Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

चिकित्सा आयोगमा ११ जनाको दरखास्त

विहीबार, १६ साउन २०७६

काठमाडौं १६ साउन / दोस्रोपटक गरिएको आह्वानमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ११ जनाले दरखास्त दिएका छन् । ६ जना नयाँ अनुहार र ५ जना पहिलोपटक आवेदन दिएकामध्येकै छन् ।

दरखास्त दिनेमा श्रीकृष्ण गिरी, नीलमणि उपाध्याय, सुरेन्द्र शेरचन, शम्भु पहारी, राजेन्द्रप्रसाद साह, जेएन पाण्डेय, रमेशप्रसाद सिंह, तरुण पौडेल, प्रमोदकुमार शर्मा, यहुनचन्द्र सिवाकोटी र पारसकुमार पोखरेल रहेको आयोगले जनाएको छ ।

दोस्रोपटकको १५ दिने आवेदन म्याद बुधबार सकिएको हो । आवेदकमध्ये उपाध्याय, गिरी, सिंह, पोखरेल र शर्माले पहिलोपटक पनि निवेदन दिएका थिए । लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको उपाध्यक्ष सिफारिस समितिले उनीहरूको आवेदन रद्द गर्दै असार ३१ गते दोस्रोपटक दरखास्त आहवान गरेको थियो । पहिलोपटक आवेदन दिनेमध्ये नीलाम्बर झाले यसपटक दिएका छैनन् ।

सिफारिस समितिले उपाध्यक्ष भएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोचपत्र र व्यावसायिक कार्ययोजनासहित दरखास्त दिन आह्वान गरेको थियो । यसअघि आवेदन दिने उम्मेदवारहरू आयोगको ‘नेतृत्व हाँक्न सक्ने सक्षम र विज्ञ नभएको’ भन्दै आलोचना भएको थियो । समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानबमोजिम पहिलोपटक आवेदन नगरेको भन्दै विरोध भएपछि रद्द गरेर पुनः उम्मेदवारी माग गरिएको हो ।

दोस्रोपटक आवेदन दिनेहरूका लागि दायरासमेत फराकिलो पार्दै विशिष्टीकरण गरिएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, चिकित्सा शिक्षामा ख्यातिप्राप्त व्यक्तिले आवेदन दिन सक्ने मापदण्ड तोकिएको थियो । यसअघि उमेर हद ६४ वर्ष तोकिएको थियो । उक्त उमेर हदका कारण आयोगको नेतृत्व गर्न लायक र सम्भावित उम्मेदवार दरखास्त दिनेबाट वञ्चित भएको भन्दै आलोचना भएको हो । दायरा फराकिलो बनाएपछि ११ जनाले दरखास्त दर्ता गराएका हुन् ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरी २० वर्षको कार्यअनुभव र चिकित्सा शिक्षासम्बन्धी क्षेत्रमा १० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचना आयोगले जारी गरेको थियो ।

चिकित्सा शिक्षा ऐनको दफा ५ बमोजिम गठन हुने चिकित्सा शिक्षा आयोगमा यस क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका मध्येबाट एक जना उपाध्यक्ष हुने प्रावधान छ । समितिले दरखास्त दिएका योग्यमध्ये ३ जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ । आयोगका कुलपति तथा प्रधानमन्त्रीले सिफारिस भएका मध्येबाट १ जना आयोगको उपाध्यक्ष नियुक्त हुने प्रावधान छ ।

कान्तिपुरमा प्रकाशित 

प्रतिक्रिया