Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

बन्दले विद्यार्थी अलमलमा, कक्षा ११ को परीक्षा प्रभावित 

विहीबार, १३ जेठ २०७३

काठमाडौँ – राष्ट्रिय यातायात व्यवसायी तथा मजदुर संघले सयुँक्त रुपमा गरेको सार्वजनिक सवारी बन्दले विद्यार्थी नराम्रोसंग मारमा परेका छन्  । साथै उनीहरुको निर्वाध पढ्न पाउने हक अधिकार समेत खोसिएको छ । 

आफ्ना माग पुरा गराउन बन्द नै रोज्ने विभिन्न रानजीतिक दल र ती मातहतका संघ संगठनको बन्दमा विरोध गर्दै आएका यातायात ब्यवसायी आफैं बन्दमा उत्रदाँ अव देखि विरोध गर्ने नैतिक आधार समेत गुमाएका छन् । 

ट्राफिक नियम मिचे वापत हुने जरिवानामा गरिएको बृद्धिको विरोधमा उनीहरु बन्दमा उत्रिएका हुन् । लेन मिचेको, गलत ठाउँमा यात्रु चढाएको तर झारेको, ओभरटेक गरेको अवस्थामा चर्को शुल्क (रु ५ सय देखि १५ सय ) लिन शुरु गरेपछि यातायात व्यवसायी र मजदुर बन्दमा उत्रिएका हुन् । 

बिहीबार  गरिएको बन्दले विद्यालय पनि बन्द छन् भने बाटोमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । यातायात व्ययवसायी र मजदुरको बन्दले अधिकांश सार्वजनिक सवारी चलेका छैनन् ।  यसले विद्यार्थीलाई सबैभन्दा बढी मार परेको राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का अध्यक्ष कर्ण शाहीले बताए । 

‘बन्दले विद्यार्थीलाई सबैभन्दा बढी मार परेको छ’ अध्यक्ष शाहीले भने ‘विद्यालय जाने गाडी नै चल्न नदिएपछि विद्यार्थी कसरी पढ्नु ? विद्यालयमा पढाउने शिक्षक पनि गाडी आउनुसक्नुपर्यो नि !’  

यातायात व्यवसायी तथा मजदुर संघले आफुहरुलाई गाडी आज एक दिन नचलाईदिन आग्रह गरेको पनि उनले बताए ।  ‘उनीहरुले हामी र हाम्रा जिल्ला जिल्लाका संगठनलाई गाडी नचलाईदिन भनेका पनि छन् । शिक्षक र विद्यार्थी विद्यालयसम्म आउन नसकेपछि आज विद्यालय खुल्दैनन् ।’ उनले भने ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आफुहरुले बाध्य भएर बन्द गर्नुपरेको बताए ।  ‘हामीले रहरले बन्द गरेका होइनौँ, यो बाध्यता हो, अरुले बन्द गर्दा विद्यालय शान्ति क्षेत्र नहुने हामीले गर्दा हुने कहाँ लेखेको छ ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

आफुहरुलाई सरकारले गरीखान नदिएको भन्दै अध्यक्ष खनालले गाडी थन्क्याएर बन्दको अवस्थामा पुगेको जिकिर गरे ।

परीक्षा प्रभावित 

बन्दले कक्षा ११ को परीक्षा भने केही प्रभावित भएको छ । जेठ २ गतेबाट उच्च माध्यामिक शिक्षा परिषदद्धारा सञ्चालित कक्षा ११ को परीक्षा दिने परीक्षार्थीलाई बन्दले असर पारेको परीक्षा नियन्त्रंक सन्तोष अर्यालले बताए । 

परीक्षा सकिएपनि कक्षा ११ को आंशिकतर्फको अंग्रेजी विषयको परीक्षा मात्रै बाँकी थियो । आज बिहान ७ बजेबाट १० बजेसम्म परीक्षा सञ्चालन गरेपनि परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न सास्ती भएको उनले बताए ।

यसअघि जेठ २ गते जाजरकोटमा प्रश्नपत्र बाहिरिएपछि ५९ जिल्लामा कक्षा ११ को अंग्रेजी विषयको आंशिकतर्फको जाचँ आज (जेठ १३ गते बिहीबार)लाई तोकिएको थियो ।

तर विहानैबाट बन्द भएपछि उपत्यकाबाहिरका परीक्षार्थीर्ला सास्ती भएको हो । काठमाडौँ उपत्यकासहितका ११ जिल्लामा प्रश्नपत्रको सेट फरक परेका कारण २ गते नै जाचँ लिइएपनि अन्य ५९ जिल्लामा परीक्षा आजलाई सारिएको थियो ।

विद्यालय शान्ति क्षेत्र सबैले भन्ने, कसैले नमान्ने 

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले ‘विद्यालय शान्ति क्षेत्र’ सबैले भन्ने तर कसैले नमान्ने भन्दै दुःख व्यक्त गरे ।  ‘विद्यालय शान्ति क्षेत्र सबैले भन्ने तर कसैले नमान्ने भएको छ’ उनले भने ‘कसैले नमान्ने भएपछि हामीले मात्र मानेर हुदोँ रहेनछ ।’ 

यातायात व्यवसायीले नै बन्द गरिदिदाँ विद्यार्थी मारमा पर्नुका साथै समग्र शैक्षिक क्षेत्र नै अन्योलमा परेको पनि प्रवक्ता लम्सालले बताए ।

प्रकाशित मिति २०७३ जेठ १३ गते ।

 

प्रतिक्रिया