Edukhabar
शुक्रबार, ११ असोज २०८१
विचार / विमर्श

सामुदायिक विद्यालय सुधार : प्रधानाध्यापकले सके गरौँ नसके छाडौँ

विहीबार, २३ बैशाख २०७३

– राजेन्द्र अधिकारी /  राजनीतिक अस्थिरताको मार शिक्षामा पनि परेपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु बहसमा छन् । राज्यको सबैभन्दा ठूलो लगानी र दातृ निकायको मुख्य चासो भएपनि सार्वजनिक शिक्षामा उल्लेख्य सुधार भने अझै हुन सकेको छैन् । चालु आर्थिक बर्षमा मात्रै एक खर्ब हाराहारीको बजेट शिक्षामा भएपनि यो बालुवामा पानी जस्तै भयो । कुनै गतिलो काम नभईकनै यस बर्षको बजेट र कार्यक्रम सकिदैछ । तर सामुदायिक विद्यालय सुधारको मुख्य बहस विद्यालयमा भन्दा शिक्षकबीचमा गराउन जरुरी छ । किनकी शिक्षाको सुत्राधार भनिएका शिक्षकले नचाहेसम्म र उनीहरुले नगरेसम्म अनि नगराएसम्म सामुदायिक विद्यालय सुधारको आशा निराशामा परिणत हुँदै जान्छ । शिक्षकको बारेमा कुरा गर्दा दुईओटा विषयमा निकै ध्यान दिन जरुरी छ । पहिलो विद्यालयको शिक्षक तर प्रधानाध्यापक र दोश्रो विद्यालयका शिक्षक मात्रै । पेशा एउटै भएपनि यी दुई शिक्षकबीच आकाश पातालको फरकमा जिम्मेवारी छ । शिक्षक राम्रो र नैतिकवान भएमा कक्षाकोठा व्यवस्थित र उत्कृष्ट विद्यार्थी उत्पादन हुन सक्छन् । विद्यालयको प्रधानाध्यापक सही र दुरदृष्टिको भएमा समग्र विद्यालयकै विद्यार्थी दक्ष जनशक्तिका रुपमा राष्ट्रका निर्माताकार रुपमा जन्मन्छन् । यी दुईबीचको जिम्मेवारी छोटोमा चर्चा गरौँ ।

शिक्षकमा प्रधानाध्यापकको जिम्मेवारी

विद्यालयमा पठनपाठनदेखि सम्पूर्ण विद्यालयको काम कारबाहीको जिम्मेवारी शिक्षकमा हुन्छ । विद्यार्थीलाई के पढाउने, कसरी पढाउने, पढाईसंगै अतिरिक्त क्रियाकलाप कसरी गर्ने, भौतिक श्रोत साधनको अवस्था के छ ? शिक्षकको संख्या कत्ति छ ? पठनपाठनमा कसको कमजोरी देखिएको छ ? यी सबै प्रश्नको सवालजवाफ र जिम्मेवारीको बहन शिक्षक भएर प्रधानाध्यापकले गर्नुपर्छ । वास्तवमा सबै शिक्षकमा पनि एउटा विशेष शिक्षकका रुपमा प्रधानाध्यापक हुन्छ । अरु शिक्षक जस्तै प्रधानाध्यापक पनि शिक्षक नै हो । तर प्रधानाध्यापकले गर्ने काम र जिम्मेवारीमा फरक छ । 

प्रधानाध्यापकले एउटा कक्षाकोठामा पढ्ने विद्यार्थीको भविष्यदेखि समग्र विद्यालय व्यवस्थापनको जिम्मेवारी बोकेका छन् । तर दुःखका साथ भन्नुपर्छ अहिलेसम्म सामुदायिक विद्यालयका धेरैजसो प्रधानाध्यापकहरु कुर्सीमा बस्नलाई र अरु शिक्षकका सामु आफु ‘हिरो’ बन्नलाई मात्रै प्रधानाध्यापक भएजस्तो गर्छन् । कारण उनीहरुले आफु ‘हिरो’ भएकै दिनबाट विद्यालय सुधार र नयाँ कार्ययोजनाको काम भुसुक्कै विर्सन्छन् । शिक्षक संसारकै सबैभन्दा बढी सामाजिक र सम्मानित पेशा हो । यसमा जति सन्तुष्टि र आनन्द अरु पेशामा हुदैन् । तर भूल्न नहुने एउटा कुरा,  यस पेशामा नैतिकताको सबैभन्दा ठूलो भूमिका हुन्छ । त्यसमा पनि प्रधानाध्यापक सबैभन्दा बढी नैतिक र जिम्मेवारी बोक्ने सक्ने शिक्षक हुनुपर्छ । विद्यालयमा एउटा नैतिक र जिम्मेवारी सहज रुपमा पुरा गर्ने शिक्षक मात्रै प्रधानाध्यापक बन्ने हो भने समग्र नेपालकै शिक्षामा धेरै कुराको सुधार हुन सक्छ ।

प्रधनाध्यापक विद्यालयको ‘चेयरमेन’ मात्रै होइन् विद्यालय र विद्यार्थी बनाउने ‘रोल मोडल’ पनि हो । एउटा विद्यालयको समग्र सुधारको मुख्य जिम्मेवारी प्रधानाध्यापकमा निहित हुन्छ । यसमा अरु शिक्षकको भूमिका पनि असिमित छ तर प्रधानाध्यापकको जति भूमिका उनीहरुमा नैतिक रुपमै कम हुन्छ ।  त्यसैले प्रधानाध्यापकले आफु विद्यालयको प्रधानाध्यापक मात्रै हुँ बनेर बस्न जरुरी छैन् । एउटा प्रधानाध्यापकले विद्यार्थीको पठनपाठन, शिक्षकको पुग अपुग, शिक्षकको दक्षता र क्षमता अभिबृद्धि, विद्यालयको भौतिक र आर्थिक स्रोत साधन, शिक्षक, विद्यार्थी र अभिभावकसंगको सम्बन्ध र उत्तरदायित्व लगायतका सबै कुराको जिम्मेवारी पुरा गर्न सक्नुपर्छ । 

यसका लागी दुईओटा कुरामा ध्यान दिनुपर्छ ।  पहिलो प्रधानाध्यापक आफैमा ‘भिजिनरी’ हुुनुपर्छ । एउटा सपना र कार्ययोजना स्पष्ट रुपमा प्रधानाध्यापक हुने शिक्षकसंग हुनैपर्छ ।  जसले शिक्षाको व्यापक अर्थलाई आत्मसाथ गर्दै आएको होस । र अर्को आफ्ना सहकर्मी शिक्षकको क्षमता अनि त्यसको सही प्रयोग गर्ने ‘ओभरअल स्किल’ पनि प्रधानाध्यापक भएको शिक्षकमा हुनुपर्छ । शिक्षकमा भएको क्षमतालाई पूर्ण रुपमा प्रोत्साहन गर्ने त्यसको विकासमा स्वंम शिक्षकलाई प्रेरित गर्ने साहस प्रधानाध्यापकमा अनिवार्य चाहिन्छ । यीसंगै विद्यालयमा भएका विद्यार्थी र घरमा रहने अभिभावकको दुरी घटाउदै जाने र विद्यालयसम्म ल्याएर लगानी गर्ने रचनात्मक उपायका बारेमा पनि प्रधानाध्यापकले नै सोच्नुपर्छ । यसले पनि प्रधानाध्यापक एउटा शिक्षकभन्दा धेरै माथी उठेर शिक्षक, अभिभावक र विद्यार्थीबीचको ‘रोल मोडल’ हो । त्यसैले शिक्षकमा एउटा उत्कृष्ट क्षमता र सोचको जादु भएको व्यक्ति मात्रै प्रधानाध्यापक हुन जरुरी छ ।

राजनीतिक नियुक्तिको ‘ट्याग’

अहिले सामुदायिक विद्यालयका धेरैजसो शिक्षकहरुमा राजनीतिक पहुँच र सम्बन्धकै आधारमा प्रधानाध्यापक बन्ने होडबाजी छ । सक्षम व्यक्ति राजनीतिमा पनि सलग्ंन हुन्छ । शिक्षकले राजनीति गर्न हुन्न भन्ने होइन् । तर राजनीति गर्ने नाममा आफ्नै घेरा पनि तोड्न मिल्दैन् । त्यसैले शिक्षकमा पनि एउटा प्रधानाध्यापक स्वंयमले विकास र विद्यालयको एजेण्डामा पार्टीको सक्रिय कार्यकर्ताको भन्दा परिवर्तनको राजनीति गर्न अनिवार्य छ । अहिले देखिएको पार्टीगत स्वार्थ र हितमा मात्रै राजनीति गर्नु विद्यालय र विद्यार्थीका लागी अपराध सावित गर्नु हो । तर यसलाई सामाजिक र विद्यालयको विकासका लागी हो भने त्यो वरदान सावित हुनसक्छ । 

वर्तमान अवस्थाका सामुदायिक विद्यालय नमुनाका रुपमा चिनिएका केही विद्यालयमा राजनीतिक व्यक्तित्वले नै विद्यालयको गुणस्तर माथी उठाएका छन् । उनीहरुले नै नयाँ नयाँ कार्ययोजना र सोचाईले विद्यालयलाई उत्कृष्ट नमुनाका रुपमा विकास गरेका छन् । यसका लागी प्रधानाध्यापकले राजनीति गर्नैपर्छ भन्ने पनि छैन् । राजनीति नगरेपनि शिक्षाको विकासका लागी चाहिने व्यक्तिसंगको सम्बन्ध कायम राख्न प्रधानाध्यापक हुने शिक्षकले सबैसंग सकारात्मक र सयोगात्मक ‘रिलेसन’ बनाउन जरुरी छ ।

यी काम गरौँ, नसके छाडौँ

शिक्षकमा पनि उत्कृष्ट जिम्मेवारीको नाताले प्रधानाध्यापक भएपछि नैतिक रुपमा धेरै कुराको सुधार ल्याउनुपर्छ । विद्यालयमा पठनपाठनको व्यवस्थामा परिवर्तन, नतिजा सुधार, भौतिक सा्रेत साधनको व्यवस्थापन लगायतका कुरामा केही भएपनि परिमाणमा सुधार र विकास हुनैपर्छ । खासगरी विद्यार्थीको नतिजामा सुधार ल्याउन र विद्यालयको अवस्थामा परिवर्तन ल्याउन नसक्ने प्रधानाध्यापकले कुर्सीमा बसिरहन मिल्दैन् । नैतिकताका हिसाबले पनि राजीनामा दिएर अर्को व्यक्तिलाई काम गर्न छाडिदिनुपर्छ । त्यसैले अहिले भएका प्रधानाध्यापकले कम्तीमा पनि विद्यालयमा यी कुरामा परिवर्तन ल्याउन अनिवार्य छ ।

– विद्यालयको नतिजामा सुधार र विद्यार्थी संख्यामा बृद्धि ।

– शिक्षकलाई क्षमता अभिबृद्धिको तालिम र ‘सेल्फ मोटिभेसन’ ।

– अहिलेको आधुनिक विद्यालय भवन र डिजिटल प्रविधिको प्रयोग ।

– जस्तै कम्प्युटर ल्याब, प्रोजेक्टरको माध्यमबाट पढाई, लाइब्रेरीको विकास ।

– शिक्षकलाई पुरा समय अवधि विद्यालयमै राख्न सक्ने क्षमता ।

– आफु पनि अनिवार्य रुपमा ‘इमरजेन्सी’ बाहेक अरु समय विद्यालयमा बस्नुपर्छ ।

– आर्थिक हिसाबकिताबमा पारदर्शी र अभिभावकको लगानी बढाउने । 

– विद्यार्थीका गुनासालाई सुन्ने र त्यसको तत्कालै समाधान गर्ने ।

– विद्यालयका सबै शिक्षकसंग साप्ताहिक, पाक्षिक र मासिक बैठक र छलफल गर्ने । 

– विद्यार्थीलाई चाहिएको अतिरिक्त क्रियाकलापका सामग्रीको उपलब्धताका लागी सहकर्मी शिक्षक र अभिभावकसंग पर्याप्त छलफल गर्ने । 

– शिक्षण पद्धतिमा सुधार ल्याउन हरेक शिक्षकलाई प्रेरित गर्ने, नयाँ र आफ्नो  शिक्षण विधि अपनाउन लगाउने । 

– उत्कृष्ट काम गर्ने शिक्षकलाई सम्मान र जिम्मेवारी पुरा गर्न नसक्ने शिक्षकलाई सुधारका लागी मौका दिने । सुधार भएन भने सरुवा र राजीनामा दिन सल्लाह र सिफारिस गर्ने ।

– विद्यालयको सुधार तथा विकासका लागी विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवालासंग पर्याप्त रुपमा निरन्तर छलफल गर्ने ।

उल्लेखित यी कुराका सुधार ल्याउन नसक्ने शिक्षक प्रधानाध्यापक हुन सक्दैन् । काम गर्न चाहेपनि प्राविधिक र अरुको सहयोग भएन भने ठिकै छ । नभए सुधार र विकासका लागी पर्याप्त छलफल र काम गर्न जरुरी छ । आफैमा स्पष्ट सोच र क्षमता भएर पनि काम गर्न नसक्ने शिक्षक प्रधानाध्यापक भए त्यसबाट राजीनामा दिएर कक्षाकोठामा पढाएर मात्रै बसे हुन्छ । होइन् भने उचित जिम्मेवारी पुरा गरेर देखाउनुपर्छ । यो नैतिकतालाई ख्याल गरे अहिले केही विग्रिएका र गुणस्तर नभएका भनिएका विद्यालयमा धेरै सुधार आउन सक्छ । यसका लागी कुरा भन्दा काम गर्न आवश्यक छ । (अधिकारीसंग विष्णु विवेकले गरेको कुराकानीमा आधारित) 

अधिकारी टंगाल उच्च माध्यामिक विद्यालय काठमाडौँका प्रधानाध्यापक हुन् ।

प्रकाशित मिति २०७३ बैशाख २३ गते । 

 

प्रतिक्रिया