Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगद्धारा नयाँ तरिकाबाट कापी परीक्षण

शुक्रबार, २१ जेठ २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले आफूले लिने परीक्षाको कापी परीक्षणमा नयाँ पद्धती अवलम्बन शुरु गरेको छ । यस अघि एक जनाले मात्रै कापी परीक्षण गर्नेमा अव देखि एउटै विद्यार्थीको कापीलाई २ जनाबाट परीक्षण गराउन थालिएको आयोगका अध्यक्ष ताना गौतमले बताए । दुई जनाको परीक्षणले समान अंक तय गर्न नसकेको खण्डमा ती दुईले दिएको अंकलाई तथ्याङ्कीकरण गरेर बैज्ञानिक रुपमा औषत तय गरिने छ ।

यसो गर्दा परीक्षार्थीको अंक औषतमा कम अंक दिनेको भन्दा धेरै र धेरै अंक दिनेको भन्दा केही थोरै हुन आउने गौतमल बताए । पहिलो चरणमा आन्तरिक बढुवाको कापी परीक्षणमा यो तरिका अपनाईएको छ । गत फागुनमा भएको आन्तरिक बढुवाको परीक्षाको कापी परीक्षणमा यही  तरिकाबाट गरिएको उनले बताए ।

एउटै विषयलाई परीक्षार्थीले आआफ्नो विद्धता र ज्ञान अनुसार फरक फरक शैलीले लेख्न सक्ने जस्तै एउटै परीक्षार्थीको लेखाईलाई पनि छुट्टा छुट्टै मान्छेबाट परीक्षण गर्दा फरक नतिजा आउन सक्छ भन्ने ठहर गरेर यो पद्धती लागू गर्ने टुङ्गोमा पुगेको गौतमको भनाई छ । आन्तरिक बढुवाका लागि विषयगत प्रश्न सोधिन्छ । ब्यक्तिको धारणा माग्ने खालको प्रश्नको उत्तर सूत्र जस्तो समान नहुने भएकोले भिन्न भिन्न कोणबाट परीक्षार्थीको परीक्षण गर्ने कोशिस गरेको उनले बताए ।

'कुनै पनि मान्छेको लेखाई, बुझाई वा सोच्ने तरिकामा फरक पना हुन सक्ने प्रसस्तै सम्भावना हुन्छ, तर हामी त्यसलाई एकै जनाबाट मात्रै परीक्षण गर्दै नम्बर दिने गर्छौ, त्यसबाट परीक्षार्थीको ज्ञान सिमित हुने डर हुन्छ' गौतमले भने, 'त्यसैले एउटै प्रश्नको उत्तर हेर्ने भिन्न तरिकाको खोजी गर्दा हामी यो निष्कर्षमा पुगेका हौं ।'

कापी परीक्षणमा अधिकाँश सेवा निवृत्त ब्यक्तिहरु संलग्न हुने हुँदा एउटै कापी दुई जनाबाट परीक्षण गर्दा मानवीय त्रुटीका रुपमा उनीहरु मध्ये कुनै एकबाट हुने गल्ति समेत सच्याउन सकिने उनको भनाई छ । एउटै कापी दुई जनाबाट परीक्षण गर्दा परीक्षार्थीको खास मूल्याँकन हुने अनुभव गरिएको उनले बताए । गत फागुन १६ गते भएको परीक्षामा अपनाईएको यो पद्धती प्रभावकारी भएको आयोगको निष्कर्ष छ । पहिलो चरणमा आन्तरिक बढुवामा अपनाईएको यो पद्धतीलाई क्रमैसंग अन्य परीक्षामा पनि विस्तार गर्ने योजना रहेको गौतमले बताए ।

प्रकाशित मिति २०७३ जेठ २१ गते

प्रतिक्रिया