Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप

शनिबार, २८ बैशाख २०७६

काठमाडौं २८ बैशाख / सिन्धुलीको फिक्कल गाउँपालिका–३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरू राती घरमा सुतिरहेको अवस्थामा यौन दुर्व्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरूका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

बाल यौन दुर्व्यवहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।

चण्डिका माध्यमिक विद्यालय चनौटेमा ७(९ कक्षामासम्म अध्ययनरत चार किशोरीहरूलाई वैशाख १३ राती यौन दुर्व्यवहार गर्न खोजेको पीडित किशोरीहरूले बताएका छन् । ‘हामी दिदीबहिनी सुतिरहेका थियौं । ढोका ढकढक गरेको आवाज आयो, को हो ? भन्दाभन्दै सरले लात्तिले हानेर ढोका खोलिसक्नुभएछ ।’ उनीहरूले भने, ‘सर लुगा नै नलगाई आउनुभएको रहेछ । हामी आत्तिएर यतिबेला किन आउनुभयो सर भन्दा तिमीहरूसँगै बस्न आएको काली भन्नुभयो र जबरजस्ती गर्न लाग्नुभयो । हामीले चिच्याएपछि बुबाआमा र अरू छिमेकीहरू पनि आएपछि भने सर भाग्नुभयो ।’

शिक्षक पहाडीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा वैशाख २० गते जाहेरी दरखास्त दिँदा पनि पक्राउ नगरेकाले प्रजिअसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले शिक्षक चिरञ्जीवी पहाडी फरार रहेकाले खोजी कार्य जारी रहेको बताए । प्रहरीले पहाडीको घर र उनको आफन्तहरूकोमा समेत पटकपटक खोजतलासी गर्दा फेला नपरेको उनले बताए ।

कान्तिपुरबाट

प्रतिक्रिया