Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थी कुर्दै शिक्षक

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । यार्सागुम्बा सिजन सुरु भएसँगै डोल्पाका विद्यालय बन्द हुँदै गएका छन् । विद्यार्थी वर्षभरिको पढाइ खर्च जुटाउन यार्सा खोज्न माथिल्लो भेग पाटनतिर जान थालेपछि विद्यालय बन्द हुँदै गएका हुन् ।  यार्सागुम्बा सिजनमा एक महिनाभन्दा धेरै विद्यालय बन्द भई पठनपाठन प्रभावित हुने भएकाले यस सिजनमा विद्यालय बन्द नगर्न जिल्ला शिक्षा कार्यालयको निर्देशन थियो । 

कार्यालयको निर्देशनअनुसार विद्यालय बन्द नगरेर शिक्षक नियमित विद्यालयमा जाने गरे पनि विद्यार्थी आउन छाडेपछि विद्यालय बन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए । 

जिशिकाले अनिवार्यरुपमा विद्यालय खोल्नुपर्ने भनेकाले विद्यार्थी पढ्न आउने आशमा शिक्षक विद्यालयमा कुर्ने गरेको उनले बताए ।  शिक्षक पाटन नगई विद्यालय जाने गरे तापनि विद्यार्थी आउन छाडेपछि विद्यार्थी कुर्दै ४ बज्ने त्रिपुरा माविका शिक्षक पूर्णकेशर न्यौपानेले दाबी गरे । 

यार्सा सिजनसँगै विद्यालयमा विद्यार्थीको शून्य उपस्थिति रहेको न्यौपानेले बताए ।  विद्यार्थी आए शिक्षक पढाउन तयार रहेकाले पठनपाठन प्रभावित हुनुमा शिक्षक दोषी नभएको उनले जिकिर गरे । 

यार्सा सिजन डोल्पाली विद्यार्थीको कमाइ गर्ने सिजन भएकाले विद्यार्थीलाई रोक्न नहुने सबैजसो अभिभावक र विद्याथीको भनाई छ ।

रासस

 

प्रतिक्रिया