Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नवनिर्मित विद्यालय भवन हस्तान्तरण

विहीबार, ०६ जेठ २०७३

काठमाडौँ, ७ जेठ । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण÷मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको लामाटारमा अवस्थित कालीदेवी माध्यमिक विद्यालय पुनःनिर्माण गरी हस्तान्तरण गरेको छ ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नवनिर्मित भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्दै भूकम्पबाट क्षतिग्रस्त भवन पुनःनिर्माण गरी विद्यालयका बालबलिकालाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनाका साथै शिक्षकशिक्षिकालाई अध्यापन गराउन सहज वातावरण सिर्जना भएकामा धन्यवाद व्यक्त गरे । 

सांसद चन्द महर्जनले त्यस क्षेत्रका लागि सभासद् कोषबाट विभिन्न विकास योजना अन्तर्गत भए गरेका कार्यक्रमबारे जानकारी दिए ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र विष्टले गत वर्षको भूकम्पले विद्यालयका तीन भवन क्षतिग्रस्त बनाएको विद्यालयमा पठनपाठन गर्न गराउन असहज भए पनि विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त भई अस्थायी कक्षाकोठामा राखेर पठनपाठन भइरहेको बताए । 

अभियानका अध्यक्ष रवीन्द्र महर्जनले भूकम्पपछि विद्यालयको भवन क्षतिग्रस्त भई विद्यार्थीलाई असहज वातावरणमा पठनपाठन गराइरहेको अवस्थामा अस्ट्रियन अल्पाइन एसोसिएसनको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण÷मर्मत कार्यक्रम २०७२÷७३ अन्तर्गत पुनःनिर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।  अभियानका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कुल लागत रकम रु एघार लाख ३१ हजार ६०२ खर्च भएको सम्बन्धी सार्वजनिक परीक्षण प्रतिवेदन पेस गरे । 

संस्थाले विद्यालय भवन पुनःनिर्माण÷मर्मत कार्यक्रम २०७२÷७३ अन्तर्गत दोलखाका पाँच, काभ्रेपलाञ्चोकका चार, काठमाडौँका तीन र ललितपुरका १० गरी कुल रु दुई करोड ७५ लाखको लागतमा २२ विद्यालय भवन मर्मत तथा पुनःनिर्माण आगामी असार मसान्तभित्र सक्ने योजनाका साथ काम गरिरहेको छ । 

रासस 

 

प्रतिक्रिया