Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको विस्तारित बैठक सुरु

आइतबार, ०२ जेठ २०७३

काठमाडौँ, ३ जेठ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्रथम विस्तारित बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबारदेखि सुरु भएको छ । बैठकको उद्घाटन गर्दै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको वर्तमान समीकरण भत्काएर मुलुकमा अस्थिरता र अराजकता ल्याउने कोसिस भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नदिन अनेक षडयन्त्र भएको जिकिर गरे ।

‘स्थानीय, प्रादेशिक र संसदीय निर्वाचन हुन नदिनसमेत कोसिस भएको उल्लेख गर्दै चुनावलाई टार्ने र पर सार्ने कोसिस भएको छ, त्यसविरुद्ध विद्यार्थी एकजुट हुन आवश्यक छ’ उनले भने । महासचिव पोखरेलले मत र मन मिल्ने हिसाबले कार्यविभाजन गर्न आग्रह गर्दै परिवर्तित परिस्थतिमा शैक्षिक मुद्दाको पुनःसंरचना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले संविधानको पक्षपोषण गर्ने सन्दर्भमा पनि सङ्गठनभित्र पृथक विचार हुन नहुने कुरामा जोड दिँदै राष्ट्रिय राजनीतिलाई हेक्का राखेर अनेरास्ववियुको कार्ययोजना बनाइनुपर्ने बताए ।  अनेरास्ववियुका अध्यक्ष नवीना लामाले एकमना एकताको पक्षमा बैठक केन्द्रित हुने उल्लेख गर्दै विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर कार्ययोजना तय हुने दाबी गरिन् । 

उनले शैक्षिक प्रमाणपत्रका आधारमा सरकारले ऋण प्रवाह गर्ने विषय स्वागतयोग्य भएको उल्लेख गर्दै शिक्षामा भएको व्यापारीकरण वा सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न सङ्गठन खरो ढङ्गले अघि बढ्ने बताए । 

तीन दिनसम्म चल्ने सो बैठक अनुरास्ववियुको २२ औँ महाधिवेसनपछि पहिलो पटक बस्न लागेको हो । 

रासस 

 

प्रतिक्रिया