Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

शिक्षक संख्याबारे सरकारी तथ्याङ्कमै त्रुटि, एकै बर्षमा झण्डै ९३ हजार शिक्षक थपिए !

शुक्रबार, १४ जेठ २०७३

- श्रीधर पौडेल / काठमाडौं - सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको शिक्षक संख्यामा त्रुटि फेला परेको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणमा यो वर्ष मात्रै ९२ हजार ९ सय ७ शिक्षक थपिएको उल्लेख छ । चालु शैक्षिक सत्रमा सामुदायिक र संस्थागत विद्यालयमा गरी ३ लाख २ हजार ७ सय ७६ शिक्षक कार्यरत रहेको सर्वेक्षणमा उल्लेख छ । गतबर्ष कूल शिक्षक संख्या २ लाख ९८ हजार ६९ रहेको उक्त सर्वेक्षणमा उल्लेख छ ।

तर, गतबर्ष उच्च माध्यामिक विद्यालय तर्फ २ हजार दरबन्दी थप गरिएको बाहेक सामुदायिक विद्यालयमा सरकारले शिक्षक दरबन्दी थपेको छैन । शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा कूल शिक्षक दरबन्दी १ लाख ४५ हजार ५ सय १८ छ । शिक्षक आयोग खुलेर कक्षा कोठामा पुगेका शिक्षकको संख्या पनि यहि भित्र पर्छ ।

चालु आर्थिक बर्षमा मावि तर्फ १ हजार ३ सय २६ र निमावि तर्फ १ हजार ८ सय ६० गरी जम्मा ३ हजार १ सय ८६ शिक्षक मात्रै खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका सर्वेक्षणमै उल्लेख छ । 

सरकारले नयाँ निजी विद्यालय सञ्चालनमा समेत कडाई गरेकोले संस्थागत अर्थात् निजी विद्यालयमा यत्रो ठूलो संख्यामा शिक्षक थपिने प्रश्नै उठ्दैन । त्यसैले झण्डै ९३ हजार शिक्षक थप हुने कुनै आधार छैन । जबकी उक्त सर्वेक्षणमै संस्थागत विद्यालय तर्फ ८४ हजार १ सय ४३ शिक्षक रहेको उल्लेख छ । गत शैक्षिक सत्रमा यो संख्या ८२ हजार १ सय ३१ मात्रै रहेको पनि सर्वेक्षणमै उल्लेख छ । 

आर्थिक सर्वेक्षण अर्थ मन्त्रालयले तयार गर्छ । विभागका महानिर्देशक खगराज बराल विभागले तथ्याङ्क पठाउँदा यकिन पठाएको दावी गर्छन् । 'यतिको ठूलो संख्यामा शिक्षक थपिएकै छैन, तथ्याङ्क चढाउँदा मानवीय त्रुटि भएको हुन सक्छ' उनले अड्कल काटे, 'उच्च मावि सम्म सञ्चालन भएको विद्यालयमा प्रावि, निमावि, मावि सबै चल्छन् भन्ने हेक्का नराखि छुट्टा छुट्टै तथ्याङ्क राख्दा यस्तो भएको हुन सक्छ ।'

उक्त सर्वेक्षणमा चालु शैक्षिक सत्रमा महिला शिक्षक संख्या १ लाख ५ हजार ३ सय ८३ र पुरुष शिक्षकको संख्या १ लाख ९७ हजार ३ सय ९३ उल्लेख छ ।

आधारभूत तहमा संस्थागत विद्यालयहरुमा कूल ६४ हजार ४ सय ६३ शिक्षकहरु मध्ये पुरुष भन्दा महिला शिक्षक १ हजार ४ सय १९ ले बढि रहेको सर्वेक्षणमा उल्लेख छ । सामुदायिक विद्यालयहरुमा एक तिहाइ भन्दा कम महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा ४४ प्रतिशत भन्दा बढी महिला शिक्षक रहेको उल्लेख छ । शिक्षण पेशामा संलग्न महिला शिक्षकको संख्यामा विगतका बर्षको तुलनामा केही सुधार भए पनि अझै सुधार हुनुपर्ने सर्वेक्षणले औंल्याएको छ ।

चालु आर्थिक बर्षमा शिक्षक लाईसेन्स लिनेहरुको संख्या १ लाख ६ हजार ६० रहेको र प्रावि तर्फ ९ सय १७, निमावि तर्फ २ सय ८३ र मावि तर्फ ३ सय १ शिक्षकको बढुवा भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति २०७३ जेठ १४ गते

प्रतिक्रिया