Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताएका छन् ।  भक्तपुरको सूर्यबिनायक नगरपालिका–११ काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा शनिबार बोल्दै उनले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई टेवा पु¥याउने विश्वास व्यक्त गरे । 

अब शिक्षालाई रोजगारीसँग जोड्नका लागि पारित शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै उहाँले शिक्षालाई अब प्रविधि र रोजगारीमैत्री बनाएर लैजान सरकार कटिवद्ध रहेको उल्लेख गरे ।  कार्यक्रममा भक्तपुरका निमित्त जिल्ला शिक्षा अधिकारी गोविन्दराज सेढाइँले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लानसके सरकारको लक्ष्य पूरा हुने बताए । 

त्यसअवसरमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक सविता दङ्गालले गाउँगाउँमा रहेका सामुदायिक विद्यालयको विकासमा स्थानीय अभिभावकले चासो बढाउनुपर्नेमा जोड दिए ।  विद्यालयका प्रधानाध्यापक पर्शुराम राईले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाबारे जानकारी दिएका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सांस्कृतिक प्रस्तुति र विज्ञान प्रदर्शनी पनि गरिएको थियो । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया