Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

जागिरे मानसिकता बोक्ने शिक्षकले पढाउन छाडिदिए हुन्छ : शिक्षामन्त्री पोखरेल

शनिबार, ०८ जेठ २०७३

सिन्धुली – शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जागिरे मानसिकताबाट शिक्षक बाहिर नआएसम्म शिक्षामा सुधार नहुने बताएका छन् । उनले जागिरे मानसिकता बोक्ने शिक्षकले पढाउन छाडि दिए पनि हुने चुनौति समेत दिए ।  शनिबार सिन्धुलीमा आयोजित बृहत् ‘शैक्षिक अन्तरक्रिया तथा गोष्ठी’मा बोल्दै शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

‘शिक्षकको जागिरे मानसिकताबाट शिक्षामा सुधार हुदैन्’ सयौँ शिक्षक तथा प्रधानाध्यापकका आगाडी शिक्षामन्त्री पोखरेलले भने ‘बिहान दश बजेदेखि पाँच बजेसम्म पढाउँदैमा शिक्षक भईदैन् । यहि मानसिकता बोकेर विद्यार्थीलाई पढाउँदै हुनुहुन्छ भने पढाउन छाडिदिए पनि हुन्छ ।’

कर्मचारीको मानसिकताले मात्रै शिक्षामा परिवर्तन नआउने भन्दै उनले शिक्षण पेशालाई मर्यादित र जिम्मेवार बनाउन शिक्षक नै लाग्नुपर्ने बताए । यसका लागी शिक्षकले पार्टीको कार्यकर्ता बनेर राजनीतिक सभा, सम्मेलन, जुलुस, नारामा भाग लिन र पार्टीको संरक्षणमा बस्न छाड्नुपर्नेमा पनि जोड दिए ।

‘शिक्षण पेशालाई मर्यादित बनाउन शिक्षक नै लाग्नुपर्छ । यसका लागी पढाउन छाडेर राजनीतिक दलका कार्यक्रममा जाने, कार्यकर्ता बन्ने, नारा जुलुस लगाउने काम गर्न मिल्दैन् ।’ उनले भने । 

शिक्षकले विद्यार्थीको सिकाई र आफ्नो शिक्षण विधिमा ध्यान दिनुपर्ने भन्दै शिक्षामन्त्री पोखरेलले बरिष्ठताका आधारमा विद्यालयको प्रधानाध्यापक चयन हुने व्यवस्था पनि फेरिन जरुरी रहेको बताए ।

नयाँ शिक्षण विधि अपनाउन पुरानो परम्परा भत्काउनुपर्ने भन्दै उनले शिक्षाको नयाँ सरंचना संघीय राज्यमा बन्ने शिक्षानीति र चाडैँ नै गठन हुन लागेको शिक्षा आयोगमा भर पर्ने पनि बताए ।

‘शिक्षा सुधारका लागी शिक्षाको अहिलेको संचरना पनि परिवर्तन गर्न अनिवार्य छ । तर यसका लागी संघीय राज्यमा बन्ने शिक्षानीति र शिक्षा आयोगमा भर पर्छ’ उनले भने ‘शिक्षा नीति र शिक्षा आयोगमार्फत शिक्षाका समस्याको समाधान गरिन्छ ।’

शिक्षकहरुले अहिले निर्वाह गर्दै आएको भूमिकालाई अलिकति मात्रै परिवर्तन गरे शिक्षामा ठुलो सुधार हुने भन्दै यसका लागी शिक्षक पहिला जिम्मेवार बन्नुपर्ने बताए ।  राजनीतिक सस्कांरले गर्दा केही अप्ठयारो भएपनि आफु शिक्षामा रहेका विभिन्न समस्या समाधानका लागी तत्पर रहेको उनले दाबी गरे । 

शिक्षामा पहुँच, गुणात्मक शिक्षाको अभाव, ज्ञान हस्तान्तरण, प्रविधिमैत्री शिक्षा, समकक्षता, गाउ र शहरबीच शिक्षामा देखिएको दुरी र सार्वजनिक तथा नीजि विद्यालयबीचको बढ्दो दुरी लगायतका ७ समस्या शिक्षामा रहेका मन्त्री पोखरेलको भनाई छ । 

शिक्षकको जिम्मेवारी र लगनशिलताले शिक्षामा देखिएका समस्या समाधान हुने भन्दै उनले अस्थायी शिक्षकमा उमेरले ५० बर्ष नाघेका वा २० बर्ष सेवा गरेकालाई गोल्डेन ह्यान्डसेक दिइने समेत बताए ।

हाल संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितीमा छलफलका क्रममा रहेको शिक्षा विधेयक छिट्टै नै पास हुने भन्दै उनले शिक्षा आयोगका बारेमा अहिल्यै नै भन्न नसकिने बताए । 

कार्यक्रममा सिन्धुलीका जिल्ला शिक्षा अधिकारी बद्री बहादुर पाठकले वर्तमान शिक्षाका समस्या र समाधानका विषयमा आफ्नो भनाई राखेका थिए ।  राजनीतिक, सामाजिक र आर्थिक कारणले गर्दा शिक्षाको विकास हुन नसकेको भन्दै उनले यसको सुधारका लागी सबै एकजुट हुनुपर्नेमा जोड समेत दिए ।

उनले संघीय संरचनाको शिक्षामा स्थानीय स्रोत साधनको परिचालन, जनशक्ति निर्माण र परिचालनका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइरालाले ‘गर्ने हामी प्रधानाध्यापक र शिक्षक मात्रै हौँ’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

शिक्षाविद कोइरालाले प्रस्तुत गरेको कार्यपत्रमाथी विभिन्न समुह बनाएर छलफल समेत भइरहेको छ ।   कार्यक्रममा व्यवस्थापिका संसदका सह–सचिव डा. रोजनाथ पाण्डेले प्रस्तुत गरेको ‘विद्यालय व्यवस्थापनका विविध पक्ष’का बारेको कार्यपत्रमाथी पनि सामुहिक छलफल गरिएको थियो । 

यस्तै गोष्ठीले ८ बुँदे ‘भयरहित शिक्षण सिकाई रणनीति पत्र’ पनि सार्वजनिक गरेको छ । 

तस्बिर : हरि प्रसाद पोखरेलको फेसबुकबाट 

प्रकाशित मिति २०७३ जेठ ८ गते ।

 

प्रतिक्रिया