Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

शिक्षा ऐन संसदमा, सहमतीमै पास हुनेमा शिक्षा मन्त्री ढुक्क

विहीबार, १३ जेठ २०७३

काठमाडौं - संसदीय समितिबाट पारित भएको शिक्षा विधेयक संसदमा दर्ता भएको छ । महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झाले बुधबारको बैठकले पारित गरेको शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ दर्ता गराएकी हुन् ।

सत्तारुढ दल एमालेकै केही सांसदको असहमतिका बावजुद उक्त विधेयक संसदमा दर्ता भएको हो ।

पढ्नुहोस् : शिक्षा विधेयक समितिबाट पारित

असहमतीका कुरालाई आयोग बनाएर सम्बोधन गर्दै जाने गरी अघि बढाएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेले बताए । कुनै असहमती भएमा सहमतीका लागि छलफल गर्न आफू तयार रहेको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारका लागि ऐन आवश्यक भएकोले  विधेयक पास हुनेमा आफू ढुक्क रहेको उनी बताउँछन् । 'समितिकी सभापतिले संसदमा प्रस्तुत गर्नुभएको छ, यो अति आवश्यक भएकोले चाँडै समय छुट्याउन सभामुखलाई भेटरै आग्रह गरिसकेको छु' उनले एडुखबरसंग भने, 'बजेटको काम सकिना साथ यसले प्राथमिकता पाउने छ ।'

शिक्षा क्षेत्रको सुधारका लागि ऐन आवश्यक भएकोले अघिल्लो सरकारका मन्त्रीले तयार गरे पनि आँखा चिम्लेर विधेयक अघि बढाएको मन्त्री पोखरेलले बताउँदै आएका छन् ।

तर सत्तारुढ दल एमालेकै सांसदहरुले विरोध गरेका कारण ऐन सजिलै पास हुनेमा उत्तिकै शंका छ । खास गरी सहकारीका नाममा शिक्षण संस्था खोल्ने की नखोल्ने भन्ने मुद्धामा विवाद छ । मनमोहनका नाममा खुलेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुद्धालाई एमाले सांसदहरुले शिक्षा ऐनसित जोडेर प्रतिष्ठाको विषय बनाएका छन् ।

'यो कुरालाई मन्त्री ज्यूले राम्रै संग बुझ्नु भएको छ' मन्त्री निकट श्रोतले भन्यो, 'संसदमा दर्ता भएको विधेयक सत्ताधारी दल, त्यसमा पनि प्रधानमन्त्रीकै दलका सांसदहरुकै कारण रोकिदाँ गलत शन्देश जाने भएकोले विरोधका स्वर विस्तारै मत्थर हुने उहाँको अड्कल छ ।'

सहकारीको साटो गुठिमै जाने हो भने मात्रै निजी लगानीका शैक्षिक संस्थाका कारण उब्जेका शिक्षा क्षेत्रका धेरै विकृति हल गर्न सकिने कुरामा मन्त्री पोखरेल स्पष्ट भएको उक्त श्रोत बताउँछ ।

अव, विभिन्न प्रकृया पार गरे पछि उक्त विधेयकले बल्ल ऐनको रुप लिन्छ । संसदमा दर्ता भएको विधेयक माथि सबै भन्दा पहिला सांसदहरुले छलफल गर्छन्, उनीहरुबाट पारित भएपछि राष्ट्रपति समक्ष पेश गर्ने प्रावधान छ ।

यस अघि पनि राष्ट्रपति समक्ष पेश भैसकेको विधेयक फिर्ता आएको विगत समेत भएकोले सत्तारुढ दलका सांसदको विरोधले ऐन रोकिने सम्भावना पनि उत्तिकै छ ।

तर मन्त्री पोखरेल शिक्षा क्षेत्र सुधारका लागि ऐन आवश्यक भएकोले यो पारित हुनेमा आफू ढुक्क रहेको दोहोर्याउँछन् । 'अहिले देखिएका समस्या ठूलो कुरा नै हैन, पवित्र उद्धेश्यले गरिएका काम सही दिशा तिर लैजान र निष्कर्षमा पुर्याउन सबैले सकारात्मक भूमिका खेल्छन् भन्ने मैले अपेक्षा गरेको छु' उनले नाम नलिईकनै भने, 'विरासतमा प्राप्त केही उपलब्धि र ति उपलब्धिसंग जोडिएका ब्यक्तिको नामलाई सम्मान गर्ने गरी अघि जाने कुरामा सहयोग प्राप्त हुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।'

प्रकाशित मिति २०७३ जेठ १३ गते

प्रतिक्रिया