Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

शैक्षिक भ्रमणमै विद्यार्थीको निधन, लापरवाहीको आरोप, कलेज प्रतिनिधि भन्छन् - वार्गेनिङ् गर्न खोजियो !

आइतबार, २६ फागुन २०७५

काठमाडौं - कलेजको लापरवाहीका कारण आफ्ना छोराको ज्यान गएको भन्दै  द ब्रिटिश कलेजलेका विद्यार्थी स्व. गौरव श्रेष्ठका बाबु महेन्द्र श्रेष्ठले घटनाको जिम्मेवारी कलेजले लिनुपर्ने माग गरेका छन् । शैक्षिक भ्रमणका लागि भन्दै थापाथली स्थित उक्त कलेजले विद्यार्थीलाई दुवई लिएर गएको थियो । सोही क्रममा गत फागुन २ गते गौरवको निधन भएको थियो ।

घटना पछि कलेजले पौडी खेल्ने क्रममा गौरवको निधन भएको आफूलाई खबर गरेको शनिवार पत्रकार सम्मेलन गरेर श्रेष्ठले जानकारी गराएका छन् । 

'छोरा हराएको ८ घण्टा पछि मात्रै खोजि गर्नु नै रहस्यमय छ, उनले' भने,‘सँगै गएको विद्यार्थी हराएको घण्टौ सम्म पनि थाह नहुनु नै आश्चर्य र अत्यन्तै दुःखदायी कुरा हो, ८ घण्टा पछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’

भ्रमण दलमा सहभागी कलेजका शिक्षकहरु रिना श्रेष्ठ र नविना महर्जन तथा गौरवसँगै समुन्द्रमा पौडी खेल्न गएका भनिएका उनका साथी निषेश सुवेदीको कुरा नै फरक परेकोले घटनामा कलेजको लापरवाही पुष्टि भएको उनको तर्क छ ।  

'भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई कलेजले किन सहभागी गरायो ?' श्रेष्ठले पत्रकार सम्मेलनमा प्रश्न गदै भने, 'छोराको शब नबुझ्दा सम्म कलेजले निकै चासो देखाएको थियो तर दाहसंस्कार गरिसके पछि वास्तै गर्न छाडेको छ ।' 

कलेजले आफूलाई उल्टै अभद्र व्यवहार गरेको, कलेज सम्वद्ध व्यक्तिहरुले अपशब्द बोलेको र घटनाबारे प्रहरी परिसर, टेकुमा जाहेरी गरि सक्दा पनि चित्त बुझ्दो पहल नभएको उनको गुनासो छ । 

कलेजका प्रमुख कार्यकारी नरेन्द्र कँडेल हाल लण्डनमा रहेको सुनाउँदै उनले तुरुन्त काठमाडौं आई आफूसँग सम्पर्क गरि छलफल गर्न माग समेत गरेका छन् । 

श्रेष्ठको पत्रकार सम्मेलन पछि एडुखबरले कलेजका जिम्मेवार प्रतिनिधिसँग सम्पर्क गर्न कोशिस गरेको थियो । सम्पर्कमा आएका व्यक्तिले यस बारेमा आफूलाई विस्तृत जानकारी नभएकोले अरुण जोशीलाई सम्पर्क गर्न सुझाव दिए पनि शनिबार दिनभरी उनले टेलिफोन उठाएनन् । आईतबार बल्ल सम्पर्कमा आएका जोशीले अभिभावकले वार्गेनिङ् गर्न खोजेको शंका गरेका छन् । घटनालाई दुर्घटना भन्दै यस बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए । 

'घटनाले हामीलाई पनि दुख लागेको छ, उहाँहरुसँग घटनाका बारेमा कुरा गरेर नै हामीले शव परिवारको जिम्मा लगाएर पठाएका हौं' उनले भने '१३ दिनको काम सके पछि अहिले अकस्मात उहाँहरु मिडियामा आउनु भएछ हामीलाई आश्चर्य लागेको छ ।' 

घटनाको एक महिना पछि परिवारले घटनाको बारेमा सार्वजनिक अभिव्यक्ति दिए पछि बल्ल कलेजले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गर्नुलाई गौरवका आफन्तले आश्चर्य भनेका छन् । 

'यतिका दिन सम्म कुनै कुरै नगर्ने कलेज हामीले पत्रकार सम्मेलन गरेपछि बल्ल घटनाबारे सार्वजनिक गर्छु भन्नुले नै घटनालाई थप शंकास्पद बनाएको छ' एक जना आफन्तले भने, 'शव नबुझ्दा सम्म निकै चासो देखाए पनि दाहसंस्कार गरिसके पछि कुनै वास्ता नगर्नुको कारण कलेजको मनस्थिती नै कुत्सित रहेको पक्का भएको छ ।'  

स्व. गौरवका बाबु उक्त कलेजले शिक्षाका नाममा व्यापार गरेको र कमाउनकै लागि विद्यार्थीलाई विदेश भ्रमणमा लैजाने गरेको दावी गर्छन् । 

‘कलेजले विद्यार्थीसँग मोटो रकम असुलेर व्यापारीकरण गरिरहेको छ, यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस्’ उनले भने, 'छोराको शव घर पठाउँदा समेत कलेजले ब्यापारकै शैली अपनाएको थियो, सुरुमा कलेजले छोराको शव पठाउँछु भन्यो, तर पछि फोन गरेर शव बाहनको पैसा समेत हामीलाईनै तिर्न भन्यो, पैसा तिर्नु ठूलो कुरा होईन, तर कलेजले अमानवीय व्यवहार देखायो ।’ 

प्रतिक्रिया