Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

मृतकका बाबुले दिए जाहेरी, शिक्षक दोषी नभएको निष्कर्ष नजिक प्रहरी

सोमबार, ०९ असार २०७६

ललितपुर - वागमती गाउँपालिका माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत समीर लुङ्वाको मृत्युका विषयमा अनुसन्धान गर्न माग गर्दै मृतकका बाबु सुकबहादुर लुङ्वाले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । 

कक्षा ५ मा अध्ययनरत ११ बर्षका समीरको शव शनिबार राती उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । पाटन अस्पतालमा पोष्ट मार्टम गरे पछि सोमबार स्वयम्भुमा उनको अन्तेष्टि गरिएको छ ।

घटनाको प्रकृती, प्रहरीको प्रारम्भिक अनुसन्धान र समीरका अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुसँग भएको छलफलका आधारमा उक्त घटना आत्महत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको छ । पोष्ट मार्टमको अन्तिम रिपोर्ट नआईञ्जेल यकिन भन्न नसकिए पनि अन्य अवस्था र प्रारम्भिक अनुसन्धानले आत्महत्या हुन सक्ने आधार धेरै बलियो देखिएको चापागाउँका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजुले बताए । 

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले फेला परेको एउटा कागज (सुसाईट नोट) मा परिवार र शिक्षकहरुबाट माया नपाएको कुरा लेखिएको आधारमा प्रहरीले शिक्षकहरु गोविन्द तिमिल्सिना, दिवाकर लामिछाने र सरस्वती घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

पढ्नुहोस् : कक्षा ५ मा अध्ययनरत विद्यार्थीको 'सुसाईट नोट' ! आरोपित तीन शिक्षक प्रहरी हिरासतमा

उक्त कागजमा 'मन नपर्ने सर मीस' भन्दै तीन जनाको नाम लेखिएको र उनीहरुले 'केटिहरुलाई नपिट्ने तर केटाहरुलाई मात्रै पिट्ने' गरेको कुरा लेखिएको खिउजुले जानकारी दिए ।  

'हुन त पोष्ट मार्टमको अन्तिम रिपोर्ट आईसकेको छैन, तर दुई दिन सम्मको हाम्रो अनुसन्धान र घटनाको प्रकृती हेर्दा यसमा शिक्षकहरु मात्रै हैन अरुको समेत संलग्नताको आधार देखिएन' उनले एडुखबरसँग भने, 'उनको साथमा फेला परेको कागजको टुक्रोमा लेखिएको विवरणकै आधारमा कसैलाई हत्यामा संलग्न थियो भन्न त सकिएन नी ।'

पालिकाका अध्यक्ष विरबहादुर लोप्चनले घटनाका बारेमा स्थानीय सरकारले चासो लिएको र प्रहरीलाई सत्य तथ्य सार्वजनिक गर्न निर्देश गरेको बताए । यसका लागि घटना भएको वडा नम्बर २ का वडाध्यक्ष विजयकुमार लोले संयोजन गरेको उनले बताए । 

'साह्रै नराम्रो घटना भयो, अब त्यसको सत्य तथ्य यकिन गर्नु पर्ने काम बाँकी छ'  लोले भने, 'यसका लागि प्रहरीले गम्भिरताका साथ काम गरेको छ, अहिले सम्म प्रहरीको अनुसन्धानबाट आत्महत्या नै भएको आधार बलियो देखिएको बताईएको छ ।'

घटना शनिबार रातीको भए पनि वर्षाका कारण बाटो भत्किएकाले आईतबार मात्रै घटनास्थल पुगेको चापागाउँ प्रहरीले अनुसन्धान शुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेको एउटा कागज (सुसाईट नोट) मा परिवार र शिक्षकहरुबाट माया नपाएको कुरा लेखिएको आधारमा प्रहरीको अनुसन्धान शिक्षकहरु केन्द्रित भएको थियो । 

शिक्षकहरुको दवावका कारण घटना भएको हुन सक्ने शंकाको प्रतिवाद गर्दै विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईले आफ्नो विद्यालयका शिक्षकहरुले कहिल्यै पनि विद्यार्थीलाई गाली गर्ने, पिट्ने नगरेको दावी गर्छन् । विद्यार्थीलाई पिट्ने त परको कुरा शिक्षकले लौरी लिएर तर्साउने सम्म गर्न निषेध गरिएको बताउँदै उनले बालमैत्री वातावरणमा पठन पाठन हुने कुरा विद्यालयमा जडित सीसीटिभी क्यामेराको रेकर्ड हेर्दा थाह हुने पनि बताए । 

प्रतिक्रिया