Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

छोराले बुद्ध भारतमा जन्मेका भनेर पढ्छ : नायक रमित ढुंगाना 

शनिबार, ०८ जेठ २०७३

– विष्णु विवेक /  नेपाल र नेपाली सबैलाई थाहा छ, शान्तिका प्रतिक गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर । तर नेपाल बाहेकका देशमा गौतम बुद्ध नेपालमा होइन् भारतमा जन्मेका भनेर पढाइन्छ । 

धेरै टाढा जानै पर्दैन् । नजिकै रहेको छिमेकी मुलुक भारतका अधिकांश विद्यालयदेखि विश्वविद्यालयसम्म पनि गौतम बुद्ध भारतमै जन्मेका भनेर पढाइन्छ ।  यस विषयमा नेपाली आफै घोत्लिरहेका बेला नायक रमित ढुंगाना अमेरिका पुग्दा ८ कक्षा अध्ययन गर्ने उनकै छोराले समेत बुद्ध भारतमा जन्मेका भनेर पढिरहेका भेट्टाए ।

नायक रमित स्वंयमले गौतम बुद्ध नेपालमै जन्मेका भनेर पढेका थिए । तर उनका छोराले बुद्ध भारतमा जन्मेका भनेर अमेरिकामा पढिरहदा यो भ्रम चिर्न रमित आफै समेत लागे ।  ‘मैले पढेको कुरालाई छोराले आखैअगाडी गलत पढिरहेको छ । यो निकै ठूलो भ्रम हो । जुन विश्वमा नेपालमा जन्मेका बुद्धका बारेमा गलत पढाइदैछ । त्यो पनि अमेरिकामा’ उनले भने ‘यसले मलाई निकै चिन्तित बनायो । र यस किसिमका भ्रमलाई चिर्न फिल्म बनाए ।’

यसकै एउटा स्वरुप उनले ‘बुद्ध बर्न इन नेपाल’ फिल्म समेत निर्माण गरे । जेठ ७ गते शुक्रबार  नेपालभर प्रदर्शनमा आएको यो फिल्मले केही हदसम्म अन्तराष्ट्रिय निकायको ध्यान तान्ने र बुद्धको जन्मस्थान बारेको भ्रम चिर्ने विश्वास नायक रमितमा छ ।

हाम्रो शिक्षा : राष्ट्रियता विहीन 

‘माया नमार’ बाट नेपाली फिल्ममा नायकका रुपमा उदाएका रमित वर्तमान शिक्षाले राष्ट्रियतालाई ‘कभर’ नगरेको बताउँछन् ।  ‘बुद्ध नेपालमै जन्मेका हुन् । यो धुव्रसत्य कुरा पनि अमेरिका र भारतमै रहेका नेपालीले किन बुद्ध भारतमा जन्मेका भनेर पढिरहेका छन् ? यसको बारे कसले सोच्ने ?’ उनले प्रश्न गरे ‘के हाम्रो शिक्षामा राष्ट्रियता छ ?’

‘बुद्ध नेपालमै जन्मेको कुरालाई सरकारले विश्वका सबै मुलुकमा त्यही अनुसार पाठ्यक्रममा सच्याउन किन भनेन्’ उनले प्रतिप्रश्न गर्दै भने ‘सामुदायिक विद्यालयमा पढाई हुने यो कुरालाई अहिलेको पुस्ताले बुझ्न जरुरी छ ।’

२०५२ सालमा काठमाडौँको नयाँ बानेश्वरस्थित अमर आदर्श माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका नायक रमित ढुंगाना नेपालको सामुदायिक विद्यालयको शिक्षाप्रति चिन्तित पनि छन् । 

गुणस्तरको तुलानामा पछिल्लो समय चर्चा परिचर्चा पाउँदै गएका नीजि विद्यालयको विगविगीले नेपालको राष्ट्रियता समेत एकदिन धरापमा पर्ने उनको चिन्ता छ । 

‘सामुदायिक विद्यालय अहिले जुन स्तरमा छन् । यदि यिनको सुधार र स्तरन्नोति भएन भने हाम्रो राष्ट्रियता भोली धरापमा पर्न सक्छ । त्यसैले शिक्षालाई राष्ट्रियतासंग जोड्न र नेपालको पहिचान विश्वमा चिनाउन सामुदायिक विद्यालय सुधार र विकासको विकल्प छैन् ।’ उनले भने । 

हाम्रो शिक्षा विश्वस्तरको भन्दा कम नभएपनि पछिल्लो समय प्रविधिमैत्री हुन नसकेको नायक रमितको भनाई छ । ‘हाम्रो शिक्षा विश्वका कुनै पनि मुलुकको भन्दा कम छैन् । तर पछिल्लो समय डिजिटल प्रविधिको प्रयोग र विकास जुन गतिमा भइरहेको छ । नेपालको शिक्षामा त्यो लागु हुन सकेको छैन् ।’ उनले भने ।

सुधारका लागी मिडियामा बहस जरुरी

नेपाली फिल्म क्षेत्रमा नायकमा चर्चित रमित ढुंगानाले औपचारिक रुपमा स्नातकसम्मको अध्ययन गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पस (आर आर)बाट मानविकी संकायमा स्नातक पढेका उनी शिक्षा सुधारका लागी सञ्चारमाध्यमले बहस चलाउनुपर्ने आवश्यकता औल्याउँछन् । 

‘कसले काम गर्यो गरेन् यसको सही मुल्यांकन मिडियाले गर्न जरुरी छ । शिक्षा सुधारमा पनि त्यही हो । मिडिया स्वच्छ र निरन्तर रुपमा शिक्षामा बहस चलाउन सकेमा सुधार आफैमा सबैका लागी साझा विषय बन्छ ।’ उनले भने । 

तर यसका लागी सम्बन्धित पक्ष र सरकारी निकायले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उनले बताए ।  विद्यार्थी, विद्यालय प्रशासन, शिक्षक र शिक्षाका निकायले शिक्षामा सुधार ल्याउनुपर्ने भन्दै उनले यसका लागी पाठ्यक्रम परिवर्तन गर्न अनिवार्य रहेको बताए । 

‘हामीसंग भएको प्राकृतिक स्रोतसाधन र ऐतिहासिक महत्वलाई हामीले पाठ्यक्रममा राख्न जरुरी छ । जुन कुरा विद्यार्थीले पढोस, जानोस र यसैलाई आफ्नो जिविकोपार्जनका रुपमा पनि प्रयोग गरोस । तर यसका लागी अहिलेको पाठ्यक्रम फेर्नैपर्छ ।’ उनले भने ।

प्रकाशित मिति २०७३ जेठ ८ गते ।

 

 

 

प्रतिक्रिया