Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

एमबीबीएस सिट थप्न चलखेल

आइतबार, ०९ जेठ २०७३

काठमाडौँ, ९ जेठ । नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसँगको मिलोमतो र ठूलो रकमको चलखेलमा गण्डकी मेडिकल कलेजलाई एमबीबीएसका लागि ९० सिट दिलाइएको थाहा भएको छ । गण्डकी मेडिकल कलेजका अध्यक्ष डा। खुमाप्रसाद अर्यालकै मुख्य लगानी रहेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलाई पनि काउन्सिलका पदाधिकारीले मोटो रकम असुली एमबीबीएसका लागि १ सय २५ सिटको कोटा निर्धारण गरिदिएको स्रोतले बतायो । 

गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल, मेडिकल काउन्सिल, शिक्षा समितिका संयोजक डा। कृष्ण अधिकारीलगायत १२ जनाबीच एमबीबीएस सिट निर्धारणमा मिलोमतो भएको पाइएको स्रोतले बतायो । उनीहरू १२ जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत वर्ष सिट निर्धारण गर्न काउन्सिलले नियमित निरीक्षणमा खटाएको अधिकारीको टोली तथा कलेजका सञ्चालक अर्याल, हुमानाथ कोइराला र निशानराज भण्डारीबीचको मिलोमतोमा ‘५० सिट पनि दिन नमिल्ने अवस्थामा रहेको उक्त कलेजलाई ९० सिट दिलाइएकोु थियो ।  

उक्त कलेजको सिट निर्धारणका लागि अधिकारीसहित कान्तिपुर डेन्टल अस्पतालका डा। प्रेणितकुमार पोखरेल, प्राध्यापक डा। गणेशकुमार राई, उपप्राध्यापक डा। प्रदीप ज्ञवाली, डा। राजीव यादव, डा। नरमाया थापा र कलेजका सञ्चालक अर्याल, हुमानाथ कोइराला र निशानराज भण्डारीको टोली सहभागी थियो । त्यसको केही समयपछि अधिकारी पुनः एक्लै पोखरा पुगी कलेज सञ्चालकसँग मिलोमतो गरी ४० सिट थप्न भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित फर्किएको स्रोतले बतायो । ‘यसका लागि ठूलो रकमको चलखेल थियोु, स्रोतले भन्यो ।  

अधिकारीसँग त्यतिबेलै अर्यालको मुख्य लगानी रहेको भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई पनि एक सय २५ सिट दिलाउने सहमति भएको स्रोतको दाबी छ । ‘जब कि उक्त कलेजलाई ९० भन्दा धेरै सिट दिनै नमिल्ने अवस्था छु, स्रोतले भन्यो । काउन्सिलका अध्यक्षसहितको मिलोमतोमा गण्डकीलाई ४० सिट थपिएकोमा काउन्सिलकै शिक्षा समितिका केही पदाधिकारीले विरोध जनाएपछि युनिभर्सलको सिट थप्न अवरुद्ध भएको थियो ।  

गण्डकीलाई मिलोमतोमा थप सिट दिलाएका अधिकारीलाई तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियमविपरीत काउन्सिलको प्रवक्ता एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष नियुक्त गरेका थिए । उक्त नियुक्तिको निर्णय मन्त्रिपरिषद्को बैठकले मात्रै गर्न पाउँछ ।  

अधिकारी लामो समयदेखि चीनको वेस्ट चाइना मेडिकल सेन्टर अफ सिचुआन युनिभर्सिटीसँग मिलेर अर्कैको नाममा ‘कन्सल्टेन्सीु खोली नेपाली विद्यार्थीलाई अवैध रूपमा चीन पठाउने धन्दामा संलग्न छन् । उनलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण निकाय मानिएको परिषद्को अध्यक्ष बनाउँदा त्यतिबेला पनि चर्को विरोध भएको थियो ।  चीनमा नेपाली विद्यार्थी पठाउने उनको धन्दाबारे पनि अख्तियारले चासो व्यक्त गर्दै छानबिन अघि बढाएको छ । अधिकारी पछिल्लो समय नक्कली चिकित्सक पक्राउ गर्ने अभियानमा लागेका थिए ।  

स्रोतका अनुसार आफ्नो क्लिनिकल प्राक्टिस राम्रो हुन नसकेपछि कान्तिपुर डेन्टल अस्पतालका पोखेरलले अधिकारीसँग मिलेर नियमविपरीत थप सिट संख्या निर्धारणमा सहयोग गरेका थिए । आवश्यक पूर्वाधार र जनशक्ति पर्याप्त व्यवस्था नगरी सिट संख्या बढाउन अधिकारीको टोलीसँग मिलोमतो गर्ने युनिभर्सल मेडिकल कलेजका चार्टर्ड एकाउन्टेट अर्याल भैरवाको मुख्य लगानीकर्ता हुनु र नेपालगन्ज मेडिकल कलेजमा समेत उनको ठूलै लगानी हुनुमा पनि अख्तियारले चासो लिएको छ ।  स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र माफियाको जालो फिँजाउने काममा भूमिका निर्वाह गरेको आरोप पनि उनीमाथि छ । अर्यालले केही साताअघि मात्र सुदूरपश्चिममा अर्को मेडिकल कलेज खोल्ने प्रचारप्रसार गरेका थिए ।  

अधिकारीले अख्तियारले मुद्दा चलाएको आधार नखुलाएका कारण यसबारे आफ्नो भनाइ राख्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले अन्नपूर्णसँग भने, ‘गल्ती भयो भनियो । १२ जनालाई नै एउटै मुद्दा हालिएको छ । के गल्ती भन्नेमा चाहिँ हामी नै स्पष्ट हुन सकेका छैनौं ।'

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया