Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

विप्लव माओवादीको जनसभामा बालबालिका ! बालकल्याण समितीको ध्यानाकर्षण

शुक्रबार, ०७ जेठ २०७३

- विष्णु विवेक / दश बर्षे सशस्त्र द्धन्द्धमा मारिएका र बेपत्ता पारिएकाहरुको सम्झनामा शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बिशाल जनसभामा बालबालिकाको प्रयोग गरिएको छ । 

कुनै पनि राजनीतिक सभा सम्मेलनमा बालबालिकाको प्रयोग गर्न नपाइने भएपनि विप्लव माओवादीले विभिन्न विद्यालय र कलेजमै गएर बालबालिकालाई सामुहिक रुपमा र्यालीमा सहभागी गराएर खुलामञ्चमा उतारेको हो ।

‘हामीलाई यसअघि कक्षाकोठामा गएर भनिएको थियो, आज कार्यक्रम छ भनेर । आज पनि सरले विहानै हामीलाई जनसभामा जाउ भनेर पढाउनु नै भएन’ पशुपति क्याम्पसमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीले भने ‘सरले नै जाउ भनेपछि हामी पनि ड्रेस नखोलिकनै कार्यक्रममा आयौँ ।’ 

उनीहरु विद्यालय पोशाकमै कार्यक्रममा आएपनि किताब, कापी र झोला निकै कम विद्यार्थीले मात्रै बोकेका थिए । उनीहरुमध्ये धेरैले किताब कापी विद्यालयमै राखेको बताए  भने केहीले साथीको घरमा राखेको बताएका थिए ।

सभा दिउँसो २ बजेमात्रै शुरु हुने भनिएपनि बालबालिकासहित विद्यार्थीलाई विद्यालयको पोशाकमै बिहानको ११ नबज्दै खुलामञ्च पुर्याइएको थियो । यसरी खुलामञ्चमा आउने विद्यार्थीलाई विद्यालयबाटै सार्वजनिक बसमा हालेर ल्याइएको थियो ।

 

कार्यक्रममा आएका धेरैजसो विद्यार्थीले कुन पार्टी र संगठनले कार्यक्रमको आयोजना गरेको भन्ने समेत जानकारी पाएका थिएनन् । आधा दिनमा समेत नपढाएर विद्यार्थीलाई दलगत कार्यक्रममा जान शिक्षकले समेत प्रेरित गरेको विद्यार्थीको भनाई थियो । 

‘हामीलाई आज कार्यक्रम छ जानुपर्छ भनेर आएका हौँ । कार्यक्रम भनेपछि पढाई पनि भएन् । गाडीमा हालेर ल्याइयो ।’ एक छात्राले भनिन् ।  शुक्रबार दिउसो १ बजेसम्म अध्ययन हुने र त्यसपछि मात्रै अतिरिक्त क्रियाकलाप गराइने भएपनि विहानको ११ नबज्दै विद्यार्थी खुलमाञ्च पुर्याइनुमा शिक्षक, विद्यालय प्रशासन र अभिभावकको चरम लापरबाही देखिएको छ । 

खुलामञ्चमा सबैभन्दा पहिले पशुपति कलेजमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी पुगेका थिए । उनीहरुसंगै अरु थप दुई बसमा नीजि कलेजका विद्यार्थीलाई पनि खुलामञ्चमा उतारिएको थियो । 

कक्षा ९ र १० मा पढ्ने विद्यार्थी भनिएपनि अधिकांश १४ बर्षभन्दा मुनिका देखिन्थे । अन्तराष्ट्रिय बाल महासन्धि अनुसार १४ बर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि राजनीतिक सभा सम्मेलनमा सहभागी गराउनु नेपालले समेत हस्ताक्षर गरेको बाल महासन्धि सम्झौता विपरित मानिन्छ ।

हजारौँको संख्यामा खुलामञ्च पुगेका सर्वसाधारणमा बालबालिका तथा विद्यार्थीहरु कार्यक्रम शुरु हुने बेलासम्म देखिएपनि पछि मुश्किलले भेटिएका थिए ।

सयुँक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धि महासन्धि, १९८९ मा नेपाल पनि हस्ताक्षरकर्ता मुलुक हो । यस्तै विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाचाँ र कार्यान्वयन निर्देशिका २०६८ ले पनि दलगत रुपमा आयोजित आमसभा, नारा, जुलुस, धर्ना, विरोध र्याली लगायतका कार्यक्रममा बालबालिका वा विद्यार्थीलाई सहभागी गराउन नपाइने स्पष्ट उल्लेख गरेको छ ।  

शुक्रबार विप्लव माओवादीको जनसभामा खुलेआम बालबालिकाको प्रयोग हुनु राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी महासन्धीको विपरित भएपनि यो नै नयाँ र पहिलो भने होइन् । 

यसअगाडी पनि धेरैपटक हरेकजसो राजनीतिक सभा सम्मेलन सफल पार्न बालबालिका तथा विद्यार्थीलाई नै निर्बाध प्रयोग गरिने गरिएको छ ।   

विद्यार्थीलाई आमसभामा उतार्ने योजना थियो : अध्यक्ष सिंह 

विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले विद्यार्थीलाई आमसभामा उतार्ने आफ्नो योजना नै तय गरिएको बताए ।

विद्यार्थीलाई विद्यालय पोशाकमै खुलामञ्चमा देखेपछि एडुखबर संवाददाताले क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहसंग बुझ्दा उनले विद्यार्थीलाई जनसभामा सहभागी गराउने निर्णय नै भएको बताए ।

‘हामीले लिखित नभएपनि मौखिक रुपमा जनसभा सफल पार्न विद्यार्थीलाई कार्यक्रममा ल्याउने सल्लाह गरेका थियौँ’ अध्यक्ष सिंहले भने ‘सोही सल्लाहअनुसार विभिन्न विद्यालय र कलेजबाट विद्यार्थीलाई कार्यक्रममा ल्याइएको हो ।’ 

राजनीतिक सभा सम्मेलनमा बालबालिकासहितका विद्यार्थी ल्याउन नपाइने विषयमा उनले प्रतिक्रिया जनाएनन् । बालबालिका विद्यार्थी स्वस्फुर्त रुपमा कार्यक्रममा आएको पनि उनले दाबी गरे ।

‘हाम्रो कार्यक्रममा विद्यार्थी स्वस्फुर्त रुपमा आएका हुन् । यसमा कसैको पनि दबाब छैन् । कार्यक्रम भनेपछि बालबालिका पनि परेको हुन सक्छन् । तर हामीले बालबालिकालाई कार्यक्रम आउन र ल्याउन भनेका थिएनौँ ।’ उनले भने ।

बालअधिकारको उल्लंघनले गम्भिर ध्यानाकर्षण भएको छ : धिताल 

शुक्रबार आयोजित नेत्रविक्रम चन्द विप्लव माओवादीको जनसभा कार्यक्रममा बालबालिकालाई जबर्जस्ती र डर त्रास देखाएर सहभागी गराएको भन्दै केन्द्रीय बालकल्याण समितीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको  छ ।

‘शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावादीले राजधानीमा गरेको जनसभामा बालबालिकाको अत्याधिक प्रयोग गरेको पाएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको छ’ समितीका कार्यकारी निर्देशक तारक धितालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘यसखाले कार्यप्रति हामी भत्र्सना प्रकट गर्छौँ । राजनीतिक दलबाट आफ्ना अभिष्ट प्राप्तिका लागी कलिला बालबालिकालाई प्रयोग गरिनु बालअधिकारको उल्लंघन हो ।’

समितीले यस्ता किसीमका कामले बालबालिकाको अधिकार हनन् भएसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी महासन्धि समेत उल्लंघन भएको जनाएको छ ।  आफ्नो स्वार्थका लागी जर्बजस्ती बालबालिकालाई प्रयोग गरिनु चिन्ताजनक भन्दै समितीले आगामी दिनमा बालअधिकारको उल्लघंन नगर्न आग्रह समेत गरेको छ । 

प्रकाशित मिति २०७३ जेठ ७ गते । 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया