Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

मातृभाषा सिक्दै कुसुन्डा

आइतबार, २२ बैशाख २०७६

काठमाडौं २२ बैशाख / कुसुन्डा भाषा सिकाउन दाङ्को लमहीमा पहिलो चरणको कक्षा सञ्चालन भएको छ । ९० घण्टाको पढाइमा सहभागी २० जनामध्ये १७ जना कुसुन्डा थिए । तीन जना अन्य समुदायका थिए । सुर्खेत, रोल्पा, प्यूठान र दाङबाट आएका उनीहरू कुसुन्डा भाषामा बोल्न र लेख्न सक्ने भएका छन् । भाषा सिक्नेमा बालबालिकादेखि वयस्कसम्म थिए । 

पहिलो चरणमा खानपिन, सरसफाइ, नातागोता, घरायसी व्यवहार जस्ता आधारभूत विषय सिकाइएको शिक्षक उदय आलेले बताए । 'एक/दुई जनाबाहेक अधिकांश बोल्न र लेख्न सक्छन्,' उनले भने, 'आधारभूत कुरा जान्न सक्ने भए । अब देास्रो चरणको कक्षा चल्छ ।' दोस्रो चरणमा कक्षा पनि ९० घण्टाको सुरु हुँदै छ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी भाषा सिकाइनेछ ।

तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहित विज्ञ बन्नेखालकोशिक्षा दिने योजना बनाइएको आलेले बताए । 'घरमा बसेर भाषा बच्दैन । घरमा बोलचाल नहुने भएकाले बिर्सिन्छन्,' उनले भने, 'अब एकैठाउँमा राखेर पढाउने तयारी भइरहेको छ ।एकै ठाउँमा हुँदा नियमित बोल्न र अभ्यास गर्न सहज हुन्छ ।'

कुसुन्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २ सय ७३ जना कुसुन्डा छन् । उनीहरूमध्ये कुसुन्डा भाषा जान्ने लमही नगरपालिका ६ कुलमोडमा बस्ने ८१ वषर्ीया ज्ञानीमैया र ४३ वर्षीया कमला कुसुन्डा मात्रै हुन् । उनीहरू भाषाका स्रोत भएका छन् । उनीहरूकै सहयोगमा ज्ञानीमैयाकै घरमा कक्षा चलाइएको छ । कक्षा चलाउने गैरकुसुन्डा छन् । कुसुन्डा जातिमा भाषा जानेका मान्छे कम भएकाले यसको संरक्षणमा समस्या भएको छ । पढेलेखेका मानिसहरू कोही नहुँदा भाषाबारे अध्ययन गरेका आले कक्षा सहजकर्ता भएका हुन् ।

चार चरणमा ३ सय ६० घण्टाको कक्षा सञ्चालन गर्ने योजना छ । 'सबै चरणमा ९०/९० घण्टाको पढाइ हुन्छ । चार चरण पार गर्दा भाषाका पूर्ण जानकार हुन्छन्,' भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भने, 'लोपोन्मुख भाषा बचाउनु सबैको दायित्व हो ।'

कुसुन्डा विगतमा जंगलमा फिरन्ते जीवन बिताउँथे । बास बस्न जंगलमा ओढार खोज्दै हिँड्थे । गाउँमा पसेर भिक्षा माग्थे अनि फेरि जंगलमै फर्केर खान्थे । समाजमा बस्ने, आफ्नै घरबास बनाउने, सम्पत्ति कमाउने जस्ता विषयमा उनीहरूलाईकुनै चासो थिएन ।

आफ्नै भाषा, संस्कृति र परम्परा थियो । लामो समयपछि उनीहरू गाउँ बस्न थाले पनि आफ्नै जग्गा छैन । जंगल बसेकाले निजी सम्पत्ति भएन । जंगलबाट गाउँ पसेका कुसुन्डा विभिन्न ठाउँमा छरिएर बसे, जसका कारण भाषा प्रयोगमा आउन सकेन । भाषा संकटमा परेपछि बचाउन कक्षा सञ्चालन गरिएको हो ।

कक्षा लिएपछि कुसुन्डा भाषा बोल्न जानेको घोराही उपमहानगरपालिका-५ धर्नास्थित महेन्द्र माविमा ७ कक्षा अध्ययनरत प्यूठानका रमेश कुसुन्डाले बताए ।

कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् । 

प्रतिक्रिया