Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

विचरा ! शिक्षकहरु पनि 'दिकदार' छन् : गायिका कोमल * वली 

शनिबार, ०१ जेठ २०७३

स्कुले जीवन र नेपालको शिक्षा प्रणालीका बारेमा गायिका, नायिका तथा समाचार वाचिका कोमल वलीको धारणा यसपटकको शनिबारमा 

– विष्णु विवेक /  सामुदायिक विद्यालयमा पठनपाठनको स्तर खस्कियो भन्ने सबै छन् । तर यसको मुख्य जिम्मेवारी बोकेका शिक्षकहरुलाई शिक्षा विकास र सुधारमा प्रेरित गरिदैन् । 

शिक्षकहरुले नपढाएर नै विद्यार्थी अनुत्तीर्ण भए भन्ने गुनासो विद्यार्थी र अभिभावकको छ तर शिक्षाको सुधार विकासमा शिक्षककै रचनात्मक सहयोग कहिल्यै खोजिदैन् । शिक्षकलाई मात्रै दोष दिने सबैको विचार गलत भन्दै गायिका कोमल वली शिक्षकहरु बाध्यात्मक अवस्थामा रहेको बताउँछिन् ।

‘विचरा ! शिक्षकहरु पनि दिकदार छन्’ उनले भनिन् ‘शिक्षालाई शिक्षकले मात्रै विगारेका हुन र ? पढाउन जादाँ न समयमा किताब पुग्छ, न आवश्यक सामग्री ? एउटा किताब दिएर शिक्षकले पढाएन मात्र भन्न मिल्दैन् । फेरी पढाएको कुराको राम्रो मुल्यांकन हुदैन् भने किन मरी मरी पढाउनुपर्यो ?’

सामुदायिक विद्यालयमा शिक्षाको स्तर खस्किनुमा शिक्षकको मात्र दोष नरहेको भन्दै उनले शिक्षकहरुको राम्रै बचाउँ गरिन् ।

‘शिक्षा सुधार र विकास हुन नसक्नुमा शिक्षकहरु मात्रै दोषी छैनन् । शिक्षकहरुले पढाए की पढाएनन् भन्ने अनुगमन कसले गरेको छ ? सबैभन्दा बढी बजेट प्राथमिकतामा शिक्षा पर्छ । तर यसको सदुपयोग खोई ?’ उनले प्रश्न गरिन् । 

आफुले पढाएको सही अनुगमन र त्यसको उपलब्धी संस्थागत हुन नसक्ने भएपछि नै शिक्षकहरु अध्यापनमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ।

रेडियो नेपालकी सदाबहार समाचार बाचिका तथा लोक गायिका कोमल वलीले २०४४ सालमा दाङको तुल्सीपुरमा रहेको महेन्द्र माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् ।

एसएलसी दिएकै बर्ष रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायिका बनेकी वलीले आइए र विएड दाङकै सदरमुकाम घोराईमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट गरेकी हुन् । करिब पाचँ सय बढी गीत गाइसकेकी वलीले राजनीतिशास्त्र र अर्थशास्त्र विषयमा ललितपुरको पाटन सयुँक्त क्याम्पसबाट स्नातकोत्तर गरेकी छन् ।

होमवर्कको सट्टामा गीत गाउने

तुल्सीपुरको महेन्द्र मावि आधारभुत शिक्षा प्राप्त गरेकी वलीको सानैदेखिको इच्छा गायन नै थियो । यतिसम्मकी उनी आफ्नो गायन रुचिलाई देखाउन शिक्षकले होमवर्क गरेर आउन भनेका दिन उनी होमवर्क नगरी कक्षाकोठामा गीत गाएर शिक्षकलाई मख्ख पार्थिन् ।

‘सरले जहिले यो त्यो होमवर्क गरेर आउनु भन्नुहुन्थ्यो । म चाही होमवर्क नगर्ने तर कक्षाकोठामा होमवर्क नगरेको भनेर उठाएपछि गीत गाएर सरलाई मख्ख पारिदिन्थे । कहिलेकाही त आज गीत होइन् होमवर्क नै हुनुपर्छ भनेपछि म कविता सुनाउथेँ या त समाचारको शैलीमा पाठ पढेर सुनाउथेँ ।’ स्कुले जीवनका रमाईला क्षणहरु सम्झिदै गायिका वलीले सुनाइन् ।

खेलाडी, गायिका र नायिका पनि 

कक्षाकोठामा सधै ‘क्याप्टेन’ को जिम्मेवारी पुरा गर्ने वली सानैछदाँ चौतर्फी बालप्रतिभाकी थिइन् ।  उनले तीन पटक दक्षिण एसियाली खेलकुद (साफ) र एक पटक एसियन गेममा समेत एथ्लेटिक्समा भाग लिएकी थिइन् । 

२०४२ सालमा बंगलादेशमा आयोजित साफमा पहिलोपटक सहभागी भएकी वलीले त्यसपछि पाकस्तिान र भारतमा आयोजित साफ गेममा एथ्लेटिक्समा विभिन्न गरी चार पदक जितेकी छन् ।

स्कुलमा छदाँ गायन, नृत्य र खेलकुद क्षेत्र सबैमा उत्कृष्ट गायिका वलीले फिल्म ‘राजनीति’मा अभिनय समेत गरेकी छन् । ‘स्टेज शो’ सांगितिक कार्यक्रमका लागी देश विदेशका विभिन्न ठाउँमा गइरहने वली प्राय गीतहरुमा आफै मोडलिङ समेत गर्छिन् ।

मोडलिङबाटै अभिनय गर्दै आएकी वली तीज तथा लोकदोहोरी गीतमा आफैले मोडलिङ गरेकी छन् ।  यसैक्रममा फिल्म ‘राजनीति’मा अभिनय समेत गरेकी वली बहुप्रतिभा क्षमता भएकी गायिका हुन् । 

बैशाख १२ को भूकम्पमा पनि रातदिन नभनी रेडियो नेपालबाट प्रत्यक्ष प्रसारणमा जुटेर उनले आम मानिसलाई सुचना पुर्याइन् । जसले अहिले पनि कोमल वलीलाई गायिका मात्रै नभई एक कुशल समाचार बाचिकाका रुपमा चिनाइरहन्छ ।  

रेडियो नेपालकी मुख्य समाचार बाचिका समेत रकेही गायिका वली पछिल्लो समय सामुदायिक विद्यालयमा खस्केको शैक्षिक गुणस्तर देखेर चिन्तित छिन् ।

सामुदायिक विद्यालय ‘लायक’ रहेनन्

जति नै टिप्पणी गर्दा पनि कम हुने भन्दै टिप्पणी गर्नै लायक नरहेको अवस्थामा साामुदायिक विद्यालय पुगेको कोमल बताउँछिन् ।  ‘सामुदायिक विद्यालयको अवस्थाको बारेमा जति टिप्पणी गरेपनि कम हुन्छ’ उनले भनिन् ‘सबैले नीजि विद्यालयकै चर्चा, विज्ञापन र बजारमा हल्ला सुनेपछि सामुदायिक विद्यालय त कुरा गर्न पनि लायकका छैनन् ।’

जताततै नीजि विद्यालयको मात्रै चर्चा परिचर्चा चल्दा सामुदायिक विद्यालय सुधारको नाममा पैसा कुम्ल्याउने काम मात्र भइरहेको वलीले जिकिर गरिन् ।  ‘नीजि विद्यालयमा आफन छोराछोरी पढाएर सरकारी विद्यालय सुधारको नाटक गरिन्छ । यही हास्यास्पद छ’ उनले भनिन् ‘सामुदायिक विद्यालय सुधार्ने भन्ने नाममा राम्रैसंग पैसा कुम्ल्याउने बाटो मात्रै भएको छ । यो बन्द गर्नुपर्छ ।’

राजनीतिले निम्त्याएको शिक्षाको व्यापार 

राजनीतिक स्वार्थ हाबी हुदाँ शिक्षामा व्यापार मात्रै भइरहेको भन्दै यसका लागी राजनीतिक पार्टीका नेतृत्व सबैलाई झकझकाउनुपर्ने उनले सुझाईन् ।  शिक्षकले मात्रै गरेर केही नहुने भन्दै सरकारका शैक्षिक निकायहरु नै ‘प्यारालाइसिस’ भएको अवस्थामा रहेको र यसका लागी आम सर्वसाधारण सबैमा जागरण ल्याउनुपर्ने गायिका वली बताउँछिन् ।

‘शिक्षकले मात्रै पढाएर हुदैन् । यो त माथीबाटै पुरै विग्रेको अवस्थामा छ । शिक्षा मन्त्रालयले के गरिररहेको छ। गाँउ शहर जताततै यति पैसा तिरे पछि पढ्न पाइने नत्र नपाइने भन्ने छ । जताततै पैसा मात्र । शिक्षामा राज्यको खर्बौ लगानी कहाँ गइरहेको छ ? किन कसैले खोजी गर्दैन् ?’ उनले प्रतिप्रश्न गर्दै भनिन् ।

सामुदायिक शिक्षा सुधारकै लागी सयौँ सरकारी तथा गैरसरकारी लगायत अन्तराष्ट्रिय संघ संस्थाले लगानी गरेपनि त्यो बालुवामा पानी हाले सरह मात्रै भएको गायिका वलीको दाबी छ ।

सुधारको अभियान चलाउनुपर्छ 

मनभित्रैबाट शिक्षा सुधारमा सबै लाग्नुपर्ने भन्दै उनले यसका लागी बृहत्तर अभियान नै चलाउनुपर्ने बताइन् ।  ‘अब यसले गरेन ? उसले गरेन भन्दा पनि सबैले अभियानमा सहभागी हुनुपर्छ । हिजो जसरी राजनीतिक व्यवस्था नै हामी सबैले फेरेका थियौँ । त्यसरी नै अहिलेको शिक्षाको व्यापार र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । यसका लागी एउटा सशक्त अभियान चलाउनैपर्छ ।’ उनले भनिन् ।

शिक्षक, विद्यार्थी नेता, कर्मचारीदेखि ठुला नेता सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन दबाब दिने सशक्त अभियानको खाचोँ रहेको उनले बताइन् । 

यसका लागी सरकार देखि जनता सबैको सहयोग आवश्यक पर्ने भन्दै उनले ढिलो गर्न नहुने पनि सुझाइन् । अहिलेको शिक्षा सैद्धान्तिक मात्रै भएको र यसलाई प्राविधिक तथा व्यवसायिक बनाउन राजनीतिक नेतृत्वको ध्यानै नपुगेको उनको दाबी  छ। 

‘विद्यार्थीले पढेन, शिक्षकले पढाएन मात्र भनेर पुग्छ । सरकार नै शिक्षा सुधार र विकासमा जिम्मेवार छैन् । नेताहरुले शिक्षामा राजनीति मात्र गरेका छन् । कहिल्यै पनि राजनीतिमा शिक्षालाई चासोको विषय बनाएनन् । त्यसैले यसका लागी सबैजनाले नेताहरुलाई ठुलो दबाब दिन अभियान नै चलाउनुपर्छ ।’ उनले भनिन् ।  

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ जेठ १ गते ।

 

प्रतिक्रिया