Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पुस्तक प्रदर्शनीमा पठन संस्कृतिको चर्चा

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ । पठन संस्कृतिको विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।  घोस्ट राइटिङ नेपालको आयोजनामा हालै भएको अन्तरक्रियामा साहित्यकार र पत्रकारले यस्तो बताएका हुन् ।  

पुस्तक प्रदर्शनीअन्तर्गत भएको अन्तरक्रियामा साहित्यको अध्ययनबाटै पत्रकारको भाषा र लेखनमा निखार आउने भएकाले पत्रकारले साहित्य पढ्नु जरुरी रहेको उनीहरुको भनाइ थियो ।   कार्यक्रममा प्राज्ञ विवश पोखरेलले समाजको बौद्धिक वर्गका रुपमा चिनिएको पत्रकारले अध्ययनको दायरालाई फराकिलो पार्नुपर्ने बताउनु भयो । पठन संस्कृतिको विकासले सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने उनको कथन थियो ।  

अग्रज पत्रकार अनन्तराज न्यौपाने, मोहन भण्डारी, यज्ञ शर्मा, सन्देशदास श्रेष्ठ, लीलावल्लभ घिमिरे, मीनकुमार नवोदित लगायतले साहित्यको अध्ययनबाट मात्रै पत्रकारको कलम बलियो हुने धारणा प्रकट गरे ।  पठन संस्कृतिको विकासमा समेत पत्रकारको महत्वपूर्ण भूमिका हुने उहाँहरुको धारणा थियो ।  

कार्यक्रमको उद्देश्यमाथि घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले प्रकाश पारेका थिए । उनले देशका अन्य स्थानमा गर्ने प्रदर्शनीमा पत्रकारिता र साहित्यसम्बन्धी अन्तरक्रियालाई निरन्तरता दिने उल्लेख गरे । रासस

 

प्रतिक्रिया