Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

नेपालको शिक्षा अमेरिकाको भन्दा उत्कृष्ट : गायक स्वरुपराज आचार्य 

शनिबार, १५ जेठ २०७३

- विष्णु विवेक /  विश्वको महाशक्ति मानिने सयुँक्त राज्य अमेरिकाका मानिस सबैभन्दा बढी शिक्षित छन् । शिक्षित भन्दा पनि उनीहरु हरेक काममा अगाडी छन् । अमेरिकाभन्दा कैयौँ गुणा पछाडी हामी नेपाली अमेरिकाको भन्दा पनि राम्रो शिक्षा आर्जन गरिरहेका छौँ भनेर तपाईलाई विश्वास लाग्छ ? सायद लाग्दैन् होला ।

तर नेपाली सुगम संगीतका चर्चित गायक स्वरुपराज आचार्य नेपालको शिक्षा अमेरिकाको भन्दा पनि उत्कृष्ट रहेको बताउँछन् । प्राथमिक तहदेखि हाम्रो सिकाई र विद्यार्थीको क्षमता हेर्दा हामी अमेरिकाभन्दा कुनै पनि कुराले पछाडी छैनौँ । 

‘अमेरिकामा सबथोक राम्रो छ । तर शिक्षाको तुलनामा अमेरिका हामी भन्दा पछाडी छ । खासगरी प्रि–प्राइमरी र प्राइमरी लेवल हाम्रो राम्रो छ ।’ गायक आचार्यले भने ‘अमेरिकाका विद्यार्थीलाई धेरै कुरा थाहा हुदैन् । उनीहरु केही ‘सर्टेन’ विषयमा जानकार हुन्छन् । तर हामी नेपालीलाई प्राय सबैको कुराको बारेमा राम्रो ज्ञान हुन्छ ।’

उनका भनाईमा प्राथमिक तह र माध्यामिक तहमात्रै होइन् हाम्रो शिक्षाको अर्को विशेषता भनेको हरेक विषयमा विद्यार्थीले सहजै अध्ययन पाउँछ । तर अमेरिकामा त्यो छैन् । कुनै विषयमा उनीहरुको माथिल्लो तहसम्म अध्ययन र विज्ञता हुन्छ । तर नेपाली विद्यार्थीमा अध्ययन धेरै छ कार्यान्वयन तह निकै कमजोर छ ।

खासगरी प्राविधिक र व्यवसायिक शिक्षामा नेपाल पछाडी रहेको उनको भनाई छ । सैद्धान्तिकमा त हामी अमेरिकामा भन्दा पनि अगाडी छौँ ।  एसएलसीसम्म कक्षामा दोश्रो नभएका गायक स्वरुपराज आचार्यले २०५२ सालमा ललितपुरको टीका विद्याश्रम माध्यामिक विद्यालय सानेपाबाट एसएलसी उत्तीर्ण गरेका हुन् । 

कक्षामा नियमित उपस्थित हुने स्वरुप सबैभन्दा बढी समय र महत्व पढाईलाई नै दिन्थे । उनले कुनै ठूलै समस्या बाहेक एक दिन पनि क्लास ‘बंक’ गरेनन् ।

गायन र संगीतमा उत्कृष्ट स्वरुपराज आचार्य पढाईमा पनि अब्बल थिए । स्वरमा ‘जादुयी’ क्षमता भएका स्वरुपले अर्थशास्त्रमा स्नाकोत्तर समेत गरेका छन् ।   पाटन बहुमुखी क्याम्पसबाट आइए, बिए र एमए गरेका स्वरुप शिक्षा रुचि, क्षमता र आवश्यकभन्दा पनि बढी अनिवार्य तत्व भएको बताउँछन् । 

‘अध्ययन अनिवार्य चाहिन्छ । अध्ययन विना जीवन र जगतलाई बुझ्न धेरै गाह्रो हुन्छ । कार्यरत क्षेत्र जुन भएपनि शिक्षा र त्यसको अध्ययन चाहिन्छ ।’ उनले भने ।

शिक्षा, संगीत र कलाकारको सम्बन्ध

गायक स्वरुपलाई शिक्षा र संगीतको सम्बन्ध त्यति ठूलो जस्तो लाग्दैन् । नितान्तै पनि फरक विधाका यी दुई विषयमा उनी पोख्त छन् ।  शैक्षिक योग्यताले कुनै बैंकमा राम्रै जागिर खान सक्ने स्वरुप स्वर र संगीतले आम नेपालीसंगै विश्वभर चिनिएका छन् । 

तर उनी अध्ययनलाई नितान्तै फरक रुपमा बुझ्छन् । कलाकारलाई गायन र संगीतको अभ्याससंगै अध्ययन पनि आवश्यक भएको उनको बुझाई छ ।  किनकी कलाकार कलाकार मात्रै नभई राष्ट्रकै अंग भएकाले परेको खण्डमा राष्ट्रलाई योगदान दिन कलाकारले पनि अध्ययनशिल हुनुपर्ने उनको भनाई छ । 

कलाकारहरुमा शैक्षिक योग्यताभन्दा पनि परिस्थितीअनुसारका गीत संगीत बजारमा ल्याउन अध्ययन र यसको प्रयोग अनिवार्य भएको स्वरुपको भनाई छ ।

मन्त्रीले सोधेँ ‘तिमी के काम गरेर घरखर्च चलाउँछौँ ?’

राज्य सञ्चालन गर्ने राजनीतिक दल र दलका नेता अनि मन्त्रीलाई हेर्दाँ स्वरुपलाई ‘दया’ लाग्छ । कारण उनीहरुले कलाकारितालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सकेका छैनन् ।

पछिल्लो समय एक सार्वजनिक कार्यक्रममा स्वरुपसंग भेट भएका एक मन्त्रीले सोधेछन् ‘तिमी के काम गर्छौँ ।’

स्वरुपले जवाफ दिए, ‘म गायक स्वरुपराज आचार्य । गाउँछु । संगीत साधना गर्छु ।’ ती मन्त्रीले यतिसम्म पहिल्यै थाहा पाएका रहेछन् । उनलाई फेरी सोधे ‘होइन गाएर त बाच्न मुश्किल छ होला, के गरेर घरखर्च चलाउँछौँ ?’

प्रष्टसंग मन्त्रीले यति भनेपछि उनको रिसको पारा छुटेर आयो । सार्वजनिक कार्यक्रम त्यसमा पनि मन्त्रीले यसरी भन्दा आफ्नो निकै चित्त दुखेको स्वरुपले बताए ।

‘सायद मन्त्रीलाई यति पनि थाहा थियो थिएन् । मैले सोधिन । ‘सत्य–स्वरुप’को चर्चा र यसको व्यापकताका बारेमा सबै नेपाली जान्दछन् । यति सानो कुरामा उहाँको सोचाई हेर्दा अहिले पनि तीमन्त्रीदेखि दयाँ लाग्छ ।’ उनले भने ।

राज्यको माथिल्लो तहमा बसेका अग्रणी व्यक्तिहरुले शिक्षा नै धेरै आर्जन नगरेकाले बुझाईमा फरक परेको स्वरुपको भनाई छ ।

 

गितार, हार्मोनिमय मात्रै होइन् किताब पनि समाउनुपर्छ 

कलाकारको एउटै गीत र एउटै भनाईले समाज परिवर्तन र परिवर्तनमा साथ दिने भएकाले यो सिर्जना गर्न पनि अध्ययन नै चाहिने स्वरुप बताउँछन् ।  ‘हामी प्राय अध्ययनलाई त्यति ख्याल गर्दैनौँ । शैक्षिक योग्यता हासिल गर्नु धेरै माथीको उपलब्धी हो । यसले गर्दा पनि कलाकार खाली गितार, हार्मोनियम मात्रै बजाउने होइन् अध्ययन गरेर देश विदेश बुझ्न पनि जरुरी छ ।’ उनले भने ।

कलाकारले अरुको भन्दा बढी नै अध्ययन गर्नुपर्ने पनि उनको भनाई छ । ‘अहिले औलामा गन्न सकिने कलाकारले मात्रै पढेका छन् । तर सबैले पढेको भए अरुभन्दा पनि कलाकारिता क्षेत्रको विकास गर्न एक किसिमको ठूलो दबाब सिर्जना गर्न सकिन्थ्यो ।’ उनले भने ।

अब कलाकारले गितार र हार्मोनियमका तार रेटेसंगै आफ्ना हक अधिकार स्थापित गर्न पुस्तकको अध्ययन समग्र क्षेत्रका बारेमा ज्ञान हासिल गर्नुपर्ने स्वरुप बताउँछन् ।

अर्थशास्त्रपछि समाजशास्त्रमा पनि स्नात्तकोत्तर गर्ने सोच बनाएका स्वरुपले भने ‘एउटा व्यक्ति शिक्षित भयो भने उसले समग्र राज्य नै शिक्षित बनाउँछ । त्यसैले कुनै पनि पेशा, व्यवसाय र पद भन्दा पनि ठूलो शिक्षा हो । यसलाई हासिल गर्नु जीवनकै सबैभन्दा ठूलो धन प्राप्त गर्नु हो ।’ 

प्रकाशित मिति २०७३ जेठ १५ गते ।

 

 

 

 

 

प्रतिक्रिया