Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

सोमबार, ०६ साउन २०७६

काठमाडौं ६ साउन / प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन (भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् । 

पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा दुईवटा प्रमाणपत्र नक्कली हुने गरेको छ । त्यस्ता प्रमाणपत्रधारीलाई ‘तपाईंको प्रमाणपत्र नक्कली हो, पुलिसलाई बोलाइदिऊँ ?’ भनेर पनिकाका कर्मचारीले भनेपछि उनीहरू तत्काल त्यहाँबाट भाग्ने गरेका छन् । त्यस्ता प्रमाणपत्र पनिकाको झ्यालबाट बुझाउँदा कतिपयले हेल्मेट र मास्कसमेत खोलेका हुँदैनन् । प्रमाणपत्र बुझाएको आधा घण्टाभित्रै सत्यापन गर्ने गरिएको छ । 

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नक्कली प्रमाणपत्र भएकाहरूलाई मुद्दा चलाउँदा त्यसको किनारा नलागुन्जेलसम्म भातभान्सा गराउनुपर्ने हुन्छ भन्दै थप्नुभयो, “प्रत्येक दिनजसो नक्कली प्रमाणपत्र फेला पर्छ । मुद्दाको किनारा नलाग्दासम्म त्यस्ताहरू दैनिक थपिँदै जान्छन् । उनीहरूका लागि हाम्रा कर्मचारी प्रहरी चौकीमा दैनिक भात बोकेर जान समस्या छ । त्यसैले बदमासलाई समाएर कारबाही गर्न नसकिएको अवस्था हो । ”

अचेल जागिरमा आवेदन दिन विभिन्न संस्थाले प्रवेशिकाको प्रमाणपत्र पनि सत्यापन गराउनुपर्ने नियम बनाएका छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने वा विदेशमा अध्ययनका लागि जानेका लागि पनि यो अनिवार्य गरिएको छ । 

सरकारी निकाय, बैङ्क, दूतावास आदिले पनि आफ्ना कर्मचारीको प्रमाणपत्रको सत्यापन गराउने गरेका छन् । आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली हो भनेर जान्दाजान्दै पनि त्यस्ता व्यक्ति सत्यापनका लागि पनिकामा पुग्ने गरेकोप्रति त्यहाँका कर्मचारी आश्चर्य व्यक्त गर्छन् । पनिकाका उपसचिव भवराज कोइरालाले भन्नुभयो, “कतिपय त थाहा नपाएर पनि आएका हुन सक्छन् । कतिपय पनिकाको रेकर्डमा फेला परिहाल्छ कि भनेर पनि आएका हुन सक्छन् । ”

सम्बन्धित व्यक्तिले सत्यापनका लागि बुझाएको प्रमाणपत्र नक्कली भएको पाइएमा पनिकाका कर्मचारीले चारित्रिकलगायत अन्य प्रमाणपत्र पनि पेस गर्न लगाउने गरेको र ती सबै पेस गरिएपछि बल्ल उनीहरूलाई नक्कली भएको भन्ने गरेका छन् । उपसचिव कोइरालाले लब्धाङ्कपत्र नक्कली भएको देखिएपछि बाँकी अन्य प्रमाणपत्र माग्ने गरिएको र सबै बुझाइसकेपछि तिनलाई खिच्ने गरेको बताउनुभयो । 

हालै गिरिराज ताम्राकारले सत्यापनका लागि पनिकामा प्रमाणपत्र बुझाएका थिए । उनले काठमाडौँ शिवपुरी माध्यमिक विद्यालयबाट २०६० सालमा एसएलसी परीक्षा उत्तीर्ण भएको प्रमाणपत्रलाई सत्यापनका लागि पनिकामा पेस गरेका थिए । नक्कली भएको देखिएपछि उनीबाट शिवपुरी माविको नामबाट जारी चारित्रिक प्रमाणपत्रसमेत खिच्न पनिका सफल भएको थियो । उनको प्रमाणपत्रमा उल्लेख भएको सिम्बोल नम्बर सबिना बस्नेतको नाममा छ । शिवपुरी माविका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेसँग सोध्दा गिरिराज नाम गरेका आफ्ना विद्यार्थी नभएको बताउनुभयो । 

पनिकामा नेपाली सेनाले बढुवाका लागि आवेदन परेका सैनिकहरू थुप्रैको प्रमाणपत्र पठाएकोमा केहीको नक्कली भएको फेला परेको थियो । अहिले भारतीय दूतावासले करिब एक हजार जनाको प्रमाणपत्र सत्यापनका लागि पनिकामा पठाएको छ ।

गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया