Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

चिट चोर्न नपाएपछि नाराबाजी, परीक्षा रद्द

सोमबार, १० जेठ २०७३

काठमाडौँ, ११ जेठ । नेपालकै पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा मा चिट चोर्न नपाएको भन्दै परिक्षार्थीले नाराबाजी गरेका छन् । डिप्लोमा ईन सिभिल इन्जिनियरिङको प्रथम वर्षको प्रथम खण्डको पहिलो दिनको परीक्षामा चिट चोर्न नपाएको भन्दै नाराबाजी भएपछि परीक्षा रद्द गरिएको छ ।

विद्यार्थीहरुले वर्ष भरी १५ दिन पनि पढाई नभएको र परीक्षामा चिट चोर्न नदिइएको भन्दै आक्रोश पोखेको प्रिन्सीपल राजकुमार चौधरीले बताए । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा एक घण्टासम्म निकै मर्यादित रुपमा चलेको थियो । तर, ८ बजेपछि चिट थुत्न थालिएपछि परीक्षा केन्द्रमा होहल्ला भएको थियो ।

प्रिन्सिपल चौधरीले जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा सहितको टोलीले परीक्षा अनुगमन गर्दा एक विद्यार्थीको चिट जफत गरेपछि ती विद्यार्थी हलबाट बाहिर निस्केर होहल्ला गरेको बताए । ‘उनले शिक्षकलाई गालीगलौज गर्नुका साथै भौतिक संरचनामा तोडफोड समेत गरे,’ चौधरीले भने ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएपछि पुनस् परीक्षा सुरु भएको थियो । परीक्षार्थीले त्यसपछि फेरि चिट चोर्न थालेको, सिट प्लानअनुसार नबसेको भन्दै जिल्ला परीक्षा समन्वय समितिले अमर्यादित परीक्षालाई रद्द गर्ने निर्णय गरेको छ ।

समितिले परीक्षामा खटिएका शिक्षक कर्मचारीलाई विभागिय कार्वाही गर्ने पनि निर्णय गरेको छ । ‘पहिलो दिनको परीक्षा मर्यादित नभएकाले रद्द गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ४७ जना परिक्षार्थी भए पनि १४ जनाले पहिलो दिनबाटै परीक्षा छोडेका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया