Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

राहतको आन्दोलनमा पूर्व शिक्षा मन्त्रीको समर्थन, विगतको मानक अन्य शिक्षकले खोज्नु स्वभाविक

सोमबार, २० फागुन २०७५

काठमाडौं - स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको आन्दोलनमा पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले समर्थन जनाएका छन् । आईतबार आयोजित शिक्षकको प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गर्दै पौडेलले सम्वादद्वारा मागहरु सम्बोधन गर्न र उनीहरुलाई चित्त बुझाएर कक्षा कोठामा फर्काउन सरकारसँग माग समेत गरेका छन् । 

'हिजो अस्थायी शिक्षकको व्यवस्थापन गर्ने सन्दर्भमा सरकारले अपनाएको विधि, प्रकृया, मानक र कानुनी व्यवस्था अन्य शिक्षकहरुले पनि खोज्नु अस्वभाविक होइन' सामाजिक सञ्जाल मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले भनेका छन्, 'समय सन्दर्भसहित के गर्न सक्ने के गर्न नसक्नेबारे संवादबाट निष्कर्षमा पुग्नु सरकारको दायित्व र अभिभावकीय जिम्मेवारी दुवै हो ।' 

नेकपाका नेता समेत रहेका पौडेल शिक्षा मन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् । यस बारेमा मन्त्री पोखरेललाई उनले के कस्तो राय र सुझाव दिएका छन् भन्ने बारे कुनै उल्लेख नगरीकन पौडेलले शिक्षकहरूसँग सरकारको सम्वादको ढोका बन्द हुनु बिडम्बना भएको उल्लेख गरेका छन् । 

'आफ्ना मागको सुनुवाईको लागि सरकारको ध्यानाकर्षण गर्न सडकमा आएका राहत कोटा एवं प्रारम्भिक बाल शिक्षाका शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी बलको सहारा लिएर दमन गर्नु सरकारको मनासिव काम हुनै सक्दैन र होइन' उनले भनेका छन्, 'अझै पनि वार्ताको टेवुलमा बसेर संवादद्वारा जायज मागहरु सम्बोधन गर्न र उनीहरुलाई चित्त बुझाएर कक्षा कोठामा फर्काउन म नेपाल सरकारसँग आग्रह गर्दछु ।' 

हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशभर बाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन् । 

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित  गर्ने प्रस्तावित प्रावधानमा उनीहरुको आपत्ति छ । 

यो पनि पढ्नुहोस् : शिक्षकको प्रदर्शनमा प्रहरीको लाठिचार्ज र पानीको फोहोरा 

प्रतिक्रिया