Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

यार्सापाटन जाने विद्यार्थीलाई घुम्ती विद्यालय

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २८ वैशाख । यार्सागुम्बा सिजनको सुरुवात भएसँगै आयआर्जनका लागि डोल्पाको हिमाली पाटन जाने विद्यार्थीलाई लक्षित गरेर यस वर्ष पनि घुम्ती विद्यालय सञ्चालन गरिने भएको छ । 

यार्सागुम्बा सङ्कलनको समयमा शिक्षक, विद्यार्थी, अभिभावक, पशु चौपायासहित सर्वसाधारण गाउँ नै शून्य पारेर पाटन जाने भएकाले यस समयमा विद्यार्थीलाई पाटनमै पढ्ने वातावरण सिर्जना गर्नका लागि चार वर्षयता जिल्लाका विभिन्न पाटनमा घुम्ती विद्यालय सञ्चालन गरिने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिए ।

यार्सागुम्बा सङ्कलन अवधिभर सबै विद्यार्थी तथा शिक्षक पनि पाटनतिरै हुने भएकाले यसलाई मध्यनजर राख्दै कक्षा १ देखि ५ सम्मका किताबसम्बन्धी आधारभूत कुरा तथा वातावरण संरक्षणसम्बन्धी सिकाइने पौडेलले बताए । यसमा स्थानीय विषयअन्तर्गत यार्सागुम्बा कसरी सङ्कलन गर्ने भन्ने विषयमा पनि जानकारी गराइने उनले बताए ।

जिल्लामा सबैभन्दा धेरै सर्वसाधारण जाने यार्सा पाटन माझफाल गाविसको मेली सामुदायिक वनअन्तर्गत ओपा, बागडाँडा, तरपरे, रह गाविसको माटे, पार्वा रुमान, दुनै गाविसको ठाँगे तथा काइगाउँ गाविसको डोप्का जगदुल्लालगायतका स्थानमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

यार्सागुम्बा सङ्कलन अवधिभर ७०० भन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने बताइएको छ । एक महिनाका लागि सञ्चालन गरिने घुम्ती विद्यालयमा डोल्पा जिल्लाका मात्र नभई छिमेकी जिल्ला जाजरकोट, रुकुम, सल्यान, जुम्लालगायतका जिल्लाबाट आएका विद्यार्थीसमेत पढ्न आउने गरेको बताइएको छ । 

पाल टाँगेर बनाइएका घुम्ती विद्यालयमा पढ्नका लागि कापी कलम, मनोरञ्जनका लागि खेलकुदका सामग्रीसमेत कार्यालयले व्यवस्था गर्ने कार्यालयले बताएको छ ।  शिक्षकलाई एक महिना पढाएबापत रु १६ हजार पारिश्रमिकको व्यवस्था गरिने कार्यालयले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया