Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

दुर्गम विद्यालयमा पुस्तकालय स्थापना

मंगलबार, २१ बैशाख २०७३

काठमाडौ २१, वैशाख । जुम्लाको अति विकट मानिने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मालिकाबोतामा पुस्तकालय स्थापना गरिएको छ ।  सदरमुकामदेखि ७२ किलोमिटर दूरीमा रहे पनि विद्यार्थीको हितका लागि विद्यालयले ठूलो प्रयासका साथ पुस्तकालय स्थापना गरेको हो ।

बालबालिकाले कक्षामा पढ्ने मात्र नभई आफ्नो रुची र चाहनाअनुसारको ज्ञान सहजै लिन पाउन भन्ने ध्येयले पुस्तकालय स्थापना गरिएको मावि मालिकावोताका प्रधानाध्यापक जयबहादुर रावतले बताए । हामीले निर्माण गरेको विद्यालय सुधार योजनामा पुस्तकालयको अवधारणा ल्याएका थियौँ, भाग्यवश काठमाडौँको ‘हाम्रो सुरुवात’ नामक संस्थाको पहलमा पुस्तकालय स्थापना गर्न सफल भएका छौँ, प्रधानाध्यापक रावतले भने ।

‘हाम्रो सुरुवात’ संस्थाका अध्यक्ष अमृत वैद्यले कर्णालीका बालबालिकाको अतिरिक्त शिक्षा पाउने आकाङ्क्षा परिपूर्ति गर्नका लागि नेपाल–भारत लाइब्रेरी र काठमाडौँका एकता, भूँडीपुराणलगायत विभिन्न वितरक तथा प्रकाशक संस्थाको सहयोगमा एक हजार पुस्तक सङ्कलन गरी मालिकाबोता पठाइएको बताए ।

युवा मिलेर विशुद्ध सामाजिक काममा सहयोग गर्दै आएको बताउँदै अध्यक्ष वैद्यले मावि मालिकावोताका प्रधानाध्यापकसँग सम्पर्क गरेर फेरि पनि सो विद्यालयलाई सक्दो सहयोग गर्ने बताए । उनका अनुसार पुस्तकालयका लागि विज्ञान, साहित्य, कला र समसामयिक विषयवस्तुसँग सम्बन्धित पुस्तक सहयोग गरिएको छ ।

पुस्तकालयबाट छात्रछात्राले विशेष गरी कथा, कविता र उपन्यासजस्ता पुस्तक पढ्न रुची राख्ने गरेको विद्यालयले जनाएको छ । सो विद्यालयमा हाल २५२ छात्र र २६६ छात्रा गरी कुल विद्यार्थी ५१८ जना रहेको छ ।

पवित्र सहयोगीको भूमिका निर्वाह गरेर विकट क्षेत्रका बालबालिकालाई केन्द्रमा राख्ने ‘हाम्रो सुरुवात’ नामक संस्थालाई यो विद्यालयका अध्यक्ष गोपाल रावतले धन्यवाद दिएका छन् ।

रासस

प्रतिक्रिया