Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

कक्षा १२ को आंशिकतर्फ अंग्रेजीको परीक्षा स्थागित, केन्द्राध्यक्ष निलम्बित

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ – परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि सोमबारबाट शुरु भएको कक्षा १२ को बैशाख २९ गते हुने अनिवार्य अंग्रेजी विषयको आंशिकतर्फको परीक्षा स्थगित भएको छ ।  जाजरकोटको नारायणी उच्च माध्यमिक विद्यालय कार्कीगाउँमा सोमबार अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रको साटो आंंशिकतर्फको प्रश्नपत्र बाडिएपछि आगामी बैशाख २९ गते हुने सो विषयको परीक्षा ६४ जिल्लामा स्थगित भएको हो ।

विद्यालयका प्राचार्य तथा सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष गणेशकुमार बस्नेतको लापरबाहीले परीक्षा हुनुभन्दा १० दिन अगाडी नै प्रश्नपत्र बाहिरिएपछि ११ जिल्ला बाहेकका परीक्षा केन्द्रमा परीक्षा स्थगित गरिएको परीक्षा नियन्ंत्रक सन्तोष अर्यालले बताए ।

‘प्रश्नपत्र परीक्षा हुनुअगाडी नै बाहिरिएपछि हामीले त्यो दिनको परिक्षा नै स्थगित गरेका छौँ । ११ जिल्लामा सेट फरक परेकाले परीक्षा सोही दिन हुन्छ । तर ६४ जिल्लामा भने परीक्षा नै स्थागित गरेका छौँ ।’ उनले भने ।

कार्कीगाउँमा हिजो सोमबार परीक्षार्थीलाई नियमिततर्फको अंग्रेजी विषयको प्रश्नपत्र वितरण गर्नु पर्नेमा आंशिकतर्फको अंग्रेजी विषयको प्रश्नपत्र वितरण गरिएको थियो । परीक्षा शुरु भएको आधा घण्टापछि विद्यार्थीले गुनासो गर्दा पूनः आंशिकतर्फको प्रश्नपत्र फिर्ता लिएर नियमित तर्फको प्रश्नपत्र बाडिएको थियो ।

बैशाख २९ गते सेट फरक परेकाले आंशिकतर्फ काठमाडौँ, ललितपुर, भक्तपुर, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ गरी ११ जिल्लाका परीक्षा केन्द्र र युगकवि सिद्धिचरण उमावि गाम्नाङटार ओखलढुंगा परीक्षा केन्द्रमा परीक्षा हुनेछ । अन्य ६४ जिल्लामा भने सो विषयको परीक्षा जेठ १३ गते हुनेछ । 



३ सदस्यीय छानबिन समिती गठन

सोमबार भएको परीक्षामा विषय राम्रोसंग नहेरेरै प्रश्नपत्र वितरण गरेपछि उच्च माध्यामिक शिक्षा परिषद सानोठिमीले परीक्षाको सत्यतथ्य छानबिनका लागी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

त्रिविमा कार्यरत अनुपकुमार श्रेष्ठको संयोजकत्वमा पुर्व जिशिअ योगराज भट्टराई र मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतका उपनिर्देशक सदस्य रहेको तीन सदस्यीय समिती गठन गरेको हो । निर्देशनालयले नाम तोकेको छैन् ।

समितीलाई सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ । मंगलबारबाटै समितीका संयोजक श्रेष्ठलाई छानबिनका लागी पत्र दिएर छानबिन शुरु गरिएको उच्च माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र अधिकारीले एडुखबरलाई जानकारी दिए ।

‘हामीले आजबाट नै छानबिन शुरु गर्न भनिसकेका छौँ । श्रेष्ठ जीलाई पत्र दिएर आजैका दिनबाट शुरु गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन आग्रह गरेका छौँ ।’ अधिकारीले भने ।


केन्द्राध्यक्षसहित तिनै जना निलम्बित

परीक्षाको संवेदनशिलतालाई ध्यान नदिएको भन्दै क्षेत्रीय उच्च माध्यामिक शिक्षा परिषदले नारायणी उच्च माध्यमिक विद्यालय कार्कीगाउँका केन्द्राध्यक्ष गणेशकुमार बस्नेतसहित सहायक केन्द्राध्यक्ष र पर्र्यवेक्षक तीनैजनालाई निलम्बन गरेको छ ।

मंगलबार परीक्षा नभएकाले जाजरकोटको परीक्षा समन्वय समितीको बिहान बैठक बसेर तीनैजनालाई निलम्बन गरेको हो ।

उच्च माध्यामिक शिक्षा परिषदको क्षेत्रीय कार्यालय कोहलपुरका प्रतिनीधि देवराज राउतको उपस्थितीमा तीनै जनालाई निलम्बन गरी नयाँ केन्द्राध्यक्ष तोक्ने काम भइरहेको उच्च माध्यामिक शिक्षा परिषद कोहलपुरका प्रमुख अधिकारीले बताए ।

यो पनि पढ्नुहोस 

 

कार्कीगाउँमा नयाँ केन्द्राध्यक्ष नियुक्त


प्रकाशित मिति २०७३ बैशाख २१ गते ।

प्रतिक्रिया