वा इट्टा उद्योग र श्रमका लागि बेचविखनमा पर्ने बालबालिकालाई जोखिमयुक्त बालश्रम भनिएको छ ।   प्लान नेपालले भक्तपुर, काठमाडौँ, मकवानपुर, चितवन लगायतका १० जिल्लामा गरेको अध्ययन प्रतिवेदन अनुसार इँट्टा उद्योगमा काम गर्ने एक लाख ८१ हजार ५२४ श्रमिकमध्ये २८ हजार ३३३ बालश्रमिक रहेका छन् ।

बालश्रम निवारणका लागि नेपालले महासन्धिमा हस्ताक्षर गरेको २५ औंं वर्ष भए पनि कार्यान्वयन अवस्था कमजोर रहेको बालअधिकारकर्मी गौरी प्रधानले बताउनुभयो ।  सरकारले सन् २०२० सम्म निकृष्ट वा जोखिमयुक्त सबै बालश्रमको अन्त्य गर्ने लक्ष्य राखे पनि अहिलेसम्म त्यस अनुसार काम हुन नसकेकाले यस्ता बालश्रमिकको संख्या अझै बढ्नसक्ने सम्भावना रहेको छ ।  

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालश्रम अन्त्य गर्न भएका कानुन कार्यान्वयन तथा अनुगमन गर्ने जिम्मेवार निकाय जति सक्रिय हुनुपथ्र्यो त्यो हुन नसकेको स्वीकार गर्नुभयो ।  श्रम विभागका महानिर्देशक केदारबहादुर बोगटीले बालश्रम बहुपक्षीय सरोकारको विषय भएकाले बालश्रम उन्मूलनका लागि सबै सरोकारवालाको संयुक्त प्रयास, सहयोग, सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  

नेपालमा १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र १६ वर्ष नपुगेका बालबालिकालाई निकृष्ट तथा जोखिमयुक्त काममा लगाउन नपाइने कानुनी व्यवस्था छ ।  

‘उत्पादन तथा आपूर्ति श्रृङ्खलामा बालश्रमको अन्त्य यो सबैको सरोकार’ भन्ने अन्तर्राष्ट्रिय नारासहित आइतबार (जुन १२) विश्वभर बालश्रमविरूद्धको १५ औँ दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।  बालश्रमविरूद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले सन् २००२ देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।  निकृष्ट तथा जोखिमयुक्त बालश्रमविरूद्धको महासन्धि १८२ र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ लाई अनुमोदन गरेको स्मरणमा यो दिवस मनाउने गरिएको हो ।  अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०ले उत्पादन र आपूर्ति श्रृङखलामा बालश्रमिक बढ्न थालेको भन्दै यस क्षेत्रमा हुने बालश्रमविरूद्धमा लड्नुपर्ने आवश्यकता औल्याउँदै यो वर्षको दिवस यसमै केन्द्रित गरिएको जनाएको छ ।  

(गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।)

 

प्रतिक्रिया