Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नीजि भन्दै सरकारी मेडिकल कलेज पठाउँदै

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । शिक्षा मन्त्रालयका कर्मचारीले आर्थिक चलखेलमा बंगलादेशको सरकारी मेडिकल कलेजलाई नीजि भएको प्रमाणित गरेर अध्ययन अनुमति प्राप्त (एनओसी) दिने गरेको पाइएको छ ।  बंगलादेशमा अन्य मुलुकमा भन्दा सस्तोमा एमबिबिएस अध्ययन गर्न पाइने भएपछि विद्यार्थीहरु पनि मागे जति रकम दिएर जाने गरेका छन् ।

बंगलादेशको सरकारी मेडिकल कलेज र डेन्टल कलेजहरुमा अध्ययन गर्न शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । परीक्षामा सहभागी नभएका विद्यार्थीलाई आर्थिक चलखेलको आधारमा पनि पठाउने गरेको पाइएको छ ।

परराष्ट्र मन्त्रालयले २०७१ बैशाख २४ मा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबिबिएस र डेन्टल कलेजमा बिडिएस विषय अध्ययन गर्न मन्त्रालयबाट छनोट भएका विद्यार्थीलाई मात्रै पठाउनुपर्ने निर्णय गरेको थियो ।
तर, शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलले यो निर्णय छलेर विद्यार्थीलाई चोर बाटोबाट पठाइरहेका छन् । ‘यो व्यवस्थाले योग्य व्यक्ति बंगलादेश अध्ययनबाट बञ्चित भएका छन्’ मेकिडल काउन्सिलका एक अधिकारीले भने ।

यस्ता अध्ययन अनुमतिपत्र लिएका विद्यार्थीलाई कन्सल्टेन्सीले पर्यटक भिसामा बंगलादेश पठाउने गरेका छन् ।  बंगलादेश सरकारले नेपालको लागी हरेक बर्ष एमबिबिएस र बिडिएस कोटा दिएको हुन्छ । यो कोटा पनि नेपाल सरकारले बजेट छनोट नगरी दुतावास र कन्सल्टेन्सी आफैले पठाउने गरेको पाइएको हो ।

गत बर्ष १७ जनालाई दुतावास आफैले छनौट गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्र नक्कली फेला पारेर छानबिन भएपछि मात्रै यो तथ्य बाहिर आएको हो ।

(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।)

प्रतिक्रिया