Edukhabar
शुक्रबार, ११ असोज २०८१
विचार / विमर्श

साक्षरताका नाममा विद्यार्थीलाई यातना : दास शिक्षक र मालिक कर्मचारीले बनायो निरीह

सोमबार, १७ जेठ २०७३

- बाबुडियर हमाल / बागलुङ नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरियो, एक ‘कथित भव्य’ समारोहका बीचमा, २०७३ जेठ १४ गते शुक्रबार !

नगरपालिका र हुँदै नभएको नगर शिक्षा समितिको आयोजनामा । (स्मरण रहोस्, ऐन नियममा कि त जिल्ला शिक्षा समिति छ कि त गाउँ शिक्षा समिति, नगर शिक्षा समितिको व्यवस्था छैन ।) ‘कथित भव्य’ किन भनियो भने, जिल्ला कार्यालयका हाकिमहरु सिडियो, जिशिअ, नगर अधिकृत आदि आदि बेहुलाले जस्तै दुवो तथा फूलको माला लगाएर मञ्चमा बसेका थिए भने कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थी शिक्षकको नेतृत्वमा दिउँसोको चर्को घाममा विभिन्न नारा फलाकेर पसिना चुहाउँदै बजार परिक्रमा गरेर दिनभर चौरमा खडा थिए । यसो हुनुमा को को जिम्मेवार थिए, यो आलेखमा त्यही खोतल्ने प्रयत्न गरिएको छ ।

१. व्यवस्थापन समितिको उपेक्षा

सरकारले ‘सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन’ गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिएको छ । ‘नेपाल सरकारबाट सञ्चालन हुने विभिन्न कार्यक्रममा विद्यालयलाई सरिक गराउने’ काम पनि उसकै हो । विद्यालय व्यवस्थापन समितिले मन्त्रीको निर्णय अस्वीकार गरेका उदाहरण छन् भने मन्त्रीको फोर्समा शिक्षक सरुवा गर्न खोजे पनि रोकिदिने शक्ति राख्दछन् । तर अभिभावकको प्रत्यक्ष प्रतिनिधित्व हुने शक्तिशाली विद्यालय व्यवस्थापन समितिसँग कुनै पनि प्रकारको अनुमति कसैले नलिइकन पूर्ण साक्षर घोषणामा विद्यार्थी सहभागी गराइयो ।

अगुवा स्रोत केन्द्र र जिल्ला शिक्षा कार्यालयले संयोजन गरे पनि उनीहरुले पनि व्यवस्थापन समितिहरुलाई औपचारिक जानकारी तथा निर्देशन दिन आवश्यक ठानेनन् । आयोजकसँग चिठी लेख्ने वैधानिक आधारै थिएन । मौखिक उर्दी आयो, शिक्षक मार्फत । त्यही मौखिक उर्दीका आधारमा विद्यार्थी लिएर शिक्षकहरु पूर्ण साक्षरताको कार्यक्रममा सहभागि भए । कार्यक्रममा विद्यार्थी सहभागिताका विषयमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेका छैनन्, अनुमति दिनु त परैको कुरा भयो ।

शिक्षकहरुले आफूखुशी विद्यार्थीलाई चर्को घाम ख्वाएका छन् । व्यवस्थापन समितिले राजनीतिक निर्णय पनि लिन सक्थ्यो, आफ्ना विद्यार्थी नपठाउन पनि सक्थ्यो । रोचक त के छ भने अघिल्लो दिन नै तयारीका लागि विद्यार्थीलाई आधा दिन बिदा समेत दिएछन्, शिक्षकहरुले । साथै स्मरणीय के छ भने साक्षरताको तथ्यांक संकलन तथा साक्षर भएको निर्णय विद्यालयले गरेको थियो ।  

२. मालिक मानसिकताका कर्मचारी

नोकरमा ई प्रत्यय लागेपछि नोकरी शब्द बन्छ । नोकर शब्दको अर्थ सर्वविदितै छ । ई प्रत्ययले अर्थमा भिन्नता ल्याउँदैन । कर्मचारीलाई क्रान्तिकारी दल, व्यक्ति, संस्था नोकरशाह पनि भन्दछन् । कर्मचारीमा माथिका सँग झुक्ने तर तलकालाई दबाउने साइक्लिङ प्रवृति हुने मानिन्छ । त्यसैको परिणाम जिल्लाका हाकिमहरु मञ्चमा बेहुलाझै दुबोको माला लगाएर सिंगारिए तर विद्यार्थी शिक्षकहरुलाई चर्को घाममा बजार परिक्रमा गर्न उर्दी जारी गरे ।

सुरुमा विद्यार्थीलाई क्याम्पसको चौरमा लामबद्ध गरियो । दिउँसो पौन बाह्र बजेबाट ¥याली सुरु भयो । रित्तो मञ्चबाट उद्घोषक (एक कर्मचारी) ले यो स्कुल पछि यो स्कुल भनेर विद्यार्थीलाई लाइनको उर्दी फ्लाक्थे । बिचरा शिक्षक र विद्यार्थी उर्दीलाई अक्षरशः कार्यान्वयन गर्न लामबद्ध बनाएर ¥याली सुरु गर्थे । करिब ५ सय भन्दा बढी विद्यार्थीको ¥याली बजारतिर लागेपछि तालुकवाला कर्मचारीहरु क्रमशः मञ्चमा ओइरिन थाले । तिनीहरुलाई आसन ग्रहण पनि गराउनु नपर्ने ! कसैले बस पनि भन्नु नपर्ने ! सुरुमै गएर मञ्चमा उपरखुट्टी लगाएर बसे । कोही पनि ¥यालीमा गएन्न । मानौं ¥याली विद्यार्थीको हो ।

केही समय पछि बजार परिक्रमा गरेको विद्यार्थीको फिर्ती हुनथाल्यो । हातमा लिएका विभिन्न नारा लेखिएका प्लेकार्ड, देशको राष्ट्रिय झण्डाले हम्कदै उनीहरु क्याम्पस चौरमा ओइरिए । उनीहरुलाई न पानीको व्यवस्था थियो न त शीतल ठाउँको ।

कर्मकाण्ड पूरा गरे पछि उनीहरु चौरको कुनामा रहेको सल्लाका बोटमा शीतलका लागि पुगे । तर विद्यार्थीलाई त्यो ठाउँ अपुग भयो । शिक्षक अभिभावकको चर्को आक्रोश र लाज बचाउनका लागि मञ्च अगाडि गुणस्तरहीन अर्को एउटा सानो टेन्ट थपियो, कार्यक्रम सुरु हुनै लाग्दा । 

तर विद्यार्थी चर्को गर्मीबाट बच्न घर फर्कनुको विकल्प थिएन । करिब १० प्रतिशत पनि अभिभावक शिक्षकहरुको उपस्थिति थिएन । पानी दिनसक्ने अवस्थै थिएन । विद्यार्थी स्वयं पानी बोकेर ल्याउँदै थिए । शायद मञ्चमै बस्नेकै लागि हो कि !

घाम छल्न घर फर्कन लागेका विद्यार्थीलाई गेटमा पुलिसले रोक्थे किनभने विद्यार्थी भएनन् भने कार्यक्रमको शोभा हराउँथ्यो । तापनि अधिकांश विद्द्यार्थी जबरजस्त फर्किएका दृश्य देखिन्थे ।

मसिनो स्वरमा शिक्षक विद्यालय कर्मचारीहरु विद्यार्थीलाई चर्को घाम तपाएकोमा विरोध गरिरहेका भेटिन्थे । एक जना शिक्षकले त विद्यार्थी बिरामी भए भोलि को जिम्मेवार हुन्छ ? भन्दै विद्यार्थीलाई फर्काउँदै थिए ।
कर्मचारीको मालिक मानसिकता र व्यवाहर तथा साइकलको जस्तै आफूभन्दा तलको पाइडललाई पेल्ने र ह्याडिलसँग झुक्ने प्रवृतिले नै शिक्षक विद्यार्थीले जेठको चर्को घाम तापे । भलै खण्डनका लागि बादल लागेको थियो भनियो भने आश्चर्य हुनेछैन । यी कर्मचारी पूर्ण साक्षर नगरपालिका घोषणाका आयोजक, संयोजक, व्यवस्थापक, अव्यवस्थापक सबै हुन् ।   

३. शिक्षकको दासत्व

पूर्ण साक्षर नगरपालिका घोषणाका अव्यवस्थापकका दोस्रो पात्र र प्रवृति हुन्, शिक्षक । सिर्जनात्मक भन्दा पनि दुई पैसा कताबाट आउँछ भन्ने ध्याउनमा हुने शिक्षकहरुलाई कर्मचारीहरुले यो सम्बन्धी बैठकमा बोलाए पनि उनीहरु कर्मचारी विरुद्ध एक शब्द बोल्ने साहस गरेनन् होला । हस् हजूर ! नमस्कार हजूर ! नै यिनीहरुको बोली भए होला ।

विद्यार्थी मैत्री विद्यालय वा शिक्षाको वकालत गर्नेहरुले ‘कालो शुक्रबार’का दिन कति विद्यार्थी मैत्री कार्यक्रम गरे, संसारका आँखा खुल्ला छ । हाम्रा विद्यार्थी गर्मीमा पठाउँदैनौं, गर्मी छलेर कार्यक्रम गर्नुप¥यो, यिनीहरुले भनेनन् र त यो भयो ।

राधाकृष्ण मन्दिरको सभाहल यिनीहरुले देखाउन सकेनन् । क्याम्पसकै तिन नम्बर हल देख्ने कुरै भएन (कार्यक्रमका मुख्य व्यक्ति बोल्ने बेला ति हल भन्दा पनि केही कुर्सी बेञ्च भरिने विद्यार्थी न बाँकी थिए) ।

कर्मचारी गर्न भन्दा देखाउन चाहन्छ तर संसार प्रविधिले एउटा सानो गाउँमा परिणत भयो । सद्दाम हुसेन र ओसाम बिन लादेनमाथि बर्बर आक्रमण र हत्या गरेका अमेरिकन राष्ट्रपति आफ्नै कोठामा बसेर ती कारबाही प्रत्यक्ष हेर्दै निर्देशन दिइरहेका थिए भन्ने समाचार यिनले पढेनन् । र त विद्यार्थी रोक्न आफै तम्सिए, गेटपाले बनेर ।

शिक्षकहरु हीनताबोधले ग्रसित छन् । आफ्नो पेशाप्रति कहिल्यै गौरवबोध गर्न सकेनन् । निजामती कर्मचारीको पियन भन्दा सानो सम्झन्छ, शिक्षक आफू ।  बोर्डिङका शिक्षक विचरा छन्, सरकारीका शिक्षकमा दासत्व छ । प्रत्यक्ष जनसम्पर्क रहनुपर्ने हुँदा कर्मचारीतन्त्रको जस्तो तलकोलाई पेल्ने र माथिकोलाई नमस्कार गर्ने मध्ये माथिकोलाई नमस्कार गर्ने दास प्रवृति शिक्षकमा छ । त्यसैको प्रतिबिम्बले गर्दा हाकिमले जे आदेश दिए यिनीहरुले त्यही आज्ञा माने  । खुरुखुरु मध्यान्नमा विद्यार्थी ल्याए, आफूले पनि घाम तापे कलिला विद्यार्थीहरुलाई पनि घाम तपाए ।

शिक्षक युनियन, संघ संगठन कता हराए कता । ल्याप्चे ठोक्ने बाहेक यिनीहरुले केही गरेनन् । ६ देखि १० कक्षाका विद्यार्थी जम्मा गरेर मात्र साक्षरता कार्यक्रम हुँदैन, १५ देखि ६० वर्षका साक्षर भएका सय जना मानिस पनि बोलाऊँ भन्ने बह्मवाणीको  बिन्ती बिसाउन पनि शिक्षकहरुले सकेनन् । सके खुशी भए होलान्, आज पढाउन परेन भनेर ।

बेहुलाझै दुबोको माला कसले उने होला ? सके यिनै शिक्षकले विद्यार्थीलाई नै कज्जाए होलान् । यही दासत्वले गर्दा आफूले पनि घाम तापे विद्यार्थीलाई पनि तपाए ।

४. निरीह विद्यार्थी

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थी आआफ्ना स्कुलदेखि लाइनमै थिए, बिहान दश नबज्दै देखि  । ‘कालो शुक्रबार’ यिनीहरुले पढ्न पाउने कुरै भएन । सबैभन्दा बढी लाइन छाड्न रुचाउने कर्मचारी शिक्षकको आदेशमा यी लामबद्ध भएका थिए । लाइन बिगारेमा यिनीहरुले शायद गाली छडी खानुपथ्र्यो होला । त्यही कारण चर्को घाममा त्यत्रो बजार परिक्रमा गरेर फर्कदा पनि यिनीहरु लाइनमै थिए । विचराहरु के जानुन्, हातमा थमाइएको राष्ट्रिय झण्डा हम्कने हाते पंखा होइन भन्ने कुरा ।

कलिला बालबालिकाले घाँटी सुकिन्जेल नारा लगाए पनि पानीको थोपा पनि यिनीहरुको मुखमा परेको देखिदैनथ्यो । शिक्षकले लाइन छाड्न पाउँथे । भित्री गल्लीबाट पसेर लाइन भेट्न पाउँथे तर विद्यार्थी लाइन छाड्न पाउँदैनथे ।

यिनीहरुलाई बस्ने सामान्य बेञ्च पनि थिएन । बरु दुबो पलाएको भुँइमा नै व्यवस्थित बसालेको भए हुन्थ्यो, त्यो चेतना कसलाई आउने ? आफूलाई आरामदायी कुर्सी छँदैछ । ओत्ने छानो पनि थिएन । तिनले फलाकेका भाषण कलिला बालबालिकाले कति बुझे होलान् ? त्यसकारण उनीहरु निरीह थिए । उनीहरुसँग घाम ताप्नुको विकल्प थिएन । के सिके होलान्, त्यो कार्यक्रमबाट कलिला बालबालिकाले ?

५. नेताहरुको दोहोरो चरित्र 

नगरपालिकाको कार्यशैलीप्रति असहमति राख्ने दलहरु र तिनका नेताहरुले यो कार्यक्रम बहिष्कार गर्ने भन्दै थिए । बहुमत दलले यो कार्यक्रम बहिष्कार नै गरे । भलै,  उनीहरुमा एकमत भएन । केही दलका नेताहरुलाई पछि लगाउन सक्दा कर्मचारी दंग थिए भने नेताहरु विचरा देखिन्थे । सहभागी हुनेमा अहिलेको खाँटी राष्ट्रवादी देखि असंघीयतावादीका नेताहरु समेत थिए । मञ्चमा माला लगाएपछि उनीहरु त्यसै मख्ख । मञ्चमा बस्नेहरुले त कार्यक्रमको प्रशंसा गर्ने नै भए । बहिष्कार गर्नेहरुले पनि विद्यार्थीका अधिकारका कुरा उठाएका होइनन्, तिनीहरुले त केवल आफू अनुकूल काम भएन भनेर घुर्की लगाएका मात्र हुन् । उनीहरुको घुर्कीलाई कर्मचारीले टेर्ने कुरै भएन ।  

६. साक्षर को ?

विद्यालयका कलिला बालबालिकालाई बोलाएर नगरपालिकालाई साक्षर घोषणा गरियो । वास्तविक साक्षर विद्यार्थी भएका हुन् ? वा तिनका हजुरबुबा हजुरआमा ? भन्ने कुरा शंकाको घेरामा पारियो । अधिकांश बोर्डिङ् स्कुलका विद्यार्थी देखिन्थे । नगरपालिकाका दूरदराजका विद्यार्थी त्यहाँ देखिदैनथे । नव साक्षर १५ देखि ६० वर्षसम्मका मानिसहरुको उपस्थिति छँदै थिएन । केही रमिता हेर्न आएका बजारियाहरु थिए ।

दुबोको माला ती वृद्धवृद्धालाई लगाइदिनुपथ्र्यो जसले जीवनको उतराद्र्धमा साक्षरता हासिल गरेर आगामी पिढीलाई पढ्ने उत्पे्ररणा प्रदान गरे । नगरपालिकाका के सबै साक्षर भए ? साक्षर भएका मानिस चाँहि को हुन् ? कति उमेरका हुन् ? ती कहाँ थिए ? त्यो तालुकवालाहरु नै जानुन्, उनीहरुको भाषणले मात्र पत्याउन सकिदैन । तसर्थ आउँ तिर न बाउँतिरको साइनोका विद्यार्थी बोलाएर साक्षरता ?

विद्यार्थीलाई यसरी यातना दिइएको यो पहिलो पटक होइन । शिक्षा दिवसका नाममा पनि यसैगरी यातना दिइन्छ । यो बन्द होस्  !

(हमाल, मूलपानी उच्च माध्यमिक विद्यालय, बागलुङ नगरपालिका–५ का ब्यवस्थापन समिति अध्यक्ष हुन्) 

प्रकाशित मिति २०७३ जेठ १७ गते

प्रतिक्रिया