Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

खेलमा करिअर खोज्नेले स्पोर्टस् साइन्स पढ्नुहोस

बुधबार, २६ जेठ २०७३

काठमाडौँ, २६ जेठ । खेलकुदमा रुचि भएका र यही क्षेत्रमा करिअर बनाउने चाहना भएका विद्यार्थीले अब कक्षा ११ बाटै स्पोर्टस् साइन्स पढ्न पाउने भएका छन् । यही वर्ष एसएलसी उत्तीर्ण गर्नेहरूले कक्षा ११ मा स्पोर्टस् साइन्स पढ्न पाउने भएका हुन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयले पनि स्पोर्टस् साइन्स सञ्चालन गर्न प्राज्ञिक परिषद््बाट स्वीकृति पाइसकेको छ । तर, पूर्वाधार तयार गर्न नसक्दा योजना रोकिएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनले उच्च माध्यमिक शिक्षा परिषद्् खारेज नगर्दै परिषद््ले यही शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी कक्षा ११ र १२ को स्पोर्टस्् साइन्सको पाठ्यक्रम तयार पारेको हो ।

उच्च माध्यमिक शिक्षा परिषद््का उपाध्यक्ष चैतन्य शर्माले स्पोर्टस्मा राम्रो अवसर रहेको र खेलको सैद्धान्तिक र प्राविधिक ज्ञान लिन चाहनेहरूलाई मध्यनजर गर्दै यो विषय तयार पारिएको बताए । ‘खेल खेल्ने व्यक्तिलाई टेक्निकल कुरा जान्न आवश्यक हुन्छ, त्यसमा म्याथम्याटिक्स पनि जोडिन्छ,’ परिषद््का उपाध्यक्ष शर्माले भने, ‘फुटबलमा गोल हान्दा कसरी पोस्टमा छिराउने भन्ने जान्न पनि टेक्निकल

नलेज चाहिन्छ ।’

नेपालमा धेरै खेल खेलिने तथा खेलप्रति चासो भएका व्यक्ति पनि बढिरहेकाले स्पोर्टस्् साइन्सको महत्त्व रहेको परिषद््का अधिकारीको भनाइ छ । टेक्निकल ज्ञानसहित खेलमा उपस्थिति पनि बढोस् भन्ने उद्देश्यले परिषद्ले यो विषयलाई प्राथमिकता दिएको परिषद्का प्रशासन महाशाखा प्रमुख दुर्गा अर्यालले बताए । प्रशासन महाशाखा प्रमुख अर्याल भन्छन्, ‘स्पोर्टस््मै करिअर बनाउन चाहने धेरै छन्, यो विषय उनीहरूलाई उपयुक्त छ ।’

विश्वमा धेरै देशले स्पोर्टस्् युनिभर्सिटी नै स्थापना गरिसकेका छन् । खेल र खेलसम्बन्धी शिक्षालाई प्राथमिकता दिएका राष्ट्रले राम्रो प्रदर्शनसमेत गरेको पाइएको छ । नेपालमा पनि खेलमा प्रगतिको सुरुवात गर्न यो व्यवस्था गरिएको परिषद्का अधिकारीहरूको भनाइ छ । स्पोर्टस्् साइन्स अध्ययन गर्नेले खेल व्यवस्थापनसमेत राम्रो गर्नसक्ने उनीहरूको दाबी छ ।

त्रिविमा स्पोर्टस् साइन्स स्वीकृति

त्रिभुवन विश्वविद्यालयले स्पोर्टस् साइन्स विषय सञ्चालनका लागि प्राज्ञिक परिषद्बाट स्वीकृति पाइसकेको छ । स्पोर्टस् साइन्सको पूर्वाधारका लागि ठूलो लगानी चाहिने भएकाले त्यसको खोजीमा रहेको त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा।डा। चिन्तामणि पोखरेलले बताए । विषय सञ्चालन गर्न स्वीकृति पाएर विषय समितिसमेत गठन भइसकेको र स्रोत जुटाएर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए । पूर्वाधार तयार गर्न झन्डै दुई करोड रुपैयाँ लाग्ने भएकाले केही ढिलो भएको उनको भनाइ छ । सुरुमा मास्टर्स लेभल सञ्चालन गर्ने र जनशक्ति तयार पारेर स्नातकमा पनि यो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

खेल क्षेत्रका लागि राम्रो  : सदस्यसचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले स्पोर्टस्् साइन्सको पढाइ हुनु अत्यन्तै महत्त्वपूर्ण काम भएको बताए । सदस्यसचिव विष्टले भने, ‘अहिलेसम्म वैज्ञानिक ढंगले खेलको विकास गर्न सकेका थिएनौँ, स्पोर्टस्् साइन्सको पढाइले यस क्षेत्रमा विकास गर्न सहयोग पुग्छ ।’ खेल विज्ञान भएको र खेलसम्बन्धी पढाइले दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

केही नया, केही परिमार्जन

यस वर्षदेखि कक्षा ११ मा केही नयाँ विषय र केही विषय परिमार्जन भएका छन् । स्पोर्टस् साइन्स, कानुनका साथै केही नयाँ विषयको पाठ्यक्रम तयार भएको छ । परिषद्का उपाध्यक्ष शर्माले बौद्ध अध्ययन (गुन्पा शिक्षा) को पनि नयाँ पाठ्यक्रम तयार भएको बताए । 

केही विषयको पाठ्यक्रम परिमार्जन भएको छ । पत्रकारिता र अर्थशास्त्र विषयको पाठ्यक्रम अबको शैक्षिक सत्रबाटै कार्यान्वयनमा आउनेछन् । हेल्थ एन्ड फिजिकल साइन्स विषयको पनि पाठ्यक्रम तयार पारिएको थियो । तर, केही त्रुटि भएकाले परिमार्जन गर्न परिषद्ले मन्त्रालयमा पठाएको छ ।

२० वर्षदेखि एउटै पाठ्यक्रम रहेको अनिवार्य अंग्रेजीको पाठ्यक्रम विषय समितिबाट पास भएर सुझाबका लागि वेभसाइटमा राखिएको छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया