Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

सीमान्तकृत समुदायकालाई निःशुल्क शिक्षा 

सोमबार, २७ बैशाख २०७३

काठमाडौँ, २७ वैशाख । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को नीति तथा कार्यक्रममा वृद्धवृद्धाका लागि दिवा सेवा कार्यक्रम सुरू गर्ने उल्लेख गरिएको छ । 

त्यसैगरी सरकारले अपाङ्गता भएका व्यक्तिको परिवारका लागि एक जना सदस्यलाई हेरचाहसम्बन्धी र रोजजागरीमूलक तालिम उपलब्ध गराउने भएको छ ।  जनसङ्ख्याको आधारमा महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक तहमा समान सहभागिता सुचिश्चित गराउन नेपाली महिलाको आर्थिक उन्नति र सम्मान गर्न ‘राष्ट्रपति महिला उत्थान’ कायक्रमसमेत सञ्चालन गरिनेछ ।

“लैङ्गिक हिंसा चेलिबेटी बेचबिखनको अन्त्य गर्दै महिलाको आत्मसम्मान र आर्थिक, सामाजिक रूपान्तरणमा योगदान बढाउने गरी कार्यक्रम सञ्चालन गरिने छ”–नीति तथा कार्यक्रममा उल्लेख छ । दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको लागि सबै तहको शिक्षा निःशुल्क बनाइने छ । 

सरकारले ज्येष्ठ नागरिक दीर्घसेवा समान तथा स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरू गर्ने भएको । वृद्धवृद्धाका लागि दिवा सेवा केन्द्र स्थापना गर्न सामुदायिक संस्थासँग सहकार्य गरिनेछ । विपन्न व्यक्ति, परिवार, समुदाय तथा भौगोलिक क्षेत्रका आधारमा परिचयपत्र वितरण कार्य सरकारले सम्पन्न गर्ने छ । 

त्यसैगरी सरकारले मानव विकास सूचकाङ्कका दृष्टिले पछि परेका समुदायलाई लक्षित गरी तराई–मधेसका २० वटा जिल्लाका गाउँ विकास समिति र नगरपालिकाका अतिरिक्त पिछडिएका क्षेत्रमा सचेतना र आर्थिक विकासका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । बालश्रम अन्त्यका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम निवारणका लागि गुरु योजना तयार गरी कार्यान्वयनमा ल्याइने सरकारको योजना रहेको छ । 

रासस 

 

प्रतिक्रिया