Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

निजी विद्यालयका अभिभावकको भोगाई, सन्तान कुटिदाँ पनि निरीह

आइतबार, १६ जेठ २०७३

काठमाडौं - फागुनको अन्तिम हप्ता ललितपुरको एक निजी विद्यालयका डिआईको कुटाईबाट विद्यार्थीको कानको जाली नै फुट्यो । उक्त समाचार सार्वजनिक हुनासाथ शिक्षाविद् डा. मनप्रसाद वाग्लेले 'कमेण्ट' गरे – यस्ता शिक्षकलाई जेल हाल ।

क्यास्पियन कलेज कुमारीपाटिका 'डिसिप्लिन ईञ्चार्ज' अर्थात् डीआई दिपेन्द्र श्रेष्ठको कुटाईबाट कक्षा ११ का विद्यार्थी सलन डालिम डंगोलको कानको जाली फुटेको उक्त घटना पछि दुई चार दिन माहौल तात्यो, समाचार सार्वजनिक भए । तर विद्यार्थी कुट्ने शिक्षकलाई जेल त परै जावोस् के गरी घटना सामसुम पारियो भन्ने भेऊ सम्म पाउन कठिन भयो । यस्तै सामसुम भित्रको खेलले अधिकाँश निजी विद्यालय आफूलाई दादा ठान्न सफल भएका छन् । विद्यालय शान्ति क्षेत्र र डर त्रास विना विद्यार्थीलाई पढाउनु पर्ने सामान्य सिद्धान्तको समेत  वास्ता नगरी उनीहरुले आफ्नो रुपलाई 'डामेर छाडेका साँढेको जस्तो' बनाएका छन् । यतिखेर त्यो रुप सहित पदार्पण भएको छ – शंखमूलमा रहेको केएमसी स्कुल ।

होस्टेलमा बसेर पढ्ने २३ छात्रालाई होस्टेल वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेको खबर सार्वजनिक भएको छ । कक्षामा ढिलो आएको निहुँमा वार्डेन ज्ञवालीको कुटाईबाट विद्यार्थी विरामी नै भए ।

उक्त खबर पढ्नुहोस् : २३ छात्रालाई निर्मम यातना

स्कुलको यो 'दादागिरी' आईतबार सार्वजनिक हुनासाथ अभिभावकको भाले सातो गएको छ – ठूलो स्वरले कराउँ भने आफ्ना बच्चा यहीँ पढ्छन्, झन् धेरै कुट्लान् भन्ने डर, नकराउँ भने खपिसक्नु भएन । उनीहरु मसिनो स्वरमा प्रश्न गर्दै छन् – 'मेरो सन्तानलाई मैले पढ्न पठाएको की कुटाई खान ?'

अभिभावकले यसको उत्तर यति सजिलै पाउन सक्ने छाँट छैन । किन पनि भने निजी विद्यालयको चरित्र विद्यार्थी कुट्नु नै हो जस्तो बन्दै छ । यसो हुनुको खास कारण छ – यस अघि भएका यस्तै प्रकृतिका घटनामा कसैले केही गर्न नसक्ने गरी सामसुम पार्न सफल भएको उनीहरुको नजिर ।

तर यस्ता विद्यालयलाई अदालतले नै कारवाही गरेको कानूनी नजिर पनि छ भन्ने हेक्का अभिभावकलाई नहुनु उनीहरुको साँढे रुप विस्तार भैरहनुको खास कारण हो । बालबालिका सम्बन्धि ऐनको दफा ७ मा बालबालिका माथि क्रुर र यातनापूर्ण ब्यवहार गर्न नहुने उल्लेख छ । यति मात्रै हैन मूलुकी ऐनको कुटपीट सम्बन्धि महलमा प्रहरीले फौजदारी मुद्धा दायर गर्न सक्ने ब्यवस्था समेत छ ।

बालबालिकाको पक्षमा लागू गरिएका राष्ट्रिय कानून तथा अन्र्तराष्ट्रिय रुपमा तय भएका सन्धि अभिसन्धिको नेपाल पक्ष राष्ट्र हो, यस्ता कार्य भएमा कारवाही हुन्छ भन्ने कुराको जानकारी अभिभावकसंग नहुँदा पनि घटना सामसुम हुने गरेको बताउँछन्, केन्द्रिय बाल कल्याण समितिका सदस्य सचिव तारक धिताल । घटनाका बारेमा आफ्नै संयन्त्र मार्फत जानकारी बटुलिरहेको उनको भनाई छ । 'यस्ता घटना सार्वजनिक भए पछि मात्र तात्ने हाम्रो बानी छ, हामी विगतका नजिर भुल्छौं डीएभि स्कुललाई अदालतले कानूनी कारवाही गरेको ईतिहास हामी संग छ, त्यसकै आधारमा पनि कारवाहि गर्न सकिन्छ' धिताल भन्छन्, 'सबै भन्दा पहिला अभिभावकले नै सम्बन्धित निकायमा घटना दर्ता गराउनु पर्यो, अनी बल्ल दोषिलाई कारवाही गर्ने प्रकृया अघि बढ्छ, र कारवाहिको टुङ्गोमा पुग्न सक्निछ ।' 

तर धितालले भने जस्तो सजिलै अभिभावक अघि बढ्न हिचकिचाउँछन् । 'आफ्ना बच्चा यहीँ पढ्छन्, भोली तेरा वाउ आमाले गर्दा हामीलाई यस्तो भयो भन्दै बच्चा माथि रिस पोखे भने के गर्ने ?' एक जना अभिभावकले नाम उल्लेख नगर्ने सर्तमा एडुखबरसँग भने, 'कारवाही हुन्छ भन्ने ग्यारेण्टि भए पो उजुरी दिने, अहिले जे हुनु भै हाल्यो बरु बच्चालाई अर्कै स्कुलमा पढाउँछौं टण्टै साफ ।'

यही जे हुनु भयो र टण्टै साफको मानसिकताले निजी विद्यालयको दादागिरी अन्त्य गर्न नसक्ने बताउँछन्, काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतम । शिक्षकको कुटाईबाट विद्यार्थी विरामी नै परेको खबर थाह पाए पछि विद्यालय निरिक्षकलाई पठाएको उनी बताउँछन् । तर, अभिभावकले खुलेर साथ दिए मात्रै निजी विद्यालयको मनपरी रोक्न सकिने उनको भनाई छ । 'महंगो शुल्क तिरे पछि समाजमा शान मान हुन्छ भन्ने ठान्ने हाम्रा अभिभावकको धारणा छ' उनी भन्छन् 'निजी भने पछि रामै्र हुन्छ, त्यस माथि महंगो शुल्क उठाउने त झन् राम्रो स्कुल हो भन्ने अभिभावकको मानसिकताले निजी स्कुलमा धेरै खाले मन परी भयो ।'

निजी विद्यालयमा हुने कुटाईका यस्ता घटना जिल्ला शिक्षा कार्यालयसंग सम्बन्धित जस्तो देखिए पनि राज्यका सबै अंग परिचालन हुनु पर्ने घटना भएको उनी बताउँछन् । सके सम्म विद्यालय सञ्चालकहरु नै जिम्मेवार हुने हो भने यस्ता घटना आफैं कम हुने उनको अड्कल छ । 

प्रकाशित मिति २०७३ जेठ १६ गते

प्रतिक्रिया