Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

पास गराईदिने भन्दै शिक्षकले उठाए रकम, अख्तियारद्वारा मुद्दा दायर

सोमबार, २७ फागुन २०७५

काठमाडौं - परीक्षामा पास गराईदिन्छु भन्दै रकम उठाउने शिक्षक अख्तियारको फन्दामा परेका छन् । भ्याली कलेज अफ टेक्निकल साइन्समा पढाउँदै आएका शिक्षक खेमराज शाही विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ संकायको परीक्षामा पास गराउने भन्दै शाहीले प्रतिव्यक्ति पच्चीस हजार रुपैंया उठाएको अख्तियारको दावी छ । 

गत असोज महिनामा लिइएको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीहरूबाट रकम लिइ खाएको भन्ने महानगरीय प्रहरी परिसर, टेकुबाट आयोगमा दर्ता हुन आएको उजुरीको अनुसन्धान हुँदा उक्त घटना पुष्टि भएको अख्तियारले जनाएको छ । 

उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शाहीले आफ्नो साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरालसँग मिलेमतो गरी उक्त कार्य गरेका थिए । 

आफूलाई परीक्षण गर्ने जिम्मेवारीका साथ आएको उत्तरपुस्तिकामा फेल भएका परीक्षार्थीहरूसंग आर्थिक लेनदेन गरी परीक्षाको नतिजा फेरबदल गर्ने गलत मनशाय राखी, परीक्षार्थीहरूसँग सम्पर्क गर्ने कार्यमा भाटलाई लगाई केही परीक्षार्थीसँग तत्काल र केहीसँग पछि पैसा लिने शर्तमा काम भएको अख्तियारको दावी छ ।

'परीक्षामा सहभागी ६ जना अनुत्तिर्ण परीक्षार्थिहरुको उत्तरपुस्तिकामा आफैले तथा, निज अर्जुन भाट र प्रवेग कोइराललाई लेख्न लगाई अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराई परीक्षार्थीबाट रकम लिई एक आपसमा बाँडफाँड गरी खाएको' अख्तियारको दावीमा भनिएको छ 'शाहीसँग एक आपसमा मिलेमतो गरी परीक्षार्थिहरुलाई करकाप तथा प्रलोभनमा पारी आर्थिक लेनदेन गरी परीक्षार्थीहरूबाट रकम लिई एक आपसमा बाँडफाँड गर्ने मनशायका साथ परीक्षाको नतिजा फेरबदल गर्ने कार्यमा मतियार भई निज अर्जुन भाट र प्रवेग कोइरालले समेत कसुर गरेको देखिन आएको छ ।'

उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सजाय हुन मागदाबी सहित अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

 

प्रतिक्रिया