Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

मेडिकल क्याम्पस : विद्यार्थीलाई घर पठाएर सञ्चालक र कर्मचारीको जुहारी !

विहीबार, ०६ जेठ २०७३

– विष्णु विवेक  / मेडिकल क्याम्पस । त्यसमा पनि अति संवेदनशिल शैक्षिक संस्था । विद्यार्थीको भविष्य निर्माण गर्ने र मानिसको जीवन बचाउने जनशक्ति तयार भइरहने यो क्षेत्र पछिल्लो समय पैसाको जुहारी खेल्ने मैदानमा परिणत भइरहेको छ।  विगत ९ दिनदेखि यस्तै दृश्य काठमाडौको चाबहिलस्थित ओम हेल्थ क्याम्पसमा दोहोरिरहेको छ ।

बिहीबार एडुखबर संवाददता हेल्थ क्याम्पसमा पुग्दा कर्मचारी धर्नामा थिए भने विद्यार्थी घरमा पठाइएको थियो । नयाँ विनियम नबनेको र आफ्नो सेवा सुविधा घटाएको भन्दै क्याम्पसका शिक्षक शिक्षिकादेखि कर्मचारीसम्म काम छाडेर क्याम्पस अगाडी धर्नामा बसेका थिए । 

गएको मंगलबारदेखि विद्यार्थीलाई विदा दिएर क्याम्पस ठप्प पारी सञ्चालकका विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

‘हामीले पटक पटक हाम्रा मागहरुा सञ्चालक सामु राख्यौँ । तर सुनुवाई भएन्’ कर्मचारी युनियनकी अध्यक्ष मीना बानियाले भनिन् ‘तीन महिनासम्म पनि सुनुवाई नभएपछि बाध्य भएर क्याम्पस नै बन्द गरी आन्दोलनमा उत्रिएका हौँ ।’

यो लगायत तेश्रो चोटी क्याम्पसमा आन्दोलन गरेपछि मात्रै माग सुनुवाई गर्ने  क्याम्पस सञ्चालकको पुरानै सोचाई रहेका कारण पनि बाध्य भएर क्याम्पस ठप्प पार्नुपरेको उनको भनाई छ । 

पिसिएल नर्सिङ (तीन बर्षे), विएस्सी नर्सिङ (चार बर्षे), ब्याचलर अफ नर्सिङ (तीन बर्षे), अनमी (१८ महिने) र बिपिएच (चार बर्षे) विषयहरु अध्ययन हुने क्याम्पस १० दिनदेखि पूर्णतया बन्द छ । कर्मचारीले सञ्चालकलाई झुकाउनकै लागी गर्मी विदा भन्दै चार सय विद्यार्थीलाई माग सम्बोधन नभएसम्म क्याम्पस नआउन भनेर घर पठाएर आन्दोलन गरेका छन् । 

‘सरहरु(कर्मचारी) ले आफ्ना माग क्याम्पस सञ्चालकले बेवास्ता गर्दै आएको र बाध्य भएर पढाउन नसकिने भन्दै हामीलाई एकहप्तासम्म विदा भन्दै क्याम्पस नआउन भन्नु भएको छ’ १८ महिने अनमी अध्ययनरत छात्रा छाया केसीले भनिन् ‘पढाई नहुने भएपछि हाम्रै भविष्य समेत अन्योलमा परेको छ ।’

विद्यार्थीलाई पढाउन छाडेर आन्दोलनमा उत्रिएका ६७ जना कर्मचारीहरु दैनिक विहान देखि साझँसम्म क्याम्पसमा आएर धर्नामा बस्ने गरेपनि सञ्चालकले नसुन्ने गरेको युनियनकी अध्यक्ष बानिँयाले गुनासो गरिन् । 

‘मागहरु सुनुवाई गरेको भए पढाउन छाडेर यसरी आन्दोलन गर्नुपर्थेन् । दैनिक यसरी क्याम्पस नै ठप्प हुदाँ पनि सञ्चालक ज्युँले अहिलेसम्म एकबचन सोध्नु भएको छैन् ।’ उनले भनिन् । कर्मचारीले आफ्ना माग सम्बोधनका लागी क्याम्पस ठप्प पारेपछि विद्यार्थीको पढाई भने अलपत्र परेको छ ।

कर्मचारीहरुले नयाँ विनियम अनुसार पारिश्रमिक दिनुपर्ने, सुत्केरी विदा ६० दिनको बनाउनुपर्ने, विरामी विदा बढाउनुपर्ने लगायतका माग राखेका छन् । हाल बर्षमा तिन दिन विरामी विदा र ५१ दिन मात्रै सुत्केरी विदा दिइने गरेको अर्का कर्मचारी दीपक गौतमले बताए । 

क्याम्पसकी सञ्चालक, प्रिन्सिपल तथा निर्देशक सुर्या श्रेष्ठले कर्मचारीको समस्या कुनै नौलो र ठुलो नभएको बताइन् ।  ‘यो समस्या कुनै नौलो र ठूलो होइन्’ उनले भनिन् ‘माग सुनुवाई हुन्छ । क्याम्पस सुचारु हुन्छ ।’

९ दिनसम्म पनि माग सुनुवाई नहुनु र क्याम्पस नखुल्नुको बारेमा उनले आफु पनि अनविज्ञ रहेको जिकिर गरिन् ।  ‘मैले पनि पटक पटक सञ्चालक साथीहरुलाई भनेकी छुँ । तर खोई के हो के हो ? केही बुझ्न सकेकी छैन् । सायद अब चाडैँ हल हुन्छ जस्तो लाग्छ ।’ उनले भनिन् ।

विद्यार्थीबाट मनोमानी शुल्क असुली 

क्याम्पसले मनोमानी रुपमा विद्यार्थीबाट शुल्क समेत लिने गरेको पाइएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई पिसिएल नर्सिङ देखि ब्याचलर अफ नर्सिङ कार्यक्रममा विद्यार्थीबाट झण्डै दोब्बर शुल्क उठाइएको पाइएको हो ।

१८ महिने अनमीका लागी सिटीईभिटीले ७० हजार मात्रै शुल्क तोकेको छ । तर क्याम्पसले १ लाख १४ हजार लिदै आएको छ। 

यस्तै पिसिएल नर्सिङका लागी सिटीईभिटी र विश्वविद्यालयले ३ लाख ९६ हजार तीन सय साठी रुपैया शुल्क तोकेकामा विभिन्न अतिरिक्त शुल्क लगाएर क्याम्पसले ४ लाख १२ हजार लिदै आएको छ ।

विएस्सी नर्सिङमा ६ लाख देखि ८ लाखसम्म लिनुपर्ने भएपनि तर क्याम्पसले १० लाख ५० हजार बढी लिएको छ ।  यस्तै व्याचरल अफ नर्सिङ र विपिएचमा ३ देखि ४ लाख लिनुपर्ने भएपनि अहिले ६ लाख लिदै आएको छ । 

 यसका बारेमा कसैले पनि आवाज उठाउन नसकेको र आफुहरुले पटक पटक भन्दा पनि क्याम्पस प्रशासनले सुनुवाई नगरेको विप्लव निकट अखिल क्रान्तिकारीकी एकाई अध्यक्ष छायाँ केसीले बताइँन् ।

कर्मचारीले पनि तोकिएको भन्दा बढी शुल्क सञ्चालकले उठाउने गरेको तर आफुलाई सेवा सुविधा पर्याप्त नदिएको गुनासो गरे ।  ‘शुल्क त विद्यार्थीबाट निकै चर्को उठाइने गरेको छ’ एक कर्मचारीले भने ‘तर हामीलाई सेवा सुविधा पटक्कै बढाइदैन् । त्यही बाध्यताले पनि आन्दोलन गर्नुपरेको हो ।’

सञ्चालकको मनोमानी  

क्याम्पस सञ्चालक समितीका अध्यक्ष अध्यक्ष डा. धुव्र मुडवरीले कर्मचारीले आन्दोलन गरिरहेको र वार्तामार्फत माग सम्बोधन गर्न लागिपरेको बताए ।  ‘हाम्रा कर्मचारीले केही दिनदेखि आन्दोलन गरिरहेका छन्’ अध्यक्ष मुडवरीले एडुखबरसित फोनमा भने ‘वार्तामार्फत कर्मचारीका माग सम्बोधन गरेर छिट्टै क्याम्पस सञ्चालन गर्छौँ ।’

उनले आफुले मनोमानी शुल्क नलिएको पनि दाबी गरे । तोकिएको शुल्क उठाएको भन्दै अध्यक्ष मुडवरीले बढी शुल्क लिएको भन्ने कुरा हल्ला मात्रै भएको जिकिर गरे ।  ‘हामीले बढी शुल्क लिएकै छैनौँ’ उनले भने ‘विद्यार्थीबाट तोकिएको शुल्क लिएका छौँ । सबै सेवा सुविधा पनि दिएका छौँ । अरु हल्ला मात्रै हो ।’ 

क्याम्पसमा ओम अस्पतालका सञ्चालक तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको मुख्य लगानी छ । क्याम्पसका पूर्व बोर्ड अध्यक्ष रिजालको ५१ प्रतिशत शेयर लगानी छ भने हालका अध्यक्ष मुडवरी, क्याम्पसकी निर्देशक श्रेष्ठ लगायत अन्यको ४९ प्रतिशत शेयर लगानी छ ।  

डा. रिजालले नक्कली प्रमाणपत्र बनाएकी किरण दवाडीलाई क्याम्पस प्रमुख (प्रिन्सिपल) बनाएपछि कर्मचारीले प्रिन्सिपलको राजीनामा माग गर्दा रिजाल आफैले अध्यक्षबाट राजीनामा दिएका थिए ।

रिजालले नक्कली प्रमाणपत्रधारी दवाडीलाई ओम अस्पतालको सुपरभाइजर समेत बनाएका कर्मचारीले बताएका छन् । रिजाल अध्यक्ष छदाँ क्याम्पसमा भएका समस्या चाडैँ हल हुने भन्दै हालका अध्यक्ष मुडवरीले कर्मचारीका कुरा नसुन्ने गरेका कारण हड्तालमा उत्रिनुपरेको क्याम्पसका कर्मचारी दीपक गौतमले बताए । 

ओम अस्पतालमै कार्यरत डाक्टर मुडवरी क्याम्पस सञ्चालक समितीको अध्यक्षका साथै प्रबन्ध निर्देशक (एमडी) पनि आफै छन् ।  २०५५ सालदेखि शुरु भएको क्याम्पसमा अहिले चार सय विद्यार्थी अध्ययनरत छन् । 

क्रान्तिकारीको १९ बुँदे ज्ञापनपत्र

यसैबीच नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले पनि क्याम्पसमा मनोमानी शुल्क लिएको र विद्यार्थीलाई छात्रबृत्ति तथा सेवा सुविधा नदिएको भन्दै बिहीबार १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा पूर्वाञ्चल विश्वविद्यालयका समन्वय समिती इन्चार्ज  नरेन्द्र विकले क्याम्पस सञ्चालकले मनोमानी शुल्क लिएको तर आवश्यक सेवा सुविधा नदिएको गुनासो विद्यार्थीबाट सुनेकाले  चेतावनीका रुपमा आफुहरुले ज्ञापनपत्र बुझाएको बताए ।

‘सञ्चालकहरुले क्याम्पसलाई कमाउने भाडाँे मात्रै बनाएका छन् । विद्यार्थीलाई आवश्यक सेवा सुविधा, छात्रबृत्ति, ल्याबका सामग्री देखि कुनै सेवा पनि प्रभावकारी रुपमा दिएका छैनन् । विद्यार्थीले जति भन्दा पनि नसुनेपछि हामीले १९ बुँदे ज्ञापनपत्र बुझाएका छौँ । अझै पनि हाम्रा माग सुनुवाई भएनन् भने बाध्य भएर तालाबन्दी गर्छौँ ।’ विकले भने । 

क्रान्तिकारीले बिहीबार सञ्चालकसमेत रहेकी क्याम्पस प्रमुख तथा निर्देशक सुर्या श्रेष्ठलाई १९ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्ना माग चाडोँ सम्बोधन गर्न माग गरेको छ । विद्यार्थीबाट मनोमानी शुल्क लिएको र विद्यार्थीबाट सक्कली तथा नक्कली बिल लिने गरेको पनि क्रान्तिकारीका केन्द्रीय सदस्य विकले दाबी गरे । आफ्ना माग सम्बोधन नगरे तालाबन्दीसहित कडा किसीमको आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

क्याम्पस प्रमुख तथा निर्देशक श्रेष्ठले विद्यार्थीका माग पनि कुनै ठुला नभएका भन्दै सकेसम्म छिट्टै पुरा गरिने बताइन् ।

प्रकाशित मिति २०७३ जेठ ७ गते ।

 

प्रतिक्रिया