Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

जहाजको चक्लेट लिन 'लजाएका' विद्यार्थी पदक जितेर फर्किए !

सोमबार, ०१ असोज २०७५

काठमाडौं - आफ्ना अघिल्तिर तेस्र्याईएको किस्तिबाट एक मुठि चक्लेट उठाएका अमित रावललाई, एयर होस्टेजले मुसुक्क हाँसेर 'अझै लिऊ न !' भन्दा लाज लागेको थियो रे ! 

नेपालगञ्जबाट उडेको जहाजबाट काठमाडौ उत्रिए पछि आठ बर्षिय रावलले सँगै आएका सर मिस सहित साथीहरुलाई लजाई लजाई पहिलो पटक 'चिलगाडी' चढेको अनुभव सुनाए ! 

उनीसँगै आएका अरु ९ जनाको पहिलो पटक जहाज चढेको अनुभव फरक फरक थियो । 

तर जे कामका लागि जहाज चढेर काठमाडौं उत्रिएका थिए, त्यसमा मिलेको सफलताको अनुभव भने उनीहरुसँग सम्भवतः समान थियो ! 

१७ औं एलए अन्तर स्कुल पौडी प्रतियोगितामा भाग लिन उनीहरु नेपालगञ्ज देखि काठमाडौं आएका थिए । उक्त प्रतियोगितामा विभिन्न स्पर्धामा हात पारेका ६ पदकले उनीहरुको हौसला मात्र बढाएको छैन, विद्यालयले विद्यार्थी माथि लगानी गर्ने र विद्यार्थीले अवसर पाउने हो भने काठमाडौं बाहिरका विद्यार्थी पनि राष्ट्रिय प्रतियोगितामा सफल हुन सक्छन् भन्ने उदाहरण दिएको छ । 

जहाजको चक्लेट लिदाँ लजाएका रावल, प्रतियोगिता अन्र्तगत २५ मिटर ब्याकस्ट्रोकमा पहिलो भएर पाएको स्वर्ण पदक थाप्दा भने निर्धक्क थिए ! 

शनिवार र आईतबार भएको दुई दिने प्रतियोगितामा रावल सँगै सुवेश घर्ति र सुप्रिया रावलले फ्रिस्टाईलमा रजत, अमित र सुवेसले नै फ्रिस्टाईलमै कास्य र अजय परियार, सुवेश घर्ति, खेमराज थापा र रेजन विष्टको टोलीले रिलेमा कास्य पदक हात पार्यो । 

उनीसँगै प्रतियोगितामा भाग लिएका करुण शर्मा, शुभाङ् बोहोरा, दिवश रेगामी र विशेष सिंहले पदक त जितेनन् तर विद्यालयमै पौडी पोखरी भएका संघीय राजधानीका महँगा निजी विद्यालयका विद्यार्थीका अघिल्तिर पोखरी नभएको नेपालगञ्ज स्थित स्प्रिङ्डेल एकेडेमीका यी विद्यार्थीको उपस्थिती आफैंमा चुनौती थियो, आफैंमा विजय थियो । 

प्रतियोगितामा आफ्ना विद्यार्थीको उपस्थिती उनीहरुले गरेको मेहनेतले दिएको सफलताले विद्यार्थीमा थप लगानी गर्नु पर्छ भन्ने बोध बढाएको सञ्चालक हिक्मत रावलले बताए । 

'हाम्रा विद्यार्थी काठमाडौंका नाम चलेका महँगा स्कुलका विद्यार्थीसँग खरो रुपमा उत्रिए, यो नै हाम्रो लागि एक प्रकारको विजय हो, उत्साह हो' रावलले भने, 'आउँदा दिनमा हामी पढाईका अलावा यस्ता अतिरिक्त कृयाकलापमा थप लगानी र ध्यान दिन्छौं ।' 

विद्यार्थीको सर्वाङ्गीण विकास विना पढाईको अर्थ छैन भन्ने बुझेरै विद्यालयले अतिरिक्त कृयाकलापमा ध्यान दिएको उनको दावि छ । आफ्नो विद्यालयमा पौडी पोखरी नभए पनि नजिकैको होटलको पोखरी भाडामा लिएर सिकाउँदै आएको थियो । पौडी प्रति विद्यार्थीको रुची देखेरै विद्यालयले पौडीका अन्र्तराष्ट्रिय खेलाडी चन्द्र चौधरीलाई प्रशिक्षक नियुक्त गरेको छ । 

यही प्रतियोगिताका लागि आवश्यक तयारी र विद्यार्थीलाई काठमाडौं ल्याउँदा लैजाँदा झण्डै डेढ लाख खर्च भएको रावलले बताए । प्रतियोगितामा सहभागी हुन आउँदा बसबाट ल्याए विद्यार्थी थाक्लान् भनेर जहाज चढाएर ल्याएको उनले बताए । 

'प्रतियोगिता भनेपछि त शरीरलाई आराम चाहियो, खर्च हुन्छ भनेर गाडी चढाएर ल्याएको भए त उनीहरु थाक्थे अनी प्रतियोगितामा राम्रो नतिजा नआउन सक्थ्यो' उनले भने, 'यो खर्च हैन विद्यार्थी माथि गरिएको लगानी हो, हामी हाम्रा विद्यार्थी हर क्षेत्रमा सफल होउन् भन्ने चाहन्छौं ।'

फर्कदा भने विद्यार्थीलाई बसबाटै लगिएको छ । 

'काठमाडौं जाँदा त नेपाल एयरलाईन्सको प्रति विद्यार्थी २८ सयको टिकट पाईएको थियो त्यसैले अलिक सजिलो पनि भयो, फर्कदा हामीले बसबाटै ल्याउने निर्णय गर्यौं' विद्यार्थीसँग गएका अरु शिक्षकहरु सहित बस चढाएर आफू जहाजबाटै नेपालगञ्ज फर्केका रावलले टेलिफोनमा भने, 'धेरै नै खर्च भईसक्यो, हाम्रो आर्थिक अवस्थाको पनि ख्याल गर्नु पर्यो, मेरो जरुरी काम परेर म चाँही हतारमा जहाजबाटै फर्कें ।' 

उक्त प्रतियोगितामा लिंकन स्कुलले उपाधि जितेको छ भने राजश्री गुरुकुल दोश्रो र आयोजक लिटिल एञ्जेल्स तेश्रो भएका छन् । विजेतालाई प्रतिनिधि सभाका सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार दिए । प्रतियोगितामा विभिन्न ६१ विद्यालयबाट ५० प्रतिस्पर्धामा ३ सय विद्यार्थी सहभागि थिए । 

प्रतिक्रिया