Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

अध्यक्ष र हेडसर विवादमा विद्यार्थी आन्दोलित, आयव्यय सार्वजनिक गर्ने सहमती

शुक्रबार, २१ जेठ २०७३

कपिलवस्तु - व्यवस्थापन समितिका अध्यक्ष र प्रध्यानाध्यापक बिचको विवादका कारण विद्यार्थी समेत आन्दोलनमा उत्रिए पछि जनता माध्यमिक विद्यालय बलुहवामा बढेको विवादको अन्त्य भएको छ । मङ्गलबार शिक्षा कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा, एक साता भित्रमा विद्यालयको आयव्यय सार्वजनिक गर्ने सहमती भए पछि जेठ ११ गते देखि विद्यालयमा विद्यार्थीले गरेको तालाबन्दी समेत खुलेको छ । जिल्ला शिक्षा अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष, ४ जना विद्यार्थी र ४ जना अभिभावकको उपस्थितीमा बसेको बैठकबाट विद्यालयमा लागेको ताला खोल्ने निर्णय गरिएको हो ।

गत माघमा विद्यालय व्यवस्थापन समितिको गठन भए पनि प्रध्यानाध्यापक रामनिवास चौहानका कारण अहिले सम्म एउटा पनि बैठक बस्न नसकेको आरोप लगाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम यादवले उनलाई निष्काशन गर्न खोजेका थिए । हेडसरलाई निष्काशन गर्न लागे पछि यसको विरोध स्वरुप विद्यार्थीले विद्यालयमा ताला लगाएका थिए ।

प्रअ र अध्यक्ष बिचको तालमेल नमिल्दा विद्यालयमा हुने गरेको हिनामिना पनि विस्तारै सतहमा आउन थालेको छ । प्रअले विद्यालयको आयव्यय सार्वजनिक नगरेको व्यवस्थापन समितिले आरोप लगाएको छ भने अध्यक्ष यादवले पाठ्य पुस्तक खरिदको लागि निकासा गरेको २ लाख, फर्निचर निर्माणको लागी शान्ति मन्त्रालयबाट आएको १ लाख र जिविसबाट आएको थप डेढ लाख गरी करिब साढे ४ लाख रकम हिनामिना गरेको आरोप विद्यार्थीले लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हिनामिना रकमलाई अबको एक साता भित्रमा मिलान गर्ने समेत सहमति भएको स्थानीय रतिराम चौहानले बताए ।

पाठ्यपुस्तकको लागि रकम निकासा भए पनि शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिनासम्म पाठ्यपुस्तक नपाए पछि विद्यार्थी थप आक्रोशित भएका हुन् ।  कितावको माग गर्दै विद्यार्थीले शिक्षा कार्यालय घेराउ गर्न पनि पुगेका थिए ।

गत माघमा भएको विद्यालय व्यवस्थापन समितिको चुनावले यादवलाई समितिको अध्यक्ष चुनेको थियो । त्यस पछि प्रध्यानाध्यापक चौहान र अध्यक्ष यादव बिच खटपट शुरु भएको थियो । पत्रकार दिपक अनुरागीले स्थानीय अभिभावकलाई उदृत गर्दै बताए अनुसार चुनावबाट आएको समिति भन्दै व्यवस्थापन समितिले आफ्नो जितलाई ठूलो उपलब्धि ठान्दा समस्या बढेको हो । प्रध्यानाध्यापक चौहानलाई विद्यार्थीले साथ दिदाँ उनी पनि आफु बलियो सहशुस गर्दै आएका अभिभावकको बुझाई छ ।

चौहानले वि.सं. २०४५ साल देखि प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति २०७३ जेठ २१ गते 

प्रतिक्रिया