Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यावारिधि गर्न सक्छन् दृष्टिविहीन

आइतबार, ०९ जेठ २०७३

काठमाडौँ, ९ जेठ । अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ ।  इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वोत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गगरेका छन् ।  लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा थप गरी आफ्ना नामका अगाडि झुन्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए । समाजले जहाँ गए पनि लाञ्छना लगाउँथ्यो “यिनका त आँखा छैन, के गर्न सक्छिन् र ?” 

त्रिवि, मानविकी तथा समाजशास्त्र अध्ययन सस्थानबाट इतिहास विषय अन्तर्गत ‘देवघाटको धार्मिक तथा ऐतिहासिक महत्व’का विषयमा पोख्रेलले भर्खर विद्यावारिधिको प्रमाण लिएकी हुन् ।  यसैगरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘जेन्डर एन्ड मिडिया’ विषयमा सिंहले विद्यावारिधि प्राप्त गरिन् ।   आँट गरे के सकिँदैन, उहाँहरु पथप्रदर्शक बने । ती दुई विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिलाको नामाङ्कन समेत लेखाए उनीहरुले । 

तेह्र र नौ वर्षीया छोरीकी आमा पोख्रेलले भने“ अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिँदैन, सुनेर गर्न सकिन्छ । यसका लागि आफूमा आँट र सहयोग गर्ने सहृदयी मनहरु आवश्यक पर्छ ।” 

त्रिविवि अन्तर्गतका विभिन्न सङ्कायबाट स्नातकोत्तर पूरा गर्नेको सङ्ख्या हालसम्म एक सय नाघ्न सकेको छैन । बालकुमारी उमावि नारायणघाटबाट पोख्रेलले विसं २०४६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् ।  यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट विसं २०५५ मा इतिहास विषयमा स्नातकोत्तर तह पूरा गरेकी पोख्रेलले विसं २०५७ देखि सोही क्याम्पसमा अस्थायी प्राध्यापनरत रहेकी छन् । 

“नौ वर्ष अगाडि विद्यावारिधिका लागि शोध प्रस्ताव लिएर कीर्तिपुरस्थित डिनको कार्यालयमा आएँँ, तत्कालीन डिन शिशिर सुब्बालाई भेटेँ, उहाँले कुरा गर्न नै चाहनुभएन ।  म कलङ्कीमा बसबाट झरेर यता ठोक्किँदै, उता ठोक्किँदै त्यहाँ पुगेकी थिएँ । डिन कार्यालय बाहिर निस्केर एक्लै रोएँ । फेरि उहाँको टेबलमा प्रस्ताव छाडेर आफन्तकहाँ गएँ । भोलिपल्ट घर फर्किएँ ।” आफ्नो मनको वह पोख्रेलले यसरी पोखिन् ।  

“केही महिनापछि डिनको कार्यालयबाट फोन गयो, तपार्इँको शोध प्रस्ताव पास भयो । पास त भयो, शोधनिर्देशक को पर्नुभयो होला भन्ने चिन्ताकै बीचमा । काठमाडौँ आएँ र इतिहास विभागका प्रा डा कृष्णवहादुर थापा शोधनिर्देशक हुनुभएकामा खुसी लाग्यो । उहाँ अनामनगरमा बस्नुहुँदो रहेछ । यसपछि विषयसित सम्बन्धित कयौँ पुस्तक सहयोगीलाई पढ्न लगाउँदै सुनेँ । सयौँ पटक चितवन–काठमाडौँ आवतजावत गरेँ । कुनै दुर्घटनामा परिन । शोध कार्य पूरा गरेँ ”उनले भनिन् । 

विसं २०७१ भदौ २९ गते डिनको कार्यालयले उहाँलाई विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । “आँखाले अध्ययन गरेजस्तो कहाँ सजिलो हुन्छ र सुन्ने काम । बिर्सन सकिन्छ ।” पोख्रेलले सुनाए “अझै पनि केही गरुँ जस्तो लाग्छ । स्थायी प्राध्यापक पदमा नाम निकाल्न सकेँ भने मेरो जीवनमा विद्यावारिधि पूरा गरेँ भन्दा ठूलो खुसी केही हुने छैन ।” वाल्मीकि विद्यापीठमा प्राध्यापरत उनका श्रीमान् नारायणप्रसाद तिमल्सिनाले पनि विद्यावारिधि गर्दै छन् । 

रासस

प्रतिक्रिया