Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

अभिभावकले चलाए बालशिक्षा

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ २३ बैशाख ।  दिक्तेल नगरपालिका ६ सोल्मास्थित बन्द विद्यालयमा अभिभावकले बालविकास केन्द्र सञ्चालन गरेका छन् ।  कार्यरत शिक्षकको अनियमितता र अभिभावककै वेवास्ताका कारण दुई वर्षअघि बन्द भएको बालकन्या प्राविमा अभिभावकले बालविकास केन्द्र सञ्चालनमा ल्याएका हुन् । 

सञ्चालनमा रहेको बालविकास केन्द्र विद्यालय बन्दसँगै कटौती भएपछि व्यवस्थापन समिति पुनर्गठन गरेर फेरि सञ्चालनमा ल्याइएको व्यवस्थापन समिति अध्यक्ष पदम पुरीले बताए ।  स्रोतव्यक्ति झनक थापाका अनुसार विद्यार्थी संख्या घटेकाले बालकन्यालाई हिमालय निमाविमा गाभिएको छ । शिक्षकको अनियमितता र अभिभावकले पनि चासो नदेखाउँदा विद्यालय बन्द भएपछि गाउँका बालबालिका घन्टौं हिँडेर अन्य विद्यालय धाउन बाध्य भए । कतिपय बालबालिका पढाइबाट वञ्चित हुनुपर्ने अवस्था आयो ।

त्यही भएर अभिभावक गाउँमा आफंै बालविकास केन्द्र सञ्चालनमा ल्याउन अघि सरेका हुन् । बन्द विद्यालयमा बालबच्चालाई पढाउने कक्षा सञ्चालन गर्ने अभियानमा दिक्तेल नगरपालिका ६ घर भई हाल हङकङ बस्ने कुमार राई सहयोगीलाई तलब व्यवस्था गर्न तयार भए । बालशिक्षा सञ्चालनका लागि अभिभावकले यमुना आचार्य र रमिला बास्तोलालाई सहयोगी कार्यकर्ताका रूपमा नियुक्त गरेका छन् ।

शिक्षासेवी राईले गत वर्षदेखि मासिक नौ हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छन् । यो रकममध्ये मासिक ५ हजार आचार्य र ४ हजार बास्तोलालाई दिने गरिएको अध्यक्ष पुरीले जनाए । 

आफ्ना बाबुको पहलमा ३३ वर्षअघि स्थापना भएको विद्यालय बन्द भएपछि त्यसलाई जोगाउन सहयोगी कार्यकर्तालाई तलबको व्यवस्था गरेको राईले बताए । ुशिक्षाबाट कोही पनि बञ्चित हुनुहुन्न,ु राईले भने, ुत्यही भएर विद्यालय चलाउन विदेशमै रहेर पनि तलब रकम दिएको हुँ ।ु अभिभावकले चलाएको बालविकास केन्द्रमा हाल २७ बालबालिका अध्ययनरत् छन् । 

बालबालिकालाई लेभल एक र लेभल दुईमा बाँडेर पठनपाठन व्यवस्था मिलाइएको छ । अभिभावक बन्द उक्त विद्यालयलाई सञ्चालनमा ल्याउने कसरतमा छन् ।  बालकन्या प्रावि २०४० सालमा बेलायतका पूर्वसैनिक सम्मरबहादुर राईको पहलमा स्थापना गरिएको थियो । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया