Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पढ्नका लागि बालश्रमिक !

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ  । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ । 

समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले काठमाडौँका चार हजार ८६ घरधुरीमा गरेको अध्ययनअनुसार ४४ प्रतिशत बालश्रमिकले पढाइ पूरा गर्नकै लागि आफूहरु तत्काल घर फर्किन नचाहेको बताएका थिए । बाँकी २४ प्रतिशतले त घर फर्केमा राम्रो शिक्षा नपाइने हुनाले बालश्रमिक नै भइरहनुपरेको स्पष्टीकरण दिएको अध्ययनले देखाएको छ ।

अध्ययनमा समेटिएका घरेलु बालश्रमिकमध्ये ४५ प्रतिशतले पढ्नका लागि शैक्षिक सहयोग भयो भने आफूहरु घर फर्किन सक्ने बताएको सिविसका कार्यक्रम संयोजक युवराज घिमिरेले जानकारी दिए। 

त्यस्ता बालश्रमिकलाई आफ्नै घरमा राम्रो अध्ययनको व्यवस्था गर्नका लागि उनीहरुका बाबुआमालाई रोजगारी तथा आयआर्जनको व्यवस्था गरी अनिवार्य शिक्षा लागू गर्नुपर्ने ठान्नुहुन्छ बालअधिकारकर्मी शान्ति अधिकारी । “सबैभन्दा पहिला हरेक बालश्रमिकलाई उनीहरुको आफ्नै घरमा पुनःस्थापना गर्नुप¥यो, अनि बाबुआमालाई आम्दानीको बाटो जुटाइदिएर अनिवार्य रुपमा विद्यालय पठाउन लगाउनुप¥यो” – अधिकारीले भने ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी भने उनीहरुलाई घर फर्किनेगरी शिक्षा दीक्षाको व्यवस्थाका लागि सरकारले तत्काल कार्यक्रमहरु बनाउनुपर्ने बताउँछन् । त्यसका लागि श्रम मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग समन्वय गरेर शिक्षा मन्त्रालयले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । 

सिविसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ४७ प्रतिशत घरेलु बालश्रमिकले घर फर्किने इच्छा जाहेर गरेको उल्लेख छ । अध्ययनले सन् २०१६ मा काठमाडौँमा १२ हजार दुई सय ६५ घरेलु बालश्रमिक हुन सक्ने अनुमान गरिएको छ ।

तर शिक्षा मन्त्रालय भने राम्रो शिक्षा नपाएकै कारण बालबालिका घर छाडेर बालश्रमिक भएको कुरा सजिलै स्वीकार्न तयार छैन । “शिक्षा नपाएकै कारण उनीहरु बालश्रमिक हुनुपरेको हो भन्ने त मलाई लाग्दैन, यसका मुख्य कारणहरु अरु नै होलान्, तर साँच्चै त्यस्तो हो भने तिनीहरुलाई व्यवस्थापन गर्नै पर्दछ” – शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता हरि लम्साल भन्छन् । 

उनीहरुलाई सम्बोधन गर्न सकिने कार्यक्रमहरु शिक्षा मन्त्रालयसँग पर्याप्त रहेको जानकारी दिँदै लम्सालले नयाँ तथ्य आएकाले छलफलको विषय भएको बताए । अध्ययनले घरेलु बालश्रमिकमध्ये ३२ प्रतिशतलाई नातेदार र २८ प्रतिशतलाई आफ्नै आमाबाबुले घरेलु श्रमका लागि साहुको घरमा पठाउने गरेको देखाएको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । 

बालश्रमिक राख्नेहरूमध्ये सबैभन्दा धेरै २९ प्रतिशत व्यापारी रहेका छन् भने ८९ प्रतिशत घरेलु बालश्रमिकले भान्साको काम गर्ने गरेको अध्ययनले देखाएको छ । हरेक वर्षको जुन १२ तारिखका दिन मनाउने गरिएको बालश्रमविरुद्धको विश्व दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । 

(गोरखापत्रमा प्रकाशित)

 

प्रतिक्रिया