Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

कक्षा १ किताब दर्जन !

बुधबार, २९ बैशाख २०७३

काठमाडौं - कक्षा १ मा पढ्ने विद्यार्थीले भारी बोक्छ भन्दा तपाईलाई आश्चर्य लाग्छ होला ! तर, उनीहरु कुस्त भारी बोक्न बाध्य छन् । उपत्यकाका निजी विद्यालयको अनुगमनबाट यो तथ्य पत्ता लागेको हो । शुल्कको अनुगमन गर्न शिक्षा मन्त्रालयले बनाएको टोलीले निजी विद्यालयहरुले मनलाग्दी शुल्क लिएको मात्रै फेला पारेन विद्यार्थी कुस्त भारी बोक्दै विद्यालय र घर गरिरहको पनि पत्ता लगायो ।

तिन दिनमा गरिएको ९ वटा विद्यालयको अनुगमनले एक विद्यार्थीले औसतमा एक दर्जन हाराहारी किताब बोक्ने गरेको फेला पारेको छ । सांसद समेत रहेका निजी विद्यालयको छाता संगठनका नेता उमेश श्रेष्ठ देखि एन प्याब्सनकी नेता गीता राणा सम्मका विद्यालयले विद्यार्थीलाई भारी बोकाएका छन् । अनुगमनमा खटिएका एक सदस्यका अनुसार नक्सालमा रहेको राणाको विद्यालयमा त कक्षा १ मा १६ वटा सम्म किताब बोकाउने गरिएको छ । यस्तै ललितपुरको ठाडो ढुङ्गामा रहेको श्रेष्ठको विद्यालयमा पनि कक्षा १ का विद्यार्थी एक दर्जन धेरै किताव बोक्न बाध्य छन् ।

'साना विद्यार्थीलाई किताबको भारी बोकाएको देख्दा टिठ नै लागेर आयो' अनुगमन टोलीमा सहभागि अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, 'यसले अभिभाकवको आर्थिक शोषण मात्रै हैन विद्यार्थीको मानसिक र शारिरिक शोषण गरिरहेको छ ।' धेरै किताव किन्नु पर्दा अभिभावकको खर्च बढ्ने भएकोले आर्थिक शोषण भएको उनको भनाई छ । यस्तै विद्यार्थीले भारी बोक्नु पर्दा शारिरिक शोषण र धेरै किताव पढ्नु पर्ने बाध्यताले मानसिक शोषण गरेको उनको तर्क छ ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यार्थीले बोक्ने किताव र झोलाको तौल बारे स्पष्ट ब्यवस्था गरिएको छ । परिच्छेद ४ को शैक्षिक व्यवस्था सम्बन्धि बुँदामा पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा उल्लेख गरिएको छ । पाठ्य सामाग्री र खाजा सहित विद्यार्थीको झोलाको तौल समेत तय गरिएको छ । जस अनुसार कक्षा १ देखि ५ सम्म आधारभूत तहका लागि ४ केजी, कक्षा ६ देखि ८ सम्मका लागि ६ केजी र मावि तहका विद्यार्थीका लागि ८ केजी तौल बराबरको झोला हुनु पर्ने उल्लेख छ ।

कक्षा १ का विद्यार्थीका लागि जम्मा ६ वटा किताव राख्न पाहिन्छ । पाठ्यक्रमले निर्धारण गरेको विषयका आधारभूत र सन्दर्भ समेत गरी १ : १ दशमलब ५ का दर भित्र पाठ्यपुस्तक प्रयोग गर्न सकिन्छ निर्देशिकामा उल्लेख छ । यो भन्नाले हरेक २ किताव बरावर एउटा सन्दर्भ राख्न सकिन्छ भन्ने हो । त्यसमा पनि कक्षा १ का विद्यार्थीलाई त्यो पनि आवश्यक पर्दैन । धेरै किताब राख्दा कुस्त कमिसन आउने भए पछि निजीका सञ्चालकहरुले उक्त नियमको धज्जि उडाएका हुन् ।

'शुल्कको अनुगमन गर्ने भनिए पनि हामी विद्यालयका समग्र कुराको अनुगमन गरिरहेका छौं' टोलीमा सहभागी एक कर्मचारीले भने, 'निजी विद्यालयका सञ्चालकहरु जसरी हुन्छ कानून तोड्न पाए हुन्थ्यो भन्ने मानसिकतामा रहे झैं लाग्यो ।'

आफूहरु शिक्षाको विकासमा कृयाशिल भन्ने तर राज्यले बनाएका नीति नियम नमान्ने गर्दा उनीहरु अराजक भएको बताउन पछि पर्नु नपर्ने उनको भनाई छ । विद्यार्थीलाई बोकाएको भारीले यो तथ्यलाइर्ए थप पुष्टि गरेको उनको भनाई छ ।

टोलीले अहिले सम्म नक्सालमा रहेको ग्लालेक्सी र बृहस्पती, अनामनगरमा रहेको अक्सिडेण्टल, पाटनढोकाको रातो बंगला, ठाडो ढुङ्गाको आईडीयल मोडल, बनस्थलीको सिदार्थ बनस्थली, भक्तपुर ठिमीको मात्रृभूमि, सानेपाको शुभतारा र ललितपुर धोविघाटको डिएभीमा अनुगमन गरिसकेको छ ।

तस्विर : गुगल

यो पनि पढ्नुहोस् : निजी विद्यालयको चर्को शुल्क असुली, मन्त्रालय भन्छ ‘विवरण सार्वजनिक गर्छौँ’

प्रकाशित मिति २०७३ बैशाख २९ गते

प्रतिक्रिया