Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

पठनपाठनको विकल्पबारे प्रदेश सरकार अन्योलमै, निश्चित क्षेत्र बन्द गरेर शुरु पो गर्ने की !

शुक्रबार, १२ बैशाख २०७७

काठमाडौं - लकडाउनसँगै रोकिएको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रदेश ५ सरकार अन्योलमै रहेको छ । संसारले भोगेको वर्तमान संकटको अवस्थामा के कस्ता  विकल्पमा जान सकिन्छ भन्ने बारेमा छलफल जारी रहे पनि निर्क्र्यौल ननिस्केको प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् ।  जोखिमको अवस्था विश्लेषण गरेर निश्चित क्षेत्र बन्द गरी पठनपाठन शुरु गर्ने की भन्ने विकल्पमा पनि छलफल केन्द्रित रहेको उनको भनाई छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै पठनपाठन सञ्चालन गर्नेबारे प्रदेश सरकारले गरेको तयारीका सम्बन्धमा शिक्षा पत्रकार समूहले गरेको भर्चुअल प्रेस मिटमा उनले यस्तो बताएका हुन् ।

निश्चित क्षेत्र सुरक्षित छ भन्ने यकिन भए पछि आवत जावत बन्द गरेर सुरक्षित तरिकाले पठनपाठनका कार्य गर्न सकिन्छ की भन्ने विकल्पमा पनि छलफल जारी रहेको उनले बताए ।

'निश्चित एरिया सिल गर्ने, विद्यार्थी शिक्षकको स्वास्थ्य परीक्षण गरेर सुरक्षित भएको यकिन भए पछि पठनपाठन शुरु गर्न सकिन्छ की भन्ने बारेमा पनि छलफल भईरहेको छ' उनले भने 'क्याचमेण्ट एरिया तोकेर जुन विद्यार्थी जुन एरियामा छन् त्यस भित्रका विद्यार्थीलाई त्यही एरियामा पढाउने गरी पठनपाठन शुरु गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भईरहेको छ ।'

पठनपाठन भन्दा अघि रोकिएको परीक्षाफल प्रकाशन र सञ्चालनको काम गर्न जरुरी रहेकोले त्यस विषयमा पनि विभिन्न विकल्पमा केन्द्रित रहेर छलफल जारी रहेको उनले बताए । कक्षा ९ सम्मको बार्षिक परिक्षाको नतिजा तुरुन्त प्रकाशित गर्ने र कक्षा १०, ११ र १२ को रोकिएका परीक्षा सञ्चालनका बारेमा पनि विभिन्न विकल्पमा छलफल भईरहेको उनको भनाई छ । आन्तरिक मूल्यांकन, विद्यालयले लिने गरेको त्रैमासिक परीक्षाका आधार तथा अँग्रेजी, गणित तथा विज्ञान जस्ता मुख्य बिषयको मात्रै सानो समुहमा परीक्षा लिन सकिन्छ की भन्ने बारेमा पनि छलफल भईरहेको उनले बताए ।  

वर्तमान अन्योलको अवस्था नेपालको मात्रै नभएकोले विश्वका अरु देशले अपनाएको तथा संघीय सरकारले तय गर्ने विधिका आधारमा प्रदेशले कार्य गर्ने उनले बताए । अवस्था के हुन्छ भन्ने यकिन नभएकाले वितेको एक महिनामा  पठनपाठन सञ्चालन गर्ने बारेका विभिन्न विकल्पमा छलफल भईरहेको भए पनि अन्तिम निष्कर्शमा पुगि नसकेको उनले बताए ।

अवस्था सहज भए पछि पाठ्यपुस्तक ढुवानी गरी विद्यार्थीको हातमा पुर्याउने कामलाई तिव्रता दिने उल्लेख गर्दै उनले यदी अवस्था यस्तै रहेमा शैक्षिक एप्स निर्माण र प्रयोग, टेलिभिजन कक्षा, रेडियो कक्षा र अभिभावक परिचालनबाट सिकाइलाई अघि बढाउनु आवश्यक छ भन्नेबारेमा विभिन्न विकल्प आएको पनि बताए ।

भर्चुअल कक्षा तथा विभिन्न सञ्चार माध्यमबाट गर्ने पठनपाठनमा बालबालिकाको पहुँच के कस्तो हुन्छ भन्ने विषय अध्ययन गरिरहेको बताउँदै उनले ईण्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा नभएका बालबालिकालाई कसरी सिकाउने भन्ने कुरा पनि सोच्ने प्रतिवद्धता व्यक्त गरे ।  भर्चुअल कक्षाका बारेमा बहस भईरहँदा कुनै पनि माध्यममा पहुँच नभएका बालबालिका शिक्षा अधिकारबाट विञ्चत हुने खतरा बढेको भन्दै बेलैमा सचेत हुन जरुरी रहेको शिक्षा अधिकारका क्षेत्रमा कृयाशीलहरुले सुझाव दिदैं आएका छन् ।

प्रदेश ५ मा ४ हजार सात सय सामुदायिक र १ हजार २ सय निजी विद्यालय छन् । यसमा करिव ११ लाख विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयसँग तथ्याङ्क छ ।

समूहका अध्यक्ष तुला अधिकारीले संयोजन गरेको उक्त भर्चुअल प्रेस मिटमा नेपालगञ्ज, दाङ्, रुपन्देही र काठमाडौंका पत्रकार सहभागि थिए । 

प्रतिक्रिया