Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

हावाहुरीले विद्यालयका छाना उडायो

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । बैतडीमा सोमबार साँझ पानीसँंगै आएको हावाहुरीले दर्जनौँ विद्यालयका छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।  पाटन नगरपालिकाको ठाँडमा रहेको भूमेश्वर उमाविको चारवटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरसिंह विष्टले बताए । 

चारवटा भवनको आठवटा कोठामा बस्न नमिल्ने भएको छ । उनले भने – “कम्प्युटर ल्याब भवनको समेत छानो उडाउँदा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनमा समेत क्षति पुगेको छ ।” उनका अनुसार विद्यालयमा धेरै क्षति पुगेको छ र पठनपाठन अवरुद्ध भएको छ ।  

शङ्करपुरमा रहेको भूमिराज प्रावि पिपलाधारको भवनको छानो हावाहुरीले उडाएको प्रधानाध्यापक जनकबहादुर कुवँरले जानकारी दिए । विद्यालय भवनको छानो उडाएपछि यहाँ पनि पठनपाठन अवरुद्ध भएको छ । 

यस्तै, मल्लादेहीमा रहेको डिलाशैनी निमाविको दुईकोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । जस्तापाताले छाएको सो भवनको छानो उडाएको विद्यालयका शिक्षक जनक बोहराले जानकारी दिए । 

जिल्ला शिक्षा कार्यालयको सहयोगमा २०६७ मा निर्माण भएको भवनमा क्षति पुगेको हो ।  बैतडीको मेलौली गाविस–८ मा रहेको केदारेश्वर प्राविको भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठन कार्य ठप्प छ ।  

विद्यालयको चारकोठे भवनको जस्तापाताले छाएको छानो हावाहुरीले उडाएपछि पठनपाठन ठप्प भएको विद्यालयका प्रधानाध्यापक विन्दा चन्दले बताएका छन् । यही जेठ २ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो । पठनपाठन कार्य नौ दिनदेखि प्रभावित भएको छ ।  

सित्तड गाविसको सलेनामा रहेको पञ्चदेव निमाविको दुईकोठे भवनको छानो उडाएपछि विद्यार्थीका लागि बस्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिए  ।बालबालिकालाई अहिले चौरमा राख्नुपर्ने बाध्यता छ । यो विद्यालय विसं २०६३ मा बनेको हो । 

उता पाटन नगरपालिका–१ मा रहेको दुगाबेताल प्रावि खानीडाँडा गडालेकको दुईकोठे भवनको छाना उडाएको छ ।   यस्तै पानीसँगै आएको बाढीले डिलाशैनी गाविस–१ मा खोलाको बाढीले कटान गरेपछि पाँच स्थानीयवासीकोे घर पनि जोखिममा रहेको छ । सेकराम ओड, धनदेव बोहरा, केशवराम ओड लगायतको घर जोखिममा परेको स्थानीयवासी लोकेश जोशीले बताए ।  

एक्कासि आएको पानीले खोलामा बाढी आएको र खोलाको बाढीले निर्माणधिन सिँचाइ आयोजना बगाएको समेत उनले दाबी गरे । सोही ठाउँको खानेपानी आयोजनाको पाइप पनि बाढीले बगाएपछि स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । 

वर्षासँगै आएको हावाहुरीले बैतडीको उत्तरपूर्वी कुवाकोटमा रहेको भूमिराज माविकोे छाना उडाउँदा पठनपाठन कार्य अवरुद्घ भएको छ ।  वर्षासँगै आएको हावाहुरीले बिहीबार विद्यालयको छानो उडाएर पाँच सय मिटर तल रहेको कुवाकोटगाड पु्¥याएको विद्यार्थी मनिस खडायतले बताए ।  

त्यसैगरी राति चलेको हावाहुरीले भूमिराज मावि गहताडको तीनकोठे भवनको टिनको छानो उडाउँदा पठनपाठनमा समस्या भएको छ ।  जिल्लाका अन्य ठाउँका विद्यालयमा पनि क्षति पुगेको छ । विवरण आइरहेका छन् । हावाहुरीले जिल्लामा करोडौ क्षति पु¥याएको अनुमान गरिएको छ ।  

रासस

 

प्रतिक्रिया