काठमाडौं - माथिल्लो डोल्पा स्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक विनोद शाहीले विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा ४० औं स्थान हासिल गरेका छन् । दुर्गम स्थानमा बसेर शिक्षाको उज्यालो फैलाउन सफल भएको भन्दै उनलाई पुरस्कृत गरिएको भार्की फाउण्डेसनले जनाएको छ ।
नेपालमा जनयुद्ध उत्कर्षमा रहेका बेला उनी पहिलो पटक सन् २००५ मा माथिल्लो डोल्पामा पढाउन गएका फाउण्डेशनको अनलाईनमा उल्लेख गरिएको छ उनी त्यहाँ पुग्दा त्यस क्षेत्रमा राज्यको उपस्थिति नभएको र सडक सम्म १० दिन पैदल हिँड्नुपर्ने अवस्था रहेको उक्त अनलाईनमा उल्लेख गरिएको छ ।
आधारभूत संरचना केही नभएको विद्यालयमा शाहीले आफ्नो कार्य सुरु गरेका र स्थानीय जीवन शैली सुहाउँदो पाठ्यक्रम तयार पारी सोही अनुसार विद्यार्थीलाई पठन पाठन गराउँदै आएकोले उनी पुरस्कारमा छनौट भएको उल्लेख गरिएको छ ।
फाउण्डेसनले हरेक बर्ष प्रदान गर्ने ग्लोबल टिचर प्राइज विश्वभरका शिक्षकहरुले आवेदन गर्न सक्छन् ।
यस बर्ष गत असोजमा आवेदन खुल्ला गरिएको थियो । शिक्षण पेशामा संलग्न जोकोहीले पनि सो पुरस्कारको लागि आवदेन दिन सक्ने ब्यवस्था छ । त्यसका लागि स्वयम् शिक्षकले पनि आवेदन भर्न सक्छन् । अन्य कुनै शिक्षकलाई सो पुरस्कारको लागि सिफारिश पनि गर्न सकिने प्रावधान छ ।
यस बर्ष लण्डनको भित्रि शहर बे्रण्ट स्थित अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एण्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भइन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाइन् ।
फाउण्डेशनले दुबईमा आयोजना गरिएको एक कार्यक्रममा उनले पुरस्कार ग्रहण गरिन् ।
पुरस्कार जित्ने पहिलो बेलायती शिक्षक रहेकी जाफिराकोउले पत्रकारहरुसँग भनिन्, ‘म अचम्मित र भावविभोर भएँ । मलाई आफूले जित्छु भन्ने लागेकै थिएन ।’ उक्त पुरस्कार बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई समर्पण गरेको उनले बताईन् ।
ब्रेण्ट विभिन्न फरक जातजातिको जनसंख्या रहेको ठाउँ हो । यहाँका स्कुलहरुमा मात्रै १ सय ३० भाषा बोलिन्छन् । उक्त विद्यालयमा गरिब परिवारका विद्यार्थी पढ्छन् ।
उनकै प्रयत्नका कारण अल्पर्टन देशभरका स्कुलहरुमध्ये माथिल्लो श्रेणीमा पर्न सफल भएको फाउण्डेशनले जनाएको छ ।
प्रतिक्रिया